३५ वर्षपछि फेरि जीवन पाइरहेको मैरे–यावाल पुल: निर्माण धमाधम सुरु, अझै बजेट अभाव र चुनौतीहरू!

0Shares

३५ वर्षपछि फेरि जीवन पाइरहेको मैरे–यावाल पुल: निर्माण धमाधम सुरु, अझै बजेट अभाव र चुनौतीहरू!

१४ चैत २०८२, शुक्रबार
संवाददाता: थाङ्मीचागु डटकम

दोलखा । दोलखा जिल्लाको बिगु गाउँपालिका–८ स्थित मैरे–यावाल पुल, जुन तत्कालीन २०४७/४८ सालमा भाजु थामीको नेतृत्वमा निर्माण गरिएको थियो, हाल पुनर्निर्माणको चरणमा प्रवेश गरेको छ। उक्त पुल कालिञ्चोक गाउँपालिका–१ बेगुम्पा र बिगु गाउँपालिका–८ थाङ्मीचागुको सिमानामा जोडिएको महत्वपूर्ण संरचना हो, जसले दुवै पालिकाका बासिन्दाहरूको दैनिक आवतजावतलाई सहज बनाउँदै आएको थियो।

तर, लामो समयदेखि जीर्ण अवस्थामा पुगेको उक्त पुलका कारण दुवै वडाका स्थानीय बासिन्दाको जनजीवन प्रत्यक्ष रूपमा प्रभावित हुँदै आएको थियो। पुल अत्यन्त जोखिमपूर्ण बन्दै गएपछि स्थानीय स्तरमा पुनर्निर्माणको माग तीव्र रूपमा उठ्दै आएको थियो।

विगत दुई–तीन वर्षदेखि निरन्तर रूपमा उठाइएको जनआवाजलाई थाङ्मीचागु डटकम मिडिया, स्थानीय युवा समूह तथा सरोकारवालाहरूले सशक्त रूपमा अघि बढाउँदै आएका थिए। सोही दबाब र जनचासोलाई मध्यनजर गर्दै बिगु गाउँपालिका–८ का वडा अध्यक्ष धानवीर थामीको पहलमा पुनर्निर्माण प्रक्रिया सुरु गरिएको हो।

आर्थिक वर्ष २०८१/८२ मा वडास्तरबाट २४ लाख रुपैयाँ बजेट विनियोजन गरी स्थानीय निर्माण समिति गठन गरिएको छ र हाल निर्माण कार्य तीव्र गतिमा अगाडि बढिरहेको छ। साथै, पुल निर्माणका लागि आवश्यक लठ्ठा (स्टील केबल) बागमती प्रदेश सरकारबाट अनुदानस्वरूप उपलब्ध गराइने भएको छ, जसले निर्माण कार्यलाई थप गति दिने अपेक्षा गरिएको छ।

यद्यपि, समग्र निर्माण सम्पन्न गर्न अझै पर्याप्त बजेट अभाव रहेको देखिएको छ। आवश्यक स्रोत सुनिश्चित गर्न सम्बन्धित निकाय तथा सरोकारवालाहरूसँग थप सहयोगको अपेक्षा गरिएको छ।

उक्त पुलले दुई पालिकालाई जोड्ने भए पनि कालिञ्चोक गाउँपालिका–१ का जनप्रतिनिधिहरूबाट अपेक्षित चासो र पहल हालसम्म नदेखिएको भन्दै स्थानीय तहमा असन्तुष्टि बढ्दो छ। स्थानीयहरूका अनुसार, जनप्रतिनिधिहरू यस विषयमा गम्भीर नदेखिएको आरोपसमेत लगाइएको छ।

गठित निर्माण समितिमा अध्यक्ष दमाई थामी, सचिव मानबहादुर थामी (धङकतङ), कोषाध्यक्ष रसना थामी तथा सदस्यहरूमा खड्के थामी, फुलमाया थामी र जसु थामी रहनुभएको छ।

स्थानीय बासिन्दाहरूले पुल पुनर्निर्माण कार्य सुरु भएकोमा खुशी व्यक्त गर्दै पहल गर्ने जनप्रतिनिधि, मिडिया तथा सरोकारवालाहरूलाई धन्यवाद दिएका छन्। साथै, समयमै गुणस्तरीय निर्माण सम्पन्न गर्न सबै पक्षबाट आवश्यक सहयोग र समन्वय हुनुपर्नेमा जोड दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *