मुडे–चरिकोट सडकको स्तरोन्नति कार्यले पुनः गति लियो

0Shares

थाङमिचागु डटकम
चरिकोट दोलखा

दोलखा । लामो समयदेखि अलपत्र अवस्थामा रहेको लामोसाँघु–तामाकोशी–जिरी सडकअन्तर्गत मुडे–चरिकोट खण्डको स्तरोन्नति तथा बाँकी निर्माण कार्यले पुनः गति लिन थालेको छ।

२०७५ सालमा ठेक्का सम्झौता भई निर्माण सुरु भएको उक्त सडक आयोजना पटक–पटक म्याद थप गर्दा पनि सम्पन्न हुन सकेको थिएन। २०८० सालमा ठेक्का सम्झौता तोडेर नयाँ प्रक्रियाबाट आयोजना अघि बढाउने निर्णय भए पनि निर्माण कम्पनी अदालत गएपछि काम थप अन्योलमा परेको थियो।

२०८१ सालमा अदालतले पुरानै निर्माण कम्पनीबाट काम गराउन आदेश दिएपछि चार पटकसम्म म्याद थप गरिएको थियो। तर, त्यसपछि पनि निर्माण कार्यले अपेक्षित गति लिन सकेको थिएन।

नयाँ सरकार गठन भएपछि निर्माण कम्पनीलाई अन्तिम पटक काम सम्पन्न गर्ने अवसर दिइएको थियो। तर, तोकिएको समयमा पनि कामले गति नलिएपछि मन्त्रालयले ठेक्का तोड्ने प्रक्रिया अघि बढाएको थियो। त्यसपछि निर्माण कम्पनीले तिहारअघि मात्र सडकको बाँकी निर्माण कार्य पुनः सुरु गरेको हो।

आयोजनाको प्रगतिबारे दैनिक रूपमा अनुगमन भइरहेको जनाइएको छ। तोकिएको गतिमा काम अघि नबढे पुनः ठेक्का सम्झौता तोडेर बाँकी निर्माण कार्य सम्पन्न गर्ने प्रक्रिया अघि बढाइने तयारी रहेको छ।

लामो समयदेखि सडक स्तरोन्नतिको प्रतीक्षामा रहेका दोलखावासीले अब भने निर्माण कार्यले निरन्तरता पाउने र सडकले पूर्णता पाउने अपेक्षा गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *