दोलखामा प्रदेश सरकारको बोर्ड राजनीति सेवा भने ठप्प
2026-09-08भोटेकोसी बाढी प्रभावित बालबालिकाका लागि सुनिश्चित भविष्य छात्रवृत्ति योजना घोषणा
2026-09-08
भोटेकोशी बाढीपछिको पुनर्निर्माणमा सघाउन दक्षिण कोरिया तयार
थाङमिचागु डटकम संवाददाता
चरिकोट दोलखा

काठमाडौं, २१ भदौ । दक्षिण कोरियाले भोटेकोशी बाढीबाट प्रभावित नेपालमा विपद्पछिको पुनःस्थापना तथा पुनर्निर्माणका लागि सहयोग गर्न तयार रहेको प्रतिबद्धता जनाएको छ।
आइतबार सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल र दक्षिण कोरियाका विदेशमन्त्री चो ह्युनबीच भएको भेटवार्तामा भोटेकोशी बाढीपछि जारी खोज, उद्धार तथा राहत कार्यका साथै पुनर्निर्माणका विषयमा छलफल भएको हो।
भेटमा दक्षिण कोरियाली विदेशमन्त्री चो ह्युनले विपद्पछिको पुनर्निर्माणमा नेपाललाई सहयोग गर्न कोरिया सरकार तयार रहेको बताएका छन्। उनले जलवायु परिवर्तनका कारण नेपालजस्ता हिमाली मुलुकले भोगिरहेको जनधन तथा पूर्वाधारको क्षतिप्रति अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउन नेपालसँग सहकार्य गर्ने प्रतिबद्धता पनि व्यक्त गरे।
त्यसैगरी, जलवायु परिवर्तनका कारण भएको क्षतिका लागि नेपालले अन्तर्राष्ट्रिय समुदायबाट प्राप्त गर्नुपर्ने जलवायु वित्त तथा आर्थिक सहयोगका विषयमा दक्षिण कोरियाले अन्तर्राष्ट्रिय मञ्चमा आवाज उठाउने बताएको छ।
परराष्ट्रमन्त्री खनालले विपद्पछिको पुनर्निर्माणलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताउँदै सुरक्षित र दिगो पूर्वाधार निर्माण तथा ‘बिल्ड ब्याक बेटर’ अवधारणाअनुसार पुनर्निर्माण अघि बढाउने जानकारी दिए। उनले खोज तथा उद्धारमा दक्षिण कोरियाले गरेको सहयोगप्रति धन्यवादसमेत व्यक्त गरे।
भोटेकोशी बाढीपछि दक्षिण कोरियाले खोज तथा उद्धारका लागि ४४ सदस्यीय कोरिया डिजास्टर रिलिफ टिम नेपाल पठाएको थियो। यसअघि उसले नेपालका बाढीपीडितका लागि १० लाख अमेरिकी डलर मानवीय सहायता घोषणा गर्नुका साथै थप आपत्कालीन राहत सामग्रीसमेत उपलब्ध गराउने घोषणा गरेको छ।
नेपाल र दक्षिण कोरियाबीचको पछिल्लो सहकार्यले भोटेकोशी बाढीबाट क्षतिग्रस्त क्षेत्रको पुनःस्थापना, सुरक्षित पूर्वाधार निर्माण र विपद् जोखिम न्यूनीकरणमा दीर्घकालीन सहयोगको बाटो खोल्ने अपेक्षा गरिएको छ।




