मलेसिया जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षण अब पनि सीमित स्वास्थ्य संस्थाबाट मात्रै हुने भएको छ ।
2026-05-18उभौली पर्व (भूम्या पूजा) थाङ्मी समुदायको मौलिक संस्कृति, पहिचान र एकताको भव्य उत्सव बिगु–८ थाङ्मीचागु तुन्बोन डन्डीमा आयोजना हुने
2026-05-07लिपुलेक विवादः नेपालको दाबीमा भारतको अस्वीकार, ‘ऐतिहासिक आधारहीन’ जिकिर, संवादका लागि खुला रहेको संकेत
2026-05-04
“तामाङ संस्कृति र एकताको सन्देशसहित जोहोरबारुमा भव्य कार्यक्रम सम्पन्न”
२६ श्रावण २०८२
संवाददाता थाङ्मीचागु डटकम

मलेसिया, जोहोर — नेपाल तामाङ घेदुङ मलेसिया, जोहोरद्वारा आयोजना गरिएको जोहोर क्षेत्रीय सांस्कृतिक कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। तामाङ समुदायको भाषा, संस्कृति, र पहिचानलाई प्रवासमै संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको यो कार्यक्रम मंगल दोङ तामाङको अध्यक्षतामा सम्पन्न भएको हो।

कार्यक्रममा गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् मलेसियाका अध्यक्ष राकेश प्रसाद महतो प्रमुख अतिथि, मिलान दोङ तामाङ विशिष्ट अतिथि, तथा नेत्र केशी, सबिन लोप्चनलगायतका गण्यमान्य व्यक्तिहरू अतिथिका रूपमा उपस्थित थिए। सोही क्रममा नेपाल आदिवासी जनजाति शाखा मलेसियाको महिला उपाध्यक्ष देविका राई (बिनु) पनि विशेष अतिथिका रूपमा सहभागी हुनुभएको थियो।

एनआरएनए क्षेत्रीय समिति जोहोरका कोषाध्यक्ष तिलक श्रेष्ठ, सचिव छविलाल गिरीसहित विभिन्न पदाधिकारीहरूको उपस्थिति रहेको कार्यक्रममा मलेसियामा क्रियाशील संघ–संस्था, बौद्धिक वर्ग, राजनीतिज्ञ, सञ्चारकर्मी, खेलाडी, व्यवसायी, तथा तामाङ समुदायका सदस्यहरूको सहभागिता उल्लेखनीय रह्यो।

कार्यक्रममा विभिन्न कलाकारहरूले प्रस्तुत गरेका आकर्षक सांगीतिक, नृत्य तथा सांस्कृतिक प्रस्तुतीहरूले माहोललाई झन् उत्साहपूर्ण बनाएको थियो। तामाङ समुदायको परम्परागत पोशाक, लयबद्ध तामाङ सेलो, दम्फूको ताल, र मौलिक लोकधुनहरूले उपस्थित दर्शकलाई आफ्नै गाउँ–ठाउँको संस्कृतिमा फर्काएको अनुभव दिलायो।।

यस सांस्कृतिक भेला मार्फत प्रवासमा रहेका तामाङ समुदायबीच आपसी एकता, सांस्कृतिक आदान–प्रदान, र सहकार्यलाई थप मजबुत बनाउन आयोजकले विशेष जोड दिएको थियो। कार्यक्रममा उपस्थित वक्ताहरूले आफ्नो सम्बोधनमा मातृभूमिप्रतिको माया, सांस्कृतिक पहिचानको रक्षा, र नयाँ पुस्तालाई परम्परागत ज्ञान हस्तान्तरणको महत्त्वबारे आ–आफ्ना धारणा राखे।

नेपाल तामाङ घेदुङ जोहोर क्षेत्रीय कार्यसमितिले २०२५ अगस्ट १०, आइतबार आयोजना गरेको यो कार्यक्रमलाई सफल बनाउन सहयोग गर्ने सबै संघ–संस्था, व्यक्ति तथा सहभागीहरूलाई धन्यवाद ज्ञापन गर्दै भविष्यमा पनि यस्ता कार्यक्रम निरन्तर गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।






