वैदेशिक रोजगारीको प्रलोभनमा लाखौँ ठगी दोलखाका एकसहित पाँच जना पक्राउ

0Shares

थाङमिचागु डटकम संवाददाता
चरिकोट दोलखा

काठमाडौं । वैदेशिक रोजगारीका लागि आकर्षक तलबको प्रलोभन देखाउँदै विभिन्न देश पठाइदिने भन्दै लाखौँ रकम ठगी गरेको आरोपमा प्रहरीले दोलखाका एक जनासहित पाँच जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा दोलखा घर भई भक्तपुरको सूर्यविनायक नगरपालिका–१ बस्ने ३४ वर्षीय पेमा लामा, सिन्धुली घर भई काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–९ बस्ने २८ वर्षीया करिना देवकोटा, ओखलढुङ्गा घर भई काठमाडौं महानगरपालिका–१५ बस्ने २७ वर्षीया तोमकुमारी थापा, झापा घर भई काठमाडौंको बुढानीलकण्ठ बस्ने २९ वर्षीया सुष्मा भण्डारी र झापा घर भई काठमाडौं महानगरपालिका–३ बस्ने २७ वर्षीय साजन खनाल रहेका छन् ।

प्रहरीका अनुसार साजनले फिनल्यान्ड पठाइदिने भन्दै १२ लाख रुपैयाँ, सुष्माले चेक रिपब्लिक पठाइदिने भन्दै ५ लाख ३५ हजार रुपैयाँ, करिनाले लिथुआनिया पठाइदिने भन्दै २ लाख ५० हजार रुपैयाँ, पेमाले रोमानिया पठाइदिने भन्दै १ लाख रुपैयाँ र तोमकुमारीले माल्टा पठाइदिने भन्दै १ लाख ३५ हजार रुपैयाँ लिई सम्पर्कविहीन भएको उजुरी परेको थियो ।

उक्त उजुरीका आधारमा प्रहरीले उनीहरूलाई काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरेको हो ।

प्रहरी प्रवक्ता एवं प्रहरी उपरीक्षक रामेश्वर कार्कीका अनुसार पक्राउ परेका पाँचै जनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि मंगलबार वैदेशिक रोजगार विभाग, ताहाचल काठमाडौं पठाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *