झापामा अवैध रूपमा भण्डारण गरिएको ९४८ बोरा खरबुजाको बिउ प्रहरीले नियन्त्रणमा लियो ।।

0Shares

झापामा अवैध रूपमा भण्डारण गरिएको ९४८ बोरा खरबुजाको बिउ प्रहरीले नियन्त्रणमा लियो

झापा, असार २९ — झापा प्रहरीले भद्रपुर नगरपालिका–३ स्थित एक निजी घरबाट अवैध रूपमा भण्डारण गरिएको आशंका गरिएको ठूलो परिमाणको खरबुजाको बिउ नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार प्राप्त गोप्य सूचनाका आधारमा शनिबार साँझ प्रहरी निरीक्षक बशुन्धरा खड्काको नेतृत्वमा जिल्ला प्रहरी कार्यालय झापा र वडा प्रहरी कार्यालय भद्रपुरको संयुक्त टोली परिचालन गरिएको थियो। टोलीले भद्रपुर–३ को ज्ञानेचोकस्थित एक निजी घरमा खानतलासी गर्दा दुई वटा कोठामा भण्डारण गरेर राखिएको खरबुजाको बिउ फेला पारेको हो।

प्रहरीका अनुसार खानतलासीका क्रममा कुल ९४८ बोरा खरबुजाको बिउ बरामद गरिएको छ। प्रारम्भिक अनुसन्धानबाट उक्त बिउ आवश्यक भन्सार प्रक्रिया पूरा नगरी नेपाल भित्र्याई भण्डारण गरिएको हुन सक्ने आशंकामा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

बरामद गरिएको सामग्री आवश्यक कानुनी प्रक्रिया पूरा गरी भद्रपुर भन्सार कार्यालयमा बुझाइने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको प्रहरीले जानकारी दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *