मलेसियामा उपचारका क्रममा सरस थामीको निधन !!!

0Shares

मलेसियामा उपचारका क्रममा सरस थामीको निधन

थाङ्मीचागु डटकम | क्वालालम्पुर, मलेसिया
१९ अक्टोबर २०२६

मलेसियामा वैदेशिक रोजगारीका लागि पुगेका दोलखाको बिगु गाउँपालिका–६, आलम्पु निवासी सरस थामीको उपचारका क्रममा निधन भएको छ। उहाँलाई सोमबार बिहान करिब १०ः३० बजे क्वालालम्पुरस्थित सरकारी अस्पतालमा भर्ना गरिएको थियो। अस्पतालमा उपचारकै क्रममा उहाँको निधन भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ।

नेपाल थामी समाज मलेसियाको पहलमा सरस थामीलाई अस्पताल पुर्‍याइएको थियो। अस्पताल लैजाँदा उहाँका काका रत्न थामी पनि सँगै हुनुहुन्थ्यो। अस्पताल पुर्‍याउँदा उहाँको स्वास्थ्य अवस्था अत्यन्तै गम्भीर रहेको बताइएको छ।

उक्त पहलका क्रममा नेपाल थामी समाज मलेसियाका उपाध्यक्ष सुजन थाङ्मी, पीएनसीसीका अध्यक्ष पुर्नाराज लिम्बू तथा नेपाल आदिवासी जनजाति महासङ्घ मलेसियाका अध्यक्ष पदमको उपस्थिति रहेको प्रारम्भिक जानकारी छ।

प्राप्त प्रारम्भिक विवरणअनुसार, सरस थामी विगत एक वर्षदेखि मलेसियामा वैधानिक श्रम प्रक्रियाबाहिर रहेर काम गर्दै आउनुभएको थियो। बिरामी भएपछि उहाँ काम गर्ने कम्पनीबाट बाहिरिनुभएको र त्यसपछि सडकमा असहाय अवस्थामा भेटिनुभएको बताइएको छ। यद्यपि, यी विवरणको स्वतन्त्र पुष्टि हुन बाँकी छ।

सरस थामीको निधनको यकिन कारण, अस्पतालको आधिकारिक विवरण तथा शव व्यवस्थापनसम्बन्धी प्रक्रिया खुल्न बाँकी छ। मलेसियामा उहाँका नजिकका आफन्त सीमित रहेको र काका रत्न थामी सम्पर्कमा रहनुभएको जानकारी प्राप्त भएको छ।

सम्बन्धित निकायबाट आधिकारिक विवरण प्राप्त भएपछि समाचार अद्यावधिक गरिनेछ।

संवाददाता: निरबहादुर थामी
थाङ्मीचागु डटकम

Leave a Reply

Your email address will not be published. Required fields are marked *