रसुवा बाढी अपडेटः मृत्यु हुनेको संख्या १५७ पुग्यो ।।।
2026-08-27बाढीको वितण्डापछि प्रधानमन्त्रीको अपिलः राहत र उद्धार अभियानमा सहयोग गर्न आग्रह
2026-08-26
रसुवा बाढी अपडेटः मृत्यु हुनेको संख्या १५७ पुग्यो ।।।
रसुवा बाढी अपडेटः मृत्यु हुनेको संख्या १५७ पुग्यो
११ भाद्र २०८३, बिहीबार ।
रसुवा । रसुवामा आएको विनाशकारी बाढीका कारण मृत्यु हुनेको संख्या १५७ पुगेको छ। प्रहरीका अनुसार गएरातिसम्म सात जिल्लामा गरी १५७ जनाको शव फेला परेको हो।
प्रहरीका अनुसार रसुवामा ३, नुवाकोटमा १३, धादिङमा २७, चितवनमा ६४, गोरखामा १९, तनहुँमा ९ र नवलपरासी पूर्वमा २२ जनाको शव फेला परेको छ।
बाढीपछि उद्धार तथा खोजीमा खटिएका सुरक्षाकर्मीसमेत ठूलो संख्यामा सम्पर्कविहीन भएका छन्। नेपाली सेनाका क्याप्टेनसहित ४४ जना, सशस्त्र प्रहरीका इन्सपेक्टरसहित १३ जना र नेपाल प्रहरीका २८ जना सम्पर्कविहीन रहेको प्रहरीले जनाएको छ।
रसुवाको बीओपी टिमुरेका इन्सपेक्टरसहित नौ जना तथा मैलुङ सुरक्षा बेसका चार जना सशस्त्र प्रहरीसमेत सम्पर्कविहीन छन्।
यस्तै, इलाका प्रहरी कार्यालय टिमुरेमा कार्यरत २३ जनामध्ये १३ जना, सीमा प्रहरी चौकी रसुवागढीका नौ जनामध्ये एक जना र प्रहरी चौकी स्याफ्रुबेँसीका आठ जनामध्ये पाँच जना मात्र सम्पर्कमा आएका छन्।
बाढी र पहिरोमा परी घाइते भएका ४१ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा २०, ट्रमा सेन्टरमा चार, वीर अस्पतालमा तीन, त्रिशूली अस्पतालमा नौ, नर्भिक अस्पतालमा तीन, वीरेन्द्र सैनिक अस्पतालमा एक र ग्रीन सिटी अस्पतालमा एक जना उपचाररत छन्।
खोज तथा उद्धारका लागि ३ हजार ३१८ जना प्रहरी जनशक्ति परिचालन गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।
बाढी प्रभावित क्षेत्रमा ३९१ जना विदेशी पर्यटक र ९३ जना स्वदेशी पर्यटक बेपत्ता रहेको प्रहरीको तथ्यांक छ। रसुवागढी भन्सार तथा अध्यागमनका केही कर्मचारी र आठ वटा बैंकका २६ जना कर्मचारीसमेत सम्पर्कविहीन रहेको जनाइएको छ।
बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्य जारी रहेकाले मृतक तथा बेपत्ताको संख्या अझै बढ्न सक्ने प्रहरीले जनाएको छ।




