नेपाल थामी समाजले सार्वजनिक गर्यो पहिलो राष्ट्रिय थामी गीत, निर्माणमा नेपाल थामी समाज मलेसियाको विशेष योगदान !!!
2026-11-01विद्यालय शिक्षा विधेयकको मस्यौदा तयारी तीव्र सुझावका आधारमा अन्तिम रूप दिने तयारी
2026-10-30
नेपाल थामी समाजले सार्वजनिक गर्यो पहिलो राष्ट्रिय थामी गीत, निर्माणमा नेपाल थामी समाज मलेसियाको विशेष योगदान !!!
नेपाल थामी समाजले सार्वजनिक गर्यो पहिलो राष्ट्रिय थामी गीत, निर्माणमा नेपाल थामी समाज मलेसियाको विशेष योगदान
थाङ्मीचागु डटकम | सत्य, तथ्य, निष्पक्ष खबर
काठमाडौँ, कात्तिक १४, २०८३।
नेपाल थामी समाजले पहिलोपटक थामी भाषामा तयार पारिएको राष्ट्रिय थामी गीत सार्वजनिक गरेको छ। समाजको २७औँ वार्षिक साधारणसभाका अवसरमा शनिबार आयोजित विशेष समारोहमा उक्त राष्ट्रिय गीत सार्वजनिक गरिएको हो।
नेपाल थामी समाज मलेसियाको आयोजना तथा आर्थिक लगानीमा निर्माण गरिएको राष्ट्रिय थामी गीतको उद्घाटन तथा विमोचन समारोहमा बागमती प्रदेशसभा सदस्य ठूला थामी, कालिञ्चोक गाउँपालिका अध्यक्ष अर्जुनप्रसाद शिवाकोटी र नेपाल आदिवासी जनजाति महासङ्घका उपाध्यक्ष अमृत सुनुवारलगायतको उपस्थिति रहेको थियो।
त्यसैगरी, नेपाल थामी समाजका केन्द्रीय पदाधिकारी, विभिन्न जिल्लाका अध्यक्ष तथा प्रतिनिधि, नेपाल थामी समाज मलेसियाका प्रतिनिधि, कलाकार, सामाजिक अभियन्ता तथा समुदायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
कार्यक्रममा बागमती प्रदेशसभा सदस्य ठूला थामीले थामी भाषामा पहिलोपटक राष्ट्रिय गीत सार्वजनिक हुनु समग्र थामी समुदायका लागि महत्त्वपूर्ण उपलब्धि भएको बताए। उनले गीतले विश्वभर छरिएर रहेका थामी समुदायलाई एकताको सूत्रमा बाँध्न सहयोग पुग्ने विश्वास व्यक्त गर्दै भाषा, संस्कार, संस्कृति र समुदायको उत्थानका लागि सबै एकजुट हुनुपर्नेमा जोड दिए।
कालिञ्चोक गाउँपालिका अध्यक्ष अर्जुनप्रसाद शिवाकोटीले थामी समुदायको भाषा, संस्कार र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा यस्ता अभियानले महत्त्वपूर्ण योगदान पुर्याउने धारणा व्यक्त गरे।
राष्ट्रिय थामी गीतका सर्जक तथा कलाकार
राष्ट्रिय थामी गीतका रचनाकार रमेश थामी ‘छड्केसलाम’ हुन्। गीतमा शिखर थामी, शक्ति थामी, तीर्थराज थामी, मनु थामी, सविना थामी, रामकुमार थामी, कमला थामी, प्रमोद थामी र सुन्दर थामीले स्वर दिएका छन्। गीतको सङ्गीत संयोजन खुशी थामीले गरेका छन्।
प्रवासबाट मातृभाषा र पहिचान संरक्षणमा योगदान
नेपाल थामी समाज मलेसियाको आयोजना, पहल तथा आर्थिक लगानीमा निर्माण भएको यस राष्ट्रिय गीतले प्रवासमा रहेर पनि आफ्नो मातृभाषा, मौलिक संस्कृति, इतिहास र पहिचानको संरक्षणमा थामी समुदायले गरेको प्रयासलाई उजागर गरेको छ।
नेपाल थामी समाजका विभिन्न जिल्ला अध्यक्षहरूको नेतृत्वदायी सहभागिता तथा केन्द्रीय तहका प्रतिनिधिहरूको उपस्थितिले कार्यक्रमलाई थप अर्थपूर्ण बनाएको छ। यसले जिल्ला, केन्द्र र प्रवासमा रहेका थामी समुदायबीच संस्थागत एकता र सांस्कृतिक सहकार्यको सन्देशसमेत प्रवाह गरेको छ।
थामी समुदायको मौलिक भाषा, इतिहास, पहिचान, संस्कार, संस्कृति र सभ्यतालाई समेटेर तयार पारिएको यो गीत केवल सांगीतिक सिर्जना मात्र नभई भावी पुस्तामा मातृभाषा हस्तान्तरण, सांस्कृतिक विरासतको संरक्षण र सामुदायिक एकताको महत्त्वपूर्ण माध्यमका रूपमा रहने अपेक्षा गरिएको छ।
राष्ट्रिय थामी गीत सार्वजनिक भएसँगै थामी समुदायको मौलिक भाषा र संस्कृतिलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा चिनाउन थप सहयोग पुग्ने विश्वास गरिएको छ।
समाचार : थाङ्मीचागु डटकम सत्य, तथ्य, निष्पक्ष खबर




