तिहारको मौका छोपी टिकाथलीमा चोरी गर्ने गिरोह पक्राउ, चोरीको सुन किन्ने र बेच्न सघाउनेसहित पाँच जना प्रहरी नियन्त्रणमा !!:

0Shares

तिहारको मौका छोपी टिकाथलीमा चोरी गर्ने गिरोह पक्राउ, चोरीको सुन किन्ने र बेच्न सघाउनेसहित पाँच जना प्रहरी नियन्त्रणमा

काठमाडौं । तिहारको समयमा घरमा कोही नभएको मौका छोपेर चोरी गर्ने कार्यमा संलग्न तीन जना तथा चोरीको सुन खरिद गर्ने र बिक्री गर्न सहयोग गर्ने दुई जनासहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएको प्रहरी टोलीले काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट उनीहरूलाई चोरीका गरगहना तथा औजारसहित पक्राउ गरेको हो।

प्रहरीका अनुसार गत कात्तिक २४ गते राति करिब १२ः१५ बजे ललितपुरको महालक्ष्मी नगरपालिका–५, टिकाथलीस्थित भाडाको कोठामा बस्दै आएका प्रशान्त साह र तेजेन्द्र कुमार चौधरीको कोठाको ताला फोडेर सुनचाँदीका गरगहना, ल्यापटप तथा नगद चोरी भएको थियो।

उक्त घटनाको अनुसन्धान गर्ने क्रममा प्रहरीले कात्तिक २७ गते साँझ ५ बजे उनीहरूलाई पक्राउ गरेको जनाएको छ।

पक्राउ पर्नेमा चोरीमा संलग्न महोत्तरीको सोनमा गाउँपालिका–६ घर भई हाल कालिमाटी बस्ने ३३ वर्षीय प्रमोद कुमार यादव (बिटु), भारतको बिहारस्थित मोतिहारी घर भई हाल जडिबुटी बस्ने २० वर्षीय करन गिरी र समस्तीपुर घर भई हाल जडिबुटी बस्ने २७ वर्षीय गोकुल गिरी (स्टार) रहेका छन्।

त्यस्तै, चोरीको सुन खरिद गर्ने सुनसरीको इनरुवा नगरपालिका–१ घर भई हाल कपन बस्ने २३ वर्षीय अनुराग सोनी साह र चोरीको सुन बिक्री गर्न सहयोग गर्ने दोलखाको मेलुङ गाउँपालिका–२ घर भई हाल कागेश्वरी मनोहरा नगरपालिका–हात्तीडाँडा बस्ने २१ वर्षीया अनिता चौधरी खड्का पनि पक्राउ परेका छन्।

प्रहरीले उनीहरूको साथबाट एक थान सुनको लकेट, चाँदीजस्तो देखिने दुई थान औँठी, एक थान चाँदीको सिक्री, एक थान चाँदीको ब्रासलेट तथा घर फोर्न प्रयोग गरिएको एक थान फलामको रड र दुई थान काठका टुक्रासमेत बरामद गरेको छ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक रामेश्वर कार्कीका अनुसार पक्राउ परेका व्यक्तिहरूलाई बरामद सामग्रीसहित थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीका लागि प्रहरी वृत्त सातदोबाटो पठाइएको छ।

थाङ्मीचागु डट कम
समाचार कक्ष

Leave a Reply

Your email address will not be published. Required fields are marked *