सिसा भित्रको गोली, सैलुङ र उनी ( कमरेड लक्ष्मी तामाङ )

0Shares

सिसा भित्रको गोली, सैलुङ र उनी

सिसा भित्र गोली देखिने बन्दुकै बन्दुक बोकेका सेनाहरू छन् चतारा र डाँडैभरी…। माथि सैलुङ खर्कबाट गौसारा तर्फ झर्दै गरेका गोठालालाई बाटोतिरको परिस्थिति के छ भनी कमिसार कमरेड अनुपमले सोधाइको उत्तर थियो त्यो।

बार्ताकालमा २१ जनाको दोरम्बा हत्याकाण्ड पश्चात् माओवादी इलाकालाई मध्यनजर गर्दै दोरम्बामा बेसक्याम्प बस्न आएको जुन सेनाले भर्खरै माओवादी युद्धलाई दबाउन अमेरिकाले दिएको करोडौँको अत्याधुनिक हतियार (इन्फेन्ट्री स्मल आर्म्स सिस्टम) INSAS राइफल, जसको म्यागजिनभित्रको गोली देखिने पारदर्शिता विशेषता थियो, पहिलो पटक नेपाली भूमिमा प्रयोग गर्दै थियो। हो, तिनै हतियार बोकेर आएको थियो सैलुङ गस्तीमा सेना।

यो खबरपछि हामी झन् उत्साहित भयौँ, किनकि तिनै हतियारयुक्त दुश्मनलाई पछ्याइरहेका थियौँ। सेना माथि आक्रमण गरेर त्यो हतियार कब्जा गर्न सकेमा शाहिसत्ता मात्र होइन, अमेरिकी साम्राज्यवाद पनि तिल्मिलिन्थ्यो। हाम्रो इलाकामा आएको दुश्मनलाई जसरी पनि हटाउने प्रयासमा सफलता मिल्ने थियो। तर, हामी त्यहाँ पुग्दा सेना फर्किसकेको थियो।

हामी चौथो बीएन कै योजनाअनुसार बेसक्याम्पबाट गस्तीमा निस्किने दुश्मनलाई आक्रमण गर्न हाम्रो ‘ए’ कम्पनी गौसारा, ‘बी’ कम्पनी गुन्साल, र ‘सी’ कम्पनी ढुङ्गे हुँदै धारा तर्फ केन्द्रित योजनामा थियो। क्याम्पबाट सैलुङ गस्तीमा निस्केका सेनालाई आक्रमण गर्न अनुकूलित भौगोलिक रणनीति बनाइएको थियो।

उनी बिना केही लडाइँ लडिए पनि विभागीय प्रमुख सहिद कमरेड कुमारी संगको भने त्यो मेरो पहिलो लडाइँ थियो। त्यसैले दिदी मलाई निकै जिम्मेवारी, सतर्कता, र युद्ध नियमअनुसार अघि बढ्न सम्झाइरहन्थिन्। भिडन्तमा हुनसक्ने घाइतेलाई युद्ध परिस्थितिअनुसार उपचार दिन सक्नु एक युद्धकलानै हुने गर्दथ्यो। हो, त्यसै अनुरूप उनी मलाई हरेक कोणबाट तयारी हुन सिकाइरहेकी थिइन्।

सबै केन्द्रित फोर्सलाई धाराभन्दा परको एकान्त गुम्बामा बसाइ मिलाइयो। त्यसै रात माइनिङ गराउन केही शक्ति धारा तर्फ लाग्यो। दुश्मनको गतिविधि बुझ्न इन्टेलिजेन्स परिचालित भयो। उसैले दुश्मन निस्केको खबर दियो। हामी धाराको भूगोलमा आएर तोकिएको आर्कमा बस्न निश्चित भयौँ। दुश्मन माइनमा परेपछि विस्फोट गराउने, चारैतर्फबाट फायरिङ आक्रमण गर्ने, र परिस्थिति अनुसार गतिविधि गर्ने योजना बनाइएको थियो।

तर, तीन दिनसम्मको प्रतीक्षामा पनि दुश्मन ननिस्केपछि कमान्डर सुरवीर को आदेशमा निश्चित शक्ति एके-४७ (AK-47) सहित छोटो हतियार लिएर दोलखा चरिकोटको सैन्य चेकपोस्टमा दिउँसै आक्रमण गर्न त्यसतर्फ लाग्यौँ। कारबाही शानदार रूपमा सफल भयो। तर, हामी भने यहाँ योजनाअनुसार नै दुश्मनको पर्खाइमै थियौँ।

चौथो साँझ, धारा परिधिमा आकस्मिक फायर भयो। हाम्रो सम्बन्धित निकायले यसबारे कुनै खबर दिएको थिएन। त्यसैले हामी सैन्य दृष्टिकोणअनुसार उच्च भूगोल सैलुङतर्फ लाग्यौँ, जुन युद्धको लागि अपरिहार्य थियो। हामी अघि बढ्दै जाँदा माइनमा बसेकाहरूसँग भेट भयो। तब थाहा भयो, दुश्मन आएर शङ्कास्पद रूपमा फायर गरी फेरि क्याम्पतर्फ फर्किएको थियो।

३१४६ मिटर उचाइको सैलुङ डाँडामा पुग्दै गर्दा रातको बार्ह बज्दै थियो। पौष महिनामा धर्तिमा चिसोको राज थियो भने आकाशमा पूर्णिमाको जून चम्किरहेको थियो। पाक्दै गरेको खाना छोडेर आएकोले भोक र प्यास पनि थियो।

जुनेलि रातको उज्यालोमा पारी गौरीशंकर एक तमासले टल्किरहेको थियो। उसैको अघिल्लो तिर कालिञ्चोक हिउँ र तुसारोको पत्राले लपेटिएको थियो, मानौँ जेठाजुको अघि संस्कारी बुहारी झुकेको झैँ।

छोरोल्पा तालको कञ्चन पानीमा गौरीशंकरको निडर साहस लिएर तल बगिरहेको तामाकोसी को दायाँबायाँका सडकमा मध्यरातमा गुडिरहेका साधनहरूले उदेश्यमा पुग्नुपर्ने मानिसलाई रातले छेक्दैन भनी प्रमाण दिइरहेका थिए।

पारी जुगु, गैरिमुदी, मैनापोखरी मस्त निद्रामा थिए। दक्षिणतर्फ लस्करै उभिएका महाभारत शृङ्खला खोइ कता पुगेर टुङ्गिन्छ, आँखाले देखेर भ्याइँदैनथ्यो। उता नगरकोट माथिको आकाशमा देखिने उज्यालो चमकले बताइरहेको थियो— राजतन्त्रको शासक बस्ने राजधानीको उज्यालो भनेर।

यी सबै दृश्यहरूको माझ सैलुङका थुम्काहरूमा रुख, बुट्यान, झाडी, चट्टानहरूमा आफूलाई समाहित गराउँदै सम्भावित दुश्मनको खतरालाई नियालिरहँदा उत्तरी हिमशृङ्खलाबाट आएका हावाका झोक्काहरूले हामीलाई जोडले धकेल्थे। तुसारोले शिर छोपिदिन्थ्यो, अनि जब चिसो हावाले ओठ, आँखा, कान, निधार, गालामा कडा स्पर्श गर्दथ्यो, तब शरीरका भित्री तहहरू चिसिएर कठोर हुन्थे।

त्यस बेला सम्झिन्थेँ घरका तातो आँटो, ढिँडो, आमाको फरिया, अनि भकुन्डो लगाइएको न्यानो ओछ्यान। मन धेरै आत्तिन्थ्यो, अनि सोचको उद्देश्यको बाटोमा गद्दार हुन खोज्थ्यो।

फेरि आँखा गौरीशंकरमा ठोकिन पुग्थ्यो, मन गणतन्त्र चिनमा पुग्थ्यो। मनस्पटलमा चिनियाँ जनमुक्ति सेना र लङ्ग मार्चको संघर्ष सम्झिन्थेँ

फेरि मन साहसका साथ सर्वहारावर्गको विजयको गाथा बोकेर रातो झन्डा फहराउँदै सैलुङका थुम्कासम्म आइपुग्थ्यो। नगरकोटमुनिको त्यो उज्यालो सामन्तको राज्यमा गणतन्त्रको झन्डा फहराउने रहर जाग्थ्यो।

मुटुले शरीरभरि रगतमा तापको प्रसारण गरिदिन्थ्यो। कठिन यात्रामा अघि बढ्न हिम्मत जुटिरहन्थ्यो…।

शैलुङको संघर्षपूर्ण यात्रा

शैलुङको केही बसाइँपछि अनुकूल परिस्थितिको महसुस गर्दै हामी खोलाखर्क झर्यौं, जहाँ साना साना दोकानदारहरूको बस्ती थियो। भोक मेटाउन चाउचाउ पकाएर चिउरा संगै खायौं र त्यहीँ आराम गर्ने निर्णय गर्यौं। दिदीले दोकानको एक कुनामा बिस्तरा मिलाइदिनुभयो, बोराहरू ओच्छाएर। हामीसँग भएको एउटा सिल्पिङ र दुईवटा पच्छ्यौरीमध्ये एक अरूलाई नै दिनुपर्ने भयो। त्यसैबेला थाहा भयो कि गुम्बाबाट आकस्मिक रूपमा निस्किनुपर्दा कोहीको ओढ्ने छुटेको रहेछ।

कमरेड बिद्रोहले पनि सिल्पिङ छुटाएको घटना सम्झिए। उहाँ झोलामा हतियार लिएर अलर्ट अवस्थामा हुनुहुन्थ्यो। चिसोको कारण आफू सिल्पिङ भित्र छिरेर चेन लगाएर बसेको बेला आकस्मिक फायरिङको आवाज सुन्नुभयो। झोला र हतियार बोक्दै भर्‍याङबाट ओर्लिन खोज्दा सिधै तल्लो तल्लामा पुगेपछि मात्र थाहा पाउनुभयो कि आफू सिल्पिङ भित्र रहेको। तुरुन्तै चेन खोलेर बाहिर निस्कनुभयो।

त्यसैमा दिदीले अर्को घटना थप्नुभयो। घरको तल्लो छिँडीमा ठूलो जमात खाना बनाउँदै, आगो ताप्दै, गफ गर्दै थिए। फायरको आवाज आएपछि निस्किन खोज्दा ढोकामा भीडले चेपिएको थियो। जसोतसो निस्केपछि माथिल्लो आँगनमा पुग्न भर्‍याङ उक्लँदा धेरै जना झरेका रहेछन्। आफैँ पनि झर्दा घुँडा ठोक्किएको रहेछ। फुलिएको घुँडा देखाउँदा सबैजना हाँसोले लठ्ठ भए। दोकाने बस्ती नै हाँसोमय बन्यो।

हतारमा गुम्बाबाट निस्कँदा आ–आफूले गरेको र भोगेको क्रियाकलाप सम्झेर हाँसो रोकिएन। ती क्षण सम्झँदा आज पनि खुब हाँसो उठ्छ र आनन्द आउँछ। हरेक पात्र स्मृतिमा आइरहन्छ।

त्यो रातको चिसोमा दिदी मलाई न्यानो पार्न खुब कोसिस गरिरहनुहुन्थ्यो। त्यस्तै म पनि उहाँलाई शरीर दुई भए पनि आत्मा एक बनाउँदै न्यानोपन दिन खोज्दै थिएँ। त्यही बेला मेरो ड्युटी पर्यो— बाहिर पोस्टमा। दिदी बिस्तारामा, म बाहिर। ड्युटी सकेर फर्किएपछि फेरि दिदी ड्युटीमा। न मैले दिदीलाई न्यानोपन दिन सकें, न दिदीले मलाई। त्यो बैगुनी, मुटु काम्ने रातमा त्यहाँ हरेकको बाध्यता उस्तै थियो।

बिहान चार बजे फेरि शैलुङको हाइपोस्टतर्फ लाग्यौं। सम्भावित अवस्थाको अनुमान गर्दै। मध्यरातभन्दा तुसारोको उचाइ, हावाको बेग, सल्लाको सुसाइ तीन गुणाले बढेको थियो। शुद्धीकरणमा परेको मोरिक, भिस्टा, गोल्डस्टारको अलावा कनभर्स जुत्ता थियो गोडामा। तुसारो र चिसोमा झन् धोकेबाज बन्ने खालको। तुसारोमाथि टेक्दा पटक–पटक चिप्लेर लडिन्थ्यो। भिजेर गोडाका औंलाहरू कटकट खाएर शरीरबाट टुक्रिन्छ कि झैं हुन्थ्यो।

ओठ, नाक, गालाहरूलाई त दुई हातले मुख फुकेर तातोपन दिन सकिन्थ्यो, तर गोडालाई यो मौका कहिल्यै मिल्दैन थियो। झाडी, पोथ्रा, बुट्यानहरूको कभरमा तुसारोमाथिको कष्टकर बसाइँ। बिस्तारै धर्ती उज्यालो भयो। पूर्वेली कलिलो घामको प्रकाश शरिरमा पस्यो। शैलुङका प्राकृतिक दृश्यसँग समाहित हुँदै अघि बढ्दै गयौं।

घामको तापमा राप मिलाउन दिदीले मलाई आफ्नो काखमा राख्नुभयो। दुई शरीरलाई एक बनाएर पछाडिबाट पच्छ्यौरीले छोपिदिनुभयो। आँखा मात्र बाहिर खुल्ला थियो। मेरा हातलाई आफ्नो हत्केलामा राखेर खुब रगडिदिनुहुन्थ्यो। म आफैँलाई भाग्यमानी ठान्थेँ, संघर्षमा महान वर्गीय दिदी पाएकोमा। जुन न पहिला पाएको थिएँ, न अब पाउने छु।

यस्तै छिप्ने, छिपाउने, चियाउने क्रममा हामी धारासम्म पुग्दै थियौं। अकस्मात् ठूलो आवाज आयो— माइन बिस्फोट! शैलुङ, डाँडाकटेरी, टोकरपुर, गुन्साल सबै ठाउँ गुञ्जियो। अघि बढ्ने कि फर्कने, कुनै आदेश थिएन। परिचालित निकायबाट कुनै खबर आउन सकेको थिएन।

त्यही बेला, माइन बसेको एकजना दौडिँदै आयो र भन्यो— “दुश्मन आउँदैछ, फर्क!”

उनको बोलीभन्दा श्वासको आवाज ठूलो थियो। स्वाँ–स्वाँ गर्दै उकालो दौडिरहे।

त्यसपछि आदेश आयो— “फर्क!” तर फर्किनु अघि नै दुश्मन सामुन्ने आइपुग्यो। दुबै पक्षबाट तीव्र फायरिङ सुरु भयो। शैलुङ रणभूमि बन्यो। दुश्मन आफ्नो कोड भाषामा बोल्दै थियो, हामी हाम्रो कोड भाषामा। गोलीसँगै भाषाको जुहारी चल्यो।

दुश्मन “नाम्गेल” भनेर बोलाउँथ्यो, हामीलाई लाग्थ्यो कि आफ्नै साथी बोलाएको हो। वास्तवमा “नाम्गेल” भनेको इन्फेन्ट्री, आर्टिलरी, फायर सपोर्ट फायरको कोड रहेछ।

युद्ध तीव्र हुँदै गयो। हामी शैलुङको थुम्कातर्फ लाग्यौं। दुश्मन पछि पछि। हामीसँग एके–४७ थिएन, उनीहरूलाई थाहा पर्नासाथ झन् आक्रमक भए। किनकि प्रभावकारी हतियारहरू हिजै चरिकोटतर्फ लगिएको थियो।

यसै क्रममा दिदी र म छुट्टिसकेका थियौं। शैलुङको अन्तिम थुम्काको कभरमा म, दुर्गा, र जमिन (पछि क्यान्सरबाट मृत्यु) मात्रै बाँकी थियौं। तलबाट आउँदै गरेको दुश्मनलाई देखेर एसएलआर फायर गर्यौं, तर भएन। हतियार जाम भयो।

जमिन आक्रोशमा आयो। फायर नभएपछि उसले मलाई आफ्नो हतियार दियो, मेरो टुएलबर उसलाई। दुई राउन्ड लोड गरायो, पड्कायो।

रेन्जको हिसाबले फायर प्रभावकारी भएन, तर आवाजले दुश्मनलाई कभरमा जान बाध्य बनायो।

त्यसपछि दुश्मन हामीमाथि तीव्र रूपमा आउन लाग्यो। दुर्गाले मलाई बोलायो— “लक्ष्मी!”

मैले जवाफ दिएँ— “ओ!”

त्यसपछि दुर्गाले ठेट आफ्नो जातीय भाषामा भन्यो— “ह्यार्को आइला आबा खाजी!” (भाग! तिम्रो बाउ आयो!)

त्यसपछि को कता भाग्यो, याद भएन।

म पछाडिको झाडीमा हाम फालें। शैलुङको बन्छायाँमा बन्दै गइरहेको थियो— युद्धको नयाँ मोर्चा!

धेरै प्रयासपछि झाडीबाट निस्किएँ र फेरि दशकौँ अघिदेखि ढलेर बसेको बडेमानको रुखहरूमा परेँ, जसको बाहिरी भाग वर्षौँको तुसारो, शीत र पानीले कुहिएर लेउ जमेर चिप्लो थियो। एउटा गोडा रुखमाथि चढाएर पुरै जिउ उठाउन खोज्छु, गोडा चिप्लिएर ठोक्न नहुने ठाउँमा नि ठोकियो, नठोकियोस् भन्ने ठाउँमा नै ठोकियो।

मुनिबाट छिरौँ त रुपसेट झोला र हतियार छिर्दैन, शिरमाथि दुश्मनको गोलीको प्रवाह रफ्तारमा आइरहेको छ। बल्लतल्ल पार गर्दै दौडिँदै गर्दा अनुपमसँगै केही साथीहरू भेटिए। भाग्दै गर्दा ठूलो पहरा आयो। दायाँबायाँ जाऊँ भने दुश्मनको नजर पर्ने, त्यहीँ बसौँ भने दुश्मन आउने, अघि बढौँ भने हाम फाल्नुपर्छ— के हुन्छ थाहा छैन।

कमिसारले तल हेर्नुभयो, हरियो चौरझैँ देखिएछ। आँट गरेर हाम फाल्नुभयो। त्यसपछि अनिशा, निता अनि म एक अर्काको काँधमाथि एकछिन त चिहानडाँडाको मानेजस्तै उभियौँ, त्यसपछि आ-आफ्नो दिशातर्फ ढल्कियौँ। तब थाहा भयो, त्यहाँ त माथि लेउ जमेको पानी परेपछि झर्ने झरनाको ठाउँ पो रहेछ। सबै जना मुसो बनी निस्कियौँ र ओरालिनै ओराली दौडियौँ।

हामी जति टाढा पुग्यौं झैँ लाग्थ्यो, फायरिङ झन् नजिकैबाट गरेजस्तो, मानौँ दुश्मनसँगै आइरहेको छ।

ठ्वाप! ठ्वाप! ठ्वाप!
चुइयाँ… ठ्वाप! ठ्वाप!

गोलाको प्रवाहसँगै डुम्म…! दुश्मनले दुई इन्च मोर्टार हाम्रै छेउमा खसालिदियो। पासेबन, ढुङ्गे, लिसांखु एकसाथ गुन्जायमान भए।

यति बेलासम्म दायाँबायाँका जंगलबाट धेरै जना साथीहरू भेटिँदै गए। हामीले वस्तुस्थिती, भूगोल, समय र फायरको प्रकृति राम्ररी आँकलन गर्दै निचोड निकाल्यौँ— जति टाढा, उति फायरिङको आवाज नजिक सुन्ने! दुश्मनको मनोबललाई हायल बनाउने नयाँ विशेषताको हतियार ‘इन्सास’ भएको, जुन अगाडि आमुन्ने-सामुन्ने हुँदा र अहिलेको आवाजको प्रकृतिमा फरकपन देखिन्थ्यो। यो निचोड निकाल्दै बिस्तारै हामी सम्पर्कस्थानतर्फ लाग्यौँ। त्यसपछिका लडाइँहरूमा इन्साससँग कहिल्यै आत्तिएनौं, बरु ठूल्ठूला सफल कारबाहीका साथ थुप्रै इन्सास कब्जा गर्न सफल भयौँ।

