वैकल्पिक प्रक्रियाबाट एलपी ग्यासको आपूर्ति र बिक्री वितरण, ८७ हजार सिलिन्डर काठमाडौं भित्रिए
2026-09-06बाढीले पुल बगाएपछि देवीघाटमा नेपाली सेनाले बनायो बेलिब्रिज
2026-09-06
भोटेकोशी बाढीको कहर ७ हजार ५७० घरधुरी प्रभावित १ हजार ३४४ शव बरामद
थाङमिचागु डटकम संवाददाता
चरिकोट दोलखा

काठमाडौं । भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीले ठूलो मानवीय तथा भौतिक क्षति पुर्याएको छ। प्रारम्भिक सरकारी मूल्याङ्कनअनुसार बाढीबाट ७ हजार ५७० घरधुरीका ३२ हजार ९३३ जना प्रभावित भएका छन्।
बाढीले ४८ सरकारी कार्यालय, ५५ किलोमिटर सडक, ३७ मोटरेबल पुल र ६८ झोलुङ्गे पुलमा क्षति पुर्याएको छ। त्यस्तै, १ हजार ८०६ हेक्टर कृषि भूमि, १३ जलविद्युत् आयोजना, एउटा सौर्य आयोजना र दुई प्रसारण लाइनमा क्षति पुगेको छ। बाढीका कारण ७८३ मेगावाट जलविद्युत् उत्पादन क्षमता प्रभावित भएको सरकारले जनाएको छ।
उद्धार अझै जारी, हजारौँ बेपत्ता
भोटेकोशी बाढीबाट सबैभन्दा बढी प्रभावित रसुवा, नुवाकोट, धादिङलगायत क्षेत्रमा खोज तथा उद्धार कार्य एघारौँ दिन पनि जारी छ।
सरकारी विवरणअनुसार हालसम्म १३ हजार ९८ जनाको उद्धार गरिएको छ, जसमा ३०० भन्दा बढी विदेशी नागरिक छन्। प्रभावित क्षेत्रबाट १ हजार ३४४ शव बरामद भइसकेका छन् भने करिब ५ हजार व्यक्ति अझै बेपत्ता छन्। बेपत्तामध्ये ३५ देशका करिब ६०० विदेशी नागरिक रहेको जनाइएको छ।
पछिल्लो समय जलविद्युत् आयोजनाका सुरुङमा फसेकाहरूको उद्धारलाई प्राथमिकता दिइएको छ। अपर त्रिशूली–३ ‘ए’ को सुरुङबाट दुई नेपाली तथा अपर त्रिशूली–१ बाट एक चिनियाँ नागरिकलाई जीवितै उद्धार गरिएको छ। बेत्रावतीस्थित एक घरबाट पनि एक नेपाली नागरिकको उद्धार भएको छ।
सुरुङ उद्धारमा अन्तर्राष्ट्रिय सहयोग
सुरुङभित्रको उद्धार कार्यलाई थप प्रभावकारी बनाउन भारत, चीन र दक्षिण कोरियाबाट आएका विशेषज्ञ टोलीले नेपाली सेनासँग समन्वय गरी काम गरिरहेका छन्। अस्ट्रेलिया र मलेसियाबाट समेत विशेष विपद् सहायता तथा उद्धार टोली नेपाल आइपुगेका छन्।
अपर त्रिशूली–१, अपर त्रिशूली–३ ‘ए’, अपर त्रिशूली–३ बी, यु–२१६ हाकु, चिलिमे र लाङ्टाङलगायत आयोजनामा थप उपकरण तथा प्राविधिक जनशक्ति परिचालन गरिएको छ।
पुनःस्थापनाको चुनौती
बाढीले सडक, पुल, विद्युत् तथा सञ्चार संरचना ध्वस्त बनाएपछि प्रभावित क्षेत्रमा जनजीवन सामान्य बनाउन सरकारलाई ठूलो चुनौती देखिएको छ। नेपाली सेनाले टाँडी नदीमाथि अस्थायी पुल निर्माण गरी गल्छी–त्रिशूली सडक पुनः सञ्चालनको प्रयास गरिरहेको छ।
त्यस्तै, बेपत्ता व्यक्तिको पहिचानका लागि नेपाल प्रहरीसँगै भारत, चीन, सिङ्गापुर र दक्षिण कोरियाका फरेन्सिक टोलीले डीएनए सङ्कलन तथा विश्लेषणमा सहयोग गरिरहेका छन्।
बाढीबाट भएको क्षतिको पूर्ण विवरण संकलनसँगै पुनर्निर्माण र पुनःस्थापनाका लागि आवश्यक लागत निर्धारण गर्ने काम पनि अघि बढाइएको छ।
भोटेकोशी बाढीले हजारौँ परिवारलाई विस्थापित मात्र बनाएको छैन, सडक, पुल, ऊर्जा र सञ्चारजस्ता महत्वपूर्ण पूर्वाधारमा समेत गम्भीर क्षति पुर्याएको छ। उद्धारसँगै अब प्रभावित नागरिकको पुनःस्थापना र ध्वस्त संरचनाको पुनर्निर्माण सरकारका लागि अर्को ठूलो चुनौती बनेको छ।




