रसुवा बाढीमा बेपत्ता पत्रकार टेकराज थामीको पशुपति आर्यघाटमा अन्तिम बिदाइ।।।
2026-09-19प्रधानमन्त्री वालेन्द्र शाह र जेन्जी पुस्ताका सांसदबीच विशेष अन्तरक्रिया
2026-09-18
रसुवा बाढीमा बेपत्ता पत्रकार टेकराज थामीको पशुपति आर्यघाटमा अन्तिम बिदाइ।।।
रसुवा बाढीमा बेपत्ता पत्रकार टेकराज थामीको पशुपति आर्यघाटमा अन्तिम बिदाइ
३ असोज २०८३, शनिबार
काठमाडौं । गत भदौ १० गते रसुवाको केरुङ नाका नजिकै भोटेकोशी नदीमा आएको बाढीमा परी बेपत्ता भएका पत्रकार टेकराज थामीको शनिबार पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको छ।
लामो समयसम्म खोजी गर्दा पनि पत्रकार थामीको अवस्था पत्ता लाग्न नसकेपछि थाङ्मी किराँती धर्म–परम्पराअनुसार कुशको शव बनाएर पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको हो।
दोलखा निवासी पत्रकार थामीको अन्तिम बिदाइका क्रममा पशुपति आर्यघाटमा भावुक वातावरण देखिएको थियो। अन्तिम बिदाइ कार्यक्रममा उनका शोकसन्तप्त परिवारजन, आफन्त, सहकर्मी पत्रकार तथा शुभेच्छुकहरूको बाक्लो उपस्थिति रहेको थियो।
नेपाल पत्रकार महासंघले पत्रकार थामीको प्रतीक शवमा महासंघको झण्डा ओढाएर सम्मान प्रकट गरेको थियो। साथै, दिवंगत पत्रकार थामीको आत्माको शान्तिको कामना गर्दै उपस्थितहरूले एक मिनेट मौन धारण गरेका थिए।
समाचार सङ्कलनका क्रममा रसुवागढी क्षेत्रमा पुगेका पत्रकार थामी भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीपछि बेपत्ता भएका थिए। लामो समयसम्म खोजी तथा उद्धार प्रयास गरिए पनि उनको भौतिक शरीर फेला पर्न सकेको थिएन।
भौतिक शरीर फेला नपरे पनि धार्मिक परम्पराअनुसार गरिएको अन्तिम संस्कारमा उपस्थित परिवारजन, आफन्त, पत्रकार तथा शुभेच्छुकहरूले भावुक हुँदै उनलाई श्रद्धाञ्जली अर्पण गरेका थिए।
पशुपति आर्यघाटमा भएको अन्तिम बिदाइले पत्रकार थामीप्रति सहकर्मी तथा आफन्तको सम्मान, सम्झना र भावनात्मक सम्बन्धलाई समेत प्रतिबिम्बित गरेको थियो।




