भोटेकोसी बाढीमा ७ जनाको मृत्यु, उद्धारका लागि १२ हेलिकप्टर परिचालन

0Shares

भोटेकोसी बाढीमा ७ जनाको मृत्यु, उद्धारका लागि १२ हेलिकप्टर परिचालन

थाङ्मीचागु डटकम | १० भदौ २०८३, बुधबार

रसुवा । रसुवाको भोटेकोसी नदीमा बुधबार बिहान आएको अचानक बाढीमा परी कम्तीमा ७ जनाको मृत्यु भएको छ।

बिहान करिब ९ बजे आएको बाढीपछि नुवाकोटको नदी किनारमा ३ जना र धादिङमा ४ जनाको शव फेला परेको बागमती प्रदेश प्रहरी प्रमुख दीपक रेग्मीले जानकारी दिएका छन्।

बाढीबाट प्रभावित तथा सुरक्षित स्थानतर्फ भागेका स्थानीयको उद्धार गरी धुन्चे ल्याउने काम भइरहेको छ। घाइतेलाई धुन्चे अस्पतालमा ल्याएर उपचार सुरु गरिएको प्रहरीले जनाएको छ। साथै, बेपत्ता भएकाहरूको खोजी कार्य पनि जारी छ।

उद्धार तथा खोजी कार्यलाई तीव्र बनाउन १२ वटा हेलिकप्टर परिचालन गरिएको छ। नेपाली सेनाका ४ र निजी क्षेत्रका ८ वटा हेलिकप्टर उद्धारमा खटिएका छन्।

नेपाली सेनाका उद्धार तथा स्वास्थ्यकर्मीसहितका तीनवटा हेलिकप्टर टोलीसमेत नुवाकोट र रसुवातर्फ परिचालन गरिएको छ।

बाढी प्रभावित क्षेत्रमा रसुवा, नुवाकोट, धादिङ र चितवनका सुरक्षा निकायहरूलाई परिचालन गरी उद्धार, खोजी तथा राहतको काम भइरहेको जनाइएको छ।

घटनाबाट भएको मानवीय तथा भौतिक क्षतिको थप विवरण संकलन भइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *