नेपालको विपद्मा छिमेकी मुलुकको चासोः मोदीको टेलिफोन, चीनले नगद सहयोग गर्ने

0Shares

नेपालको विपद्मा छिमेकी मुलुकको चासोः मोदीको टेलिफोन, चीनले नगद सहयोग गर्ने

भक्तपुर । नेपालमा आएको भीषण बाढीबाट भएको जनधनको क्षतिपछि प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्निर्माणका लागि भारत, चीन र विश्व बैंकले सहयोगको चासो देखाएका छन्।

दक्षिणी छिमेकी भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री वालेन्द्र शाहलाई टेलिफोन गरी रसुवालगायत बाढी प्रभावित क्षेत्रमा भएको क्षतिबारे जानकारी लिँदै आवश्यक मानवीय सहयोग उपलब्ध गराउन भारत तयार रहेको बताएका छन्।

मोदीले कठिन घडीमा भारतका जनता नेपाली नागरिकको साथमा रहेको उल्लेख गर्दै उद्धार तथा राहतका लागि भारतीय अधिकारीहरूले नेपाल सरकारका सम्बन्धित निकायसँग समन्वय गरिरहेको जानकारी गराएका छन्।

तत्काल आवश्यक राहत सामग्रीको सूची पठाउन आग्रह

भारतले बाढी प्रभावित नागरिकका लागि तत्काल आवश्यक पर्ने राहत सामग्रीको सूची उपलब्ध गराउन नेपाल सरकारलाई आग्रह गरेको छ। साथै, उद्धार तथा राहत कार्यमा सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।

विश्व बैंकबाट २५ अर्बसम्म सहयोगको प्रस्ताव

नेपालका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक डेविड सिस्लेनले बाढीपछि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग सम्पर्क गरी विभिन्न स्रोतबाट आपत्कालीन सहयोगस्वरूप करिब २५ अर्ब रुपैयाँसम्म सहयोग गर्न सकिने जानकारी गराएका छन्।

चीनले तत्काल नगद सहयोग गर्ने

उत्तरी छिमेकी चीनले पनि बाढी प्रभावित नेपाललाई तत्काल नगद सहयोग उपलब्ध गराउने भएको छ। सहयोग रकम पठाउने प्रक्रिया सुरु गर्न चिनियाँ राजदूत जाङ्ग माओमिङ्गले अर्थमन्त्रीमार्फत नेपाल सरकारलाई आग्रह गरेका छन्।

पश्चिमी राष्ट्रद्वारा ऐक्यबद्धता

नेपालस्थित अस्ट्रेलिया, युरोपेली युनियन, फिनल्यान्ड, फ्रान्स, नर्वे, स्विट्जरल्यान्ड र बेलायतका कूटनीतिक नियोगहरूले संयुक्त वक्तव्य जारी गर्दै रसुवा, नुवाकोट तथा आसपासका क्षेत्रमा आएको विनाशकारी बाढीप्रति दुःख व्यक्त गरेका छन्।

संयुक्त वक्तव्यमार्फत ती नियोगहरूले विपद्बाट प्रभावित सम्पूर्ण नागरिकप्रति सहानुभूति प्रकट गर्दै कठिन परिस्थितिमा नेपाली जनतासँग पूर्ण ऐक्यबद्धता रहेको जनाएका छन्।

थामीचागु डट कम
सम्पादक : मे हाङ ठाँटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *