दोलखामा प्रदेश सरकारको बोर्ड राजनीति सेवा भने ठप्प

0Shares

थाङमिचागु डटकम संवाददाता
चरिकोट दोलखा

चरिकोट, दोलखा — बागमती प्रदेश सरकारले दोलखाको चरिकोटस्थित कार्यालयको नाम परिवर्तन गरी ‘उद्योग, वाणिज्य, पर्यटन तथा यातायात कार्यालय’ बनाए पनि अपेक्षित सेवा सञ्चालन हुन नसकेको भन्दै स्थानीयले गुनासो गरेका छन्।

कार्यालयमा नयाँ साइनबोर्ड राखिए पनि यातायातसम्बन्धी सवारी दर्ता, नवीकरण तथा लाइसेन्सलगायतका सेवा अझै सञ्चालनमा आउन सकेका छैनन्। सेवा लिन कार्यालय पुग्ने सेवाग्राहीहरू निराश भएर फर्किनुपर्ने अवस्था रहेको स्थानीयको भनाइ छ।

कार्यालयका अनुसार विगत दुई महिनादेखि स्थायी प्रमुखको व्यवस्था हुन सकेको छैन। रामेछापस्थित कार्यालयका प्रमुख खेमराज घिमिरेलाई दोलखाको समेत जिम्मेवारी दिइएको छ। उनी नियमित रूपमा दोलखा उपस्थित हुन नसक्दा कार्यालयको प्रशासनिक काम प्रभावित भएको बताइएको छ।

कार्यालयले संगठन तथा व्यवस्थापन (ओएनएम) सर्वेक्षण स्वीकृत नहुँदा चालु आर्थिक वर्षको बजेट तथा कार्यक्रमसमेत स्पष्ट रूपमा प्राप्त नभएको जनाएको छ। नयाँ दरबन्दीअनुसार कर्मचारीको अख्तियारी नआउँदा सेवा विस्तारमा समस्या भएको कार्यालयको भनाइ छ।

यसैगरी, साउनदेखि कार्यालयमा कार्यरत केही करार कर्मचारीको सम्झौता नवीकरण हुन नसकेको बताइएको छ। त्यसका कारण नियमित प्रशासनिक कामसँगै कर्मचारीको तलब–भत्ता निकासामा समेत समस्या देखिएको छ।

दोलखा र रामेछाप दुवै कार्यालयको जिम्मेवारी सम्हालिरहेका प्रमुख खेमराज घिमिरेले ओएनएम स्वीकृत भई आवश्यक दरबन्दी र बजेट प्राप्त नभएसम्म यातायातलगायत थप सेवा सञ्चालन गर्न कठिन हुने बताएका छन्।

स्थानीयवासीले भने आवश्यक जनशक्ति, बजेट र अधिकारको व्यवस्था नगरी कार्यालयको नाम र साइनबोर्ड मात्र परिवर्तन गर्नु औचित्यहीन भएको बताएका छन्। उनीहरूले प्रदेश सरकारले तत्काल आवश्यक कर्मचारी, बजेट र अधिकारको व्यवस्था गरी चरिकोटबाटै सेवा प्रवाह गर्न माग गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *