मुडे–चरिकोट सडकको स्तरोन्नति कार्यले पुनः गति लियो
2026-11-16श्रम संस्कृति पार्टीको पहिलो स्थापना दिवसमा माङसेबुङमा संयुक्त कार्यक्रम, हर्क साम्पाङ र सुदन किरातीसहितका नेताहरू सहभागी ।।।
2026-11-16
बंगलादेशको गोपालगन्जमा अवामी लिगको प्रदर्शन हिंसात्मक, तोडफोड र आगजनी ।।।
बंगलादेशको गोपालगन्जमा अवामी लिगको प्रदर्शन हिंसात्मक, तोडफोड र आगजनी
१६ नोभेम्बर २०२६, सोमबार संवाददाता : थाङ्मीचागु डटकम
ढाका, बंगलादेश। बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाको पार्टी अवामी लिगका नेता तथा कार्यकर्ताको प्रदर्शनका क्रममा गोपालगन्जमा तोडफोड र आगजनीका घटना भएका छन्। प्रदर्शनकारीले प्रहरीका सवारीसाधन, सार्वजनिक संरचना तथा विपक्षी दलका नेता–कार्यकर्तासँग सम्बन्धित घर र व्यावसायिक प्रतिष्ठानमा आक्रमण गरेका छन्।
स्थानीय सञ्चारमाध्यमका अनुसार आइतबार गोपालगन्जमा अवामी लिगसमर्थक ठूलो सङ्ख्यामा सडकमा उत्रिएका थिए। उनीहरूले शेख हसिनाको समर्थनमा नाराबाजी गर्दै विभिन्न स्थानमा प्रदर्शन गरेका थिए। प्रदर्शनका क्रममा केही स्थानमा प्रहरीसँग तनाव उत्पन्न भएको थियो।
प्रदर्शनकारीले प्रहरीको बख्तरबन्द सवारीसाधनमा आगजनी गर्नुका साथै प्रहरी बिट तथा सार्वजनिक संरचनामा तोडफोड गरेका थिए। सडक अवरुद्ध गर्न टायरसमेत जलाइएको थियो।
त्यसैगरी गोपालगन्जको टुङ्गीपाडा क्षेत्रमा बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी) का नेता तथा कार्यकर्तासँग सम्बन्धित घर, पार्टी कार्यालय र पसलमा तोडफोड तथा आगजनी भएको विवरण सार्वजनिक भएको छ।
घटनापछि सरकारले गोपालगन्जमा सुरक्षा व्यवस्था कडा पारेको छ। प्रहरी, सशस्त्र प्रहरी र सीमा सुरक्षा बलका सुरक्षाकर्मी परिचालन गरिएको छ। संवेदनशील क्षेत्रमा निगरानी बढाइएको अधिकारीहरूले जनाएका छन्।
सन् २०२४ अगस्टमा विद्यार्थी आन्दोलनपछि सत्ता गुमाएकी शेख हसिना हाल भारतमा बस्दै आएकी छन्। उनको पार्टी अवामी लिगमाथि बंगलादेशमा राजनीतिक गतिविधि सञ्चालन गर्न प्रतिबन्ध लगाइएको छ।
हसिनाविरुद्ध मानवताविरुद्धको अपराधसम्बन्धी मुद्दामा अनुपस्थितिमै मृत्युदण्डको फैसला सुनाइएको थियो। उक्त फैसलालाई उनले अस्वीकार गर्दै आएकी छन्।
गोपालगन्जमा भएको पछिल्लो हिंसात्मक घटनाले बंगलादेशको राजनीतिक अवस्था थप तनावपूर्ण बनेको छ। घटनामा भएको मानवीय तथा भौतिक क्षतिको पूर्ण विवरण भने सार्वजनिक हुन बाँकी छ।
थाङ्मीचागु डटकम