हामी सम्पर्कस्थानमा पुग्दा दिदी लगायत धेरै साथीहरू पुगिसकेका रहेछन्। म सकुशल आएको देखेर उनी धेरै खुसी भइन्, म पनि खुसी भएँ। हामी छुट्टिएदेखि नै उनी निकै आत्तिएको र चिन्तित भएको कुरा उमङ्ग कमरेडले सुनाइरहँदा दिदी मुस्कुराउँदै मेरो पाखुरी समाइरहिन्, म भने हेरिमात्रै रहेँ उनलाई।

त्यति बेलासम्म कमरेड मिलन पनि आइपुग्नुभयो। बिहान धारामा उसैको कमान्डमा माइनमा टोली बसेको थियो। तब थाहा भयो— दुश्मन धारातर्फ हाम्रै योजनाभित्रको आर्क हुँदै गस्तीमा आइरहेको रहेछ। जब पूर्वको बिहानको घामको प्रकाश दुश्मनको एल.एम.जी मा टलक्क चम्कियो, त्यो चम्काइ स्विचमा बसेकाको आँखामा पर्यो। चेतनाहीन रूपमा स्विच दबियो र माइन विस्फोट भयो— जतिबेला दुश्मन माइनबाट निकै टाढा थियो। यसरी आफ्नै आन्तरिक गल्तीबाट योजना असफल हुँदा नमिठोपन महसुस भयो।

तर, त्यस्तो दुश्मनको अत्याधुनिक हतियारसँग फेस टु फेस भिडन्त हुँदा पनि हाम्रो केही क्षति नभएकाले शैलुङको त्यो झाडी, पोथ्रा, बुट्यान, रुखहरू हाम्रो जिन्दगीका लागि वरदान बनेझैँ लाग्यो।

हामीलाइ त्यो रात त्यहीँ नै बस्न सुरक्षासँगै खाना र बासको व्यवस्था गर्न निकायबाट निर्देशन आयो। सबै आ-आफ्नो जिम्मेवारीतर्फ लाग्यौँ। दिदी र म पानी लिन गाग्री लिँदै तल्लो गाउँको कुवातर्फ लाग्यौँ।

कुवामा पानी भर्न जनता भन्दा पनि हाम्रै साथीहरूको बाक्लो भिड थियो। उनी अघि-अघि, म पछि-पछि झर्दै गर्दा दिदी बोलिन्—

“लक्ष्मी, यदि म सहिद भएँ भने मेरो लागि तिमी के गर्छ्यौ?”

उनको यो आकस्मिक प्रश्नमा म केही बोलिनँ। मसँग रित्तो गाग्री मात्र थिएन, उत्तररूपी शब्दहरू पनि रित्तो नै थिए।

मेरो मौनतामा उनी आफैँ फेरि बोलिन्—
“युद्ध हो, सबै कुरा हुन सक्छ भन्ने स्वीकारेरै लागेको हो हामी!”

“हुन त हो,” म भनेँ, “तर त्यस्तो भइहाले के होला?”

जवाफसँगै प्रश्न पनि जोडिँदा मेरो स्वर दबिएको थियो। आँखामा धमिलोपन, शरीरमा लुलोपन बढेर म भित्तामा अढेस लागेँ।

“यदि युद्धमा हामी दुईमध्ये एक मरेमा,” उनले भनिन्, “बाँचेकाले जीवनी लेखेर जनादेशमा छपाउने।”

रित्तो गाग्रीलाई काखमा च्याप्दै पर-परको क्षितिजतर्फ आँखा डुलाउँदै उनले भनिन्। मैले पनि उनले हेरेकै क्षितिजतर्फ हेर्दै भनेँ, “हुन्छ…”

त्यसपछि दिदीले आफू भावनामा बहकिएको महसुस गरिन् कि नैतिक जिम्मेवारीले उनलाई नदिएको हो, उनले मलाई विचार र उद्देश्यगत रूपमा सम्झाउने प्रयास गरिन्। तर, सम्झाइका ती शब्दहरू के-के थिए, केही याद रहेन।

हामीले त्यो रात एकअर्काको बायोडाटा साटासाट गर्यौँ। आ-आफ्नो झोलाको एक कुनामा जतनले राख्यौँ। युद्धको आवश्यकताअनुसार म उनकै जिम्मेवारी सम्हालेर त्यहीँ कम्पनीको प्रमुख भएर बसेँ भने उनी थप जिम्मेवारी सम्हाल्न अर्को टोलीतर्फ गइन्।

हामी छुट्टिएदेखि एकचोटि मात्र भेट भयो। त्यसपछि कति प्रयास गर्दा पनि भेट हुन सकेन, मात्र चिट्ठी-पत्रमा संवाद हुन्थ्यो। अन्ततः मकवानपुरको दारेचोक भिडन्त मा कहिल्यै नभेट्ने गरी उनी सहिद भइन्।

उनको अन्तिम चिनो— बायोडाटा, चौतारा आक्रमणमा दुश्मनको दुई इन्च मोर्टार विस्फोटमा झोला सहित पर्‍यो। “जीवनी छपाइदेऊ” भन्ने उनको अन्तिम इच्छा म कसै गरी पनि पूरा गराउन सकिनँ।

रामेछाप गौशारा, पासेबन, काभ्रे घर्तिछाप, गोकुले, सिन्धुली मरिन, दमारका जनताले “कुमारी दिदी खोइ?” भन्दा म विवश हुन्थेँ, उनको सहादतको खबर सुनाउन।

ती बस्तीहरूमा धेरैले हामीलाई “एकै कोखका दिदीबहिनी जस्तै लाग्छ” भनेर भनेका थिए। त्यसैले उनी मलाई “बहिनी” भन्थिन् भने म उनलाई “दिदी”— जुन वर्गीय मायाभित्रको अजम्बरी नाता थियो, युद्धले जुराएको।

शैलुङ, तिमाल, महाभारतका काखहरूमा उनीसँग बिताएका ती तीन हिउँद, तीन बर्खा कहिल्यै बिर्सिन नसक्ने गरी सम्झनामा कैद छन्।

कतै यो समयसँग मागेर पाउने भए, म उनैसँग बिताएका ती तीन हिउँद र बर्खा माग्थेँ, जहाँ उनीसँगै म हुन्थेँ, र हामीसँगै ती बस्तीहरू पनि।

तर, आज मात्र यादहरू छन्।

यादहरूमा उसैगरी आँसु झरिरहनेछ।
न अब भेट हुने स्थान छ, न कतै देख्न सक्ने बिन्दु नै।

उनले मलाई पार्टी, विधि, पद्धति, अनुशासन पढ्न लगाइन्।
रूस, पेरु, चीनको क्रान्तिको इतिहास पढ्न लगाइन्।
‘अग्निदीक्षा’, ‘उर्गेनको घोडा’, ‘आमा’, ‘नयाँ घर’, ‘जेनी मार्क्स’, ‘नाताशा’, ‘क्लारा जेटकिन’ पढ्न लगाइन्।
प्राथमिक उपचार, औषधि विज्ञान, युद्धकला, जनताको भावना, घाइतेको मनोबल बुझ्न सिकाइन्।

जसरी “पढ्” भन्थिन्, उसैगरी पढेँ।
जसरी “पढाऊ” भन्थिन्, उसैगरी पढाएँ।

तर, गणतन्त्र नेपाल बनाउन बलिदान दिएकी उनीबारेको इतिहास पढ्न, पढाउन मैले सक्ला कि नसक्ला?

यो एउटा ठूलो प्रश्नको उत्तर खोज्दै—
म तिनै शैलुङ, तिमाल, महाभारतहरूमा पुग्छु।
कमला, मरिन, लिखुहरूमा पुग्छु।
र उभिन्छु पिकेपाथीभरा का चुचुराहरूमा, जहाँ उनी र म सँगै उभिएका थियौँ ती संघर्षमय यात्राहरूमा।

त्यहाँ पुगेर संकल्प गर्छु—

“व्यवस्था बदल्न हिँडेकी उनी आवश्यकतामा मर्न पुगिन्।”
“बाँचेका मसँग कर्तव्य छन्, उनी मर्नुको आवश्यकता स्पष्ट पार्न।”
“त्यसैले, जबर्जस्त भए पनि ती महान योद्धाको गौरवमय गाथा पढाउनुपर्छ, पढाउन मात्र होइन— अरू बाँचेर आउनेहरूले पढ्न सक्ने बनाउनुपर्छ।”

“तब मात्र म बाँचेको अर्थ हुनेछ।
हामी बाँचेको महत्त्व हुनेछ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *