लाङटाङ हाइड्रो बगाउँदा ६० जना बेपत्ता, ४४ सैनिक र बैंकका २६ कर्मचारी सम्पर्कविहीन

0Shares

लाङटाङ हाइड्रो बगाउँदा ६० जना बेपत्ता, ४४ सैनिक र बैंकका २६ कर्मचारी सम्पर्कविहीन

१० भाद्र २०८३, बुधबार १८:५२

भक्तपुर । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीले निर्माणाधीन लाङटाङ खोला जलविद्युत् आयोजना बगाउँदा इन्जिनियरसहित करिब ६० जना कर्मचारी तथा मजदुर सम्पर्कविहीन भएका छन्।

बुधबार बिहान चीनको तिब्बततर्फबाट भोटेकोशी नदीमा आएको बाढीले आयोजनाको पावर हाउस पूर्णरूपमा बगाएको हो। बाढीपछि आयोजनामा कार्यरत कर्मचारी तथा मजदुरसँग सम्पर्क हुन नसकेको निर्माण कम्पनी मल्टी इनर्जी प्रालिका प्रबन्ध निर्देशक विजयमोहन भट्टराईले जानकारी दिएका छन्।

उनका अनुसार आयोजनामा मल्टी इनर्जीका इन्जिनियर, ओभरसियर, सुरक्षा गार्ड र भान्छेसहित २५ जना तथा पेटी कन्ट्र्याक्टरतर्फका करिब ३५ जना मजदुर कार्यरत थिए। उनीहरू बिहानदेखि सम्पर्कविहीन छन्।

एक सातापछि विद्युत् उत्पादन सुरु गरी राष्ट्रिय प्रसारण लाइनमा जोडिने तयारीमा रहेको आयोजना बाढीका कारण ठूलो क्षतिग्रस्त भएको छ।

४४ जना नेपाली सेना पनि सम्पर्कविहीन

भोटेकोशीमा आएको बाढीका कारण जलविद्युत् आयोजना तथा लाङटाङ राष्ट्रिय निकुञ्जको सुरक्षार्थ खटिएका ४४ जना नेपाली सेना पनि सम्पर्कविहीन भएका छन्।

रसुवाका विभिन्न जलविद्युत् आयोजना तथा लाङटाङ राष्ट्रिय निकुञ्जमा खटिएका ४४ जना सैनिक सम्पर्कमा नरहेको नेपाली सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेतले जानकारी दिएका छन्।

आठ वाणिज्य बैंकका २६ कर्मचारी सम्पर्कविहीन

यसैबीच, रसुवामा आएको बाढीका कारण आठ वाणिज्य बैंकका २६ जना कर्मचारी पनि सम्पर्कविहीन भएका छन्।

तिब्बतबाट आएको बाढीका कारण भोटेकोशी तथा त्रिशूली आसपासका विभिन्न बैंकका आठ शाखामा कार्यरत कर्मचारीसँग सम्पर्क हुन नसकेको नेपाल बैंकर्स एसोसिएसनका प्रमुख कार्यकारी अधिकृत अनिल शर्माले बताएका छन्।

बाढीका कारण बैंकका शाखा कार्यालयहरूमा समेत ठूलो क्षति पुगेको छ। प्रभु, ग्लोबल, सानिमा, नेपाल इन्भेस्टमेन्ट मेगा, लक्ष्मी सनराइज, एनएमबी र माछापुच्छ्रे बैंकका शाखा कार्यालय प्रभावित भएको जनाइएको छ।

थामीचागु डट कम
सम्पादक : मे हाङ ठाँटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *