काग-कुकुर, गाई-गोरुको पूजा अगाडि कि चेली-माइतीको पवित्र टीका? बलिहाङ पर्वको मौलिक इतिहास खोजौँ ।।।

1Shares

काग–कुकुर, गाई–गोरुको पूजा अगाडि कि चेली–माइतीको पवित्र टीका? बलिहाङ पर्वको मौलिक इतिहास खोजौँ!

मिति: २०८३ कार्तिक २५ गते, बुधबार (११ नोभेम्बर २०२६)

विचार | थाङ्मीचागु डटकम (Thangmichagu.com)

बलिहाङ पर्व अहिन्दु नेपाली आदिवासी मूलवासी भूमिपुत्र समुदायको मौलिक सांस्कृतिक पर्व हो। यसको आफ्नै ऐतिहासिक पृष्ठभूमि, आस्था, परम्परा, संस्कार र सामुदायिक पहिचान छ। तर विडम्बना, जातिवादी सोच र सांस्कृतिक वर्चस्वका कारण हाम्रो मौलिक पर्वलाई हिन्दुकरण गर्दै यसको वास्तविक अस्तित्व र पहिचान ओझेलमा पार्ने प्रयास हुँदै आएको छ।

चेली र माइतीबीचको पवित्र सम्बन्ध, प्रेम, सम्मान र आत्मीयता हाम्रो सांस्कृतिक पहिचानको महत्त्वपूर्ण पक्ष हो। चेलीले आफ्नो माइतीलाई श्रद्धा, प्रेम र दीर्घायुको कामनासहित टीका लगाइदिने परम्पराको ऐतिहासिक तथा सांस्कृतिक महत्त्वबारे गम्भीर बहस र अध्ययन हुन आवश्यक छ।

तर यहाँ एउटा गम्भीर प्रश्न उठ्छ—चेलीले माइतीलाई टीका लगाइदिने पवित्र परम्पराभन्दा अगाडि काग, कुकुर, गाई र गोरुको पूजा गर्ने क्रम कसरी र कहिलेदेखि स्थापित भयो? माइतीलाई भन्दा अगाडि पशुपक्षीको पूजा गर्ने र टीका लगाउने प्रचलनको ऐतिहासिक सुरुवात कहाँबाट भयो? कसले स्थापित गर्‍यो यस्तो प्राथमिकता? यसको ऐतिहासिक आधार र प्रमाण के हो?

बलिहाङ पर्वसँग जोडिएका विभिन्न समुदायका मौलिक परम्परा र मान्यताहरूको आफ्नै विशेषता छन्। लिम्बू समुदायमा प्रचलित बलिहाङ तङ्नाम र अन्य समुदायका तिहार मनाउने विधिमा समेत भिन्नता रहेको सांस्कृतिक विवरणहरू सार्वजनिक भएका छन्। त्यसैले सबै समुदायको मौलिक संस्कारलाई एउटै धार्मिक व्याख्याभित्र सीमित गर्नु उचित हुँदैन।

हाम्रो मौलिक संस्कार र परम्परालाई ओझेलमा पारेर अरूको धार्मिक व्याख्या र मान्यतालाई नै सबै समुदायको साझा इतिहासका रूपमा प्रस्तुत गर्नु कति उचित हो? यी प्रश्नको निष्पक्ष ऐतिहासिक खोज र बहस हुन आवश्यक छ।

अर्कोतर्फ, राज्यले हिन्दु धर्मसँग सम्बन्धित दशैँ र तिहारलाई व्यापक प्राथमिकता र प्रचारप्रसार दिँदै आएको अवस्थामा बलिहाङ पर्वलगायत आदिवासी मूलवासी समुदायका मौलिक चाडपर्वको संरक्षण, प्रवर्द्धन र प्रचारप्रसारमा किन पर्याप्त ध्यान दिँदैन? राज्यको यस्तो असमान व्यवहारमाथि प्रश्न उठाउनु हाम्रो सांस्कृतिक अधिकार हो।

हाम्रो माग अरूको धर्म, संस्कृति र परम्पराको विरोध गर्नु होइन। हाम्रो माग यति मात्र हो—सबै समुदायका धर्म, आस्था, भाषा, संस्कृति र चाडपर्वले समान सम्मान, संरक्षण र पहिचान पाउनुपर्छ।

हाम्रो संस्कृति कसैको धर्मको छायामा हराउन दिनु हुँदैन। बलिहाङ पर्वलाई यसको आफ्नै ऐतिहासिक, सांस्कृतिक र मौलिक पहिचानसहित स्थापित गरिनुपर्छ।

हाम्रो अस्तित्वको सम्मान गर!
हाम्रो इतिहास र पहिचानको सम्मान गर!
हाम्रो मौलिक संस्कृतिलाई हिन्दुकरण होइन, संरक्षण र प्रवर्द्धन गर!

हाम्रो संस्कृति, हाम्रो अस्तित्व, हाम्रो पहिचान!

लेखक: सन्तोष ठान्टी
अध्यक्ष
नेपाल थामी समाज मलेसिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *