पारिश्रमिक बढाउने तयारी, विदेशी कामदारलाई समावेश नगर्न माग !!!

0Shares

मलेसियामा न्यूनतम पारिश्रमिक बढाउने तयारी, विदेशी कामदारलाई समावेश नगर्न माग

२०८३ असोज २१ गते बुधवार / अक्टोबर ७, २०२६, बुधवार

क्वालालम्पुर । मलेसियामा प्रस्तावित न्यूनतम पारिश्रमिक वृद्धि स्थानीय कामदारमा मात्र लागू गर्नुपर्ने माग उठेको छ। विदेशी कामदारलाई समेत न्यूनतम पारिश्रमिक वृद्धि लागू गर्दा स्थानीय व्यवसाय, विशेषगरी सूक्ष्म, साना तथा मझौला उद्यममाथि थप आर्थिक भार पर्ने भन्दै यस्तो प्रस्ताव गरिएको हो।

डेमोक्रेटिक एक्सन पार्टी (डीएपी) का बागान सांसद लिम गुआन एङले प्रस्तावित न्यूनतम पारिश्रमिक वृद्धि स्थानीय कामदारमा केन्द्रित हुनुपर्ने बताएका छन्।

संसदमा पत्रकार सम्मेलन गर्दै उनले विदेशी कामदारको पारिश्रमिकसमेत बढाउँदा विदेशी श्रमिकमा निर्भर व्यवसायको सञ्चालन लागत थप बढ्ने बताए।

उनले न्यूनतम पारिश्रमिक ३०० रिंगेटले वृद्धि भएमा विदेशी कामदारले पनि थप ३०० रिंगेट पाउने र त्यसबाट रोजगारदाता तथा स्थानीय व्यवसायमाथि अतिरिक्त आर्थिक भार पर्ने तर्क गरेका छन्।

“उदाहरणका लागि पारिश्रमिक ३०० रिंगेटले बढ्यो भने विदेशी कामदारले पनि थप ३०० रिंगेट पाउनेछन्। यसले रोजगारदाता र स्थानीय व्यवसायमाथि थप आर्थिक भार पार्छ,” उनले भने।

मलेसियाका प्रधानमन्त्री दातुक सेरी अनवर इब्राहिमले न्यूनतम पारिश्रमिक बढाउने विषयमा प्रस्ताव अघि बढाएका छन्। प्रस्तावित वृद्धिबारे सरकारले रोजगारदाता, श्रमिक तथा सम्बन्धित पक्षसँग छलफल गर्दै आएको छ।

मलेसियाको श्रम बजारमा विदेशी कामदारको उल्लेख्य सहभागिता रहेकाले न्यूनतम पारिश्रमिकसम्बन्धी निर्णयले विदेशी श्रमिकलाई समेत प्रत्यक्ष प्रभाव पार्ने देखिन्छ। उत्पादन, निर्माण, सेवा, कृषि तथा अन्य विभिन्न क्षेत्रमा विदेशी कामदार कार्यरत छन्।

विदेशी कामदारलाई न्यूनतम पारिश्रमिक वृद्धिबाट बाहिर राख्ने प्रस्ताव आएपछि यस विषयमा रोजगारदाता, श्रमिक संगठन तथा सरोकारवाला पक्षबीच थप बहस हुने देखिएको छ।

सरकारले अन्तिम निर्णय गरेपछि नयाँ न्यूनतम पारिश्रमिकको दर, लागू हुने मिति र त्यसको दायराबारे स्पष्ट हुने अपेक्षा गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *