भोटेकोसी बाढीपछि उद्धार तीव्र, थप जोखिमबारे चीनसँग सशस्त्रको निरन्तर संवाद ।।।

0Shares

भोटेकोसी बाढीपछि उद्धार तीव्र, थप जोखिमबारे चीनसँग सशस्त्रको निरन्तर संवाद

थाङ्मीचागु डटकम | भदौ १०, २०८३

काठमाडौँ । रसुवास्थित भोटेकोसी नदीमा आएको आकस्मिक बाढीपछि प्रभावितको उद्धार, उपचार तथा सुरक्षित स्थानान्तरणलाई तीव्र पारिएको छ।

सशस्त्र प्रहरी बल नेपालका अनुसार तीनवटै सुरक्षा निकायको समन्वयमा बाढीमा परेका तथा गम्भीर घाइतेको उद्धार गरी प्राथमिक उपचार भइरहेको छ। आवश्यक उपकरणसहितका चिकित्सा तथा उद्धार टोली प्रभावित क्षेत्रमा परिचालन गरिएको छ।

रसुवाभन्दा तल नुवाकोट, धादिङ र चितवनका सशस्त्र प्रहरी युनिटलाई समेत विपद् उद्धारका लागि उच्च सतर्क अवस्थामा राखिएको छ। नदी किनारका जोखिमयुक्त बस्तीमा रहेका नागरिकलाई सुरक्षित स्थानमा सर्न सूचना दिइएको छ।

नुवाकोटको विदुरमा अस्थायी स्वास्थ्य सेवा सञ्चालनको तयारी भइरहेको छ भने राहत तथा उद्धार सामग्रीसहितका कन्टेनर प्रभावित क्षेत्रमा पठाउने काम भइरहेको छ।

यसैबीच, भोटेकोसी–त्रिशूली नदीको माथिल्लो तटीय क्षेत्रमा थप हिमताल विस्फोट वा बाढीको जोखिमबारे पूर्वसूचना लिन सशस्त्र प्रहरीले चिनियाँ समकक्षी सुरक्षा निकायसँग निरन्तर संवाद तथा सूचना आदान–प्रदान गरिरहेको जनाएको छ।

बाढी तथा पहिरो प्रभावित क्षेत्रमा उद्धार र अत्यावश्यक यातायात सञ्चालनका लागि सडक खुलाउने काम पनि तीव्र पारिएको छ। हराइरहेका तथा थुनिएका नागरिकको खोजी र क्षतिको मूल्याङ्कनका लागि ड्रोन तथा कुकुरसहितको खोजी टोली परिचालन गरिएको छ।

बाढी प्रभावित क्षेत्रमा आपतकालीन हेलिप्याड तयार गरी उद्धार हेलिकप्टरको सुरक्षित उडान तथा अवतरणको व्यवस्था मिलाइएको छ। विस्थापित शिविरमा पानीजन्य रोग फैलिन नदिन खानेपानी शुद्धीकरणका औषधि वितरण गर्नसमेत निर्देशन दिइएको सशस्त्र प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *