त्रिशूली ३ ‘ए’ सुरुङ उद्धारमा सांसद ढकाल र न्यौपानेको सक्रियता

0Shares

थाङमिचागु डटकम संवाददाता
चरिकोट दोलखा

काठमाडौं । त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमा बाढी तथा लेदो–गेग्रान पसेपछि प्रभावित क्षेत्रमा उद्धार कार्य चुनौतीपूर्ण बनेको थियो।

सुरुङको प्रवेशद्वार लेदो, गेग्रान र ठूला चट्टानले पुरिएपछि सुरुङभित्र रहेका व्यक्तिको अवस्थाबारे जानकारी लिन तथा सुरक्षित रूपमा उद्धार गर्न प्राविधिक चुनौती देखिएको थियो।

उद्धारका क्रममा माननीय सागर ढकाल र श्रीराम न्यौपाने करिब ८/९ दिन घटनास्थलमै बसेर उद्धार प्रयासमा सक्रिय भएका थिए।

सुरुङ इन्जिनियर तथा सुरुङ विज्ञसमेत रहेका श्रीराम न्यौपानेले उद्धार टोलीसँग प्रत्यक्ष रूपमा समन्वय गर्दै डेब्रिज हटाउने, सुरुङभित्र पुग्ने वैकल्पिक मार्ग खोज्ने तथा सम्भावित रेस्क्यु होल निर्माणलगायत प्राविधिक विकल्पमा आफ्नो विज्ञता प्रयोग गरेका थिए।

त्यस्तै, सागर ढकालले घटनास्थलमै बसेर उद्धार कार्यको समन्वय, सम्बन्धित निकायसँग सम्पर्क तथा उद्धार प्रयासलाई तीव्रता दिन भूमिका निर्वाह गरेका थिए।

उद्धारका क्रममा सामाजिक सञ्जालमा भने उनीहरूको पोसाक, फोटो तथा गतिविधिलाई लिएर विभिन्न Troll तथा meme समेत बनेका थिए। तर घटनास्थलमा जोखिम मोलेर लामो समय खटिएका व्यक्तिहरूको योगदानलाई राजनीतिक दृष्टिकोणभन्दा कामका आधारमा मूल्याङ्कन गर्नुपर्ने आवाज पनि उठेको छ।

यसैबीच, सुरुङभित्र फसेका सञ्जय साह र कबीर महर्जन सकुशल उद्धार भएका छन्। उनीहरूको उद्धारमा नेपाली सेना, सशस्त्र प्रहरी, प्राविधिक, उद्धारकर्मी तथा अन्य सम्बन्धित टोलीको महत्वपूर्ण भूमिका रहेको बताइएको छ।

उद्धार सफल भएपछि घटनास्थलमा खटिएका सम्पूर्ण टोलीको योगदानको प्रशंसा गरिएको छ। कठिन परिस्थितिमा प्राविधिक ज्ञान, समन्वय र निरन्तर प्रयासमार्फत उद्धार कार्य अघि बढाइएको भन्दै घटनास्थलमा खटिएका व्यक्तिको योगदानलाई कामकै आधारमा मूल्याङ्कन गर्नुपर्ने धारणा व्यक्त गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *