गाउँमै अवसर सिर्जना गर्दै भूमिका थापा: चिया उद्योगले स्थानीय उत्पादनलाई राष्ट्रिय बजारसम्म पुर्‍यायो ।।।

0Shares

गाउँमै अवसर सिर्जना गर्दै भूमिका थापा: चिया उद्योगले स्थानीय उत्पादनलाई राष्ट्रिय बजारसम्म पुर्‍यायो

इलाम, असार २९।
विदेश जाने सपना पूरा हुन नसकेपछि निराश नबनी गाउँमै उद्यम सुरु गरेकी इलामको फाकफोकथुम गाउँपालिकाकी भूमिका थापाले चिया प्रशोधन उद्योगमार्फत स्थानीय किसान, श्रमिक र ग्रामीण अर्थतन्त्रलाई नयाँ दिशा दिएकी छन्।

भूमिका थापाले स्थापना गरेको चिया उद्योगले अहिले स्थानीय स्तरमा उत्पादित हरियो चियापत्ती प्रशोधन गरी गुणस्तरीय चिया उत्पादन गर्दै आएको छ। उद्योग सञ्चालनमा आएपछि स्थानीय किसानले आफ्नै क्षेत्रमा उत्पादनको सहज बजार पाएका छन् भने दर्जनौँ स्थानीयले रोजगारीसमेत पाएका छन्।

उद्योग नियमित सञ्चालनमा रहेकाले चियाको उत्पादन चक्र व्यवस्थित भएको छ। यसबाट किसानले उत्पादनको उचित मूल्य पाएका छन् भने श्रमिकले पनि निरन्तर रोजगारीको अवसर प्राप्त गरेका छन्।

उद्योगबाट उत्पादित चिया अहिले इलामका विभिन्न बजारसँगै राँके, धनकुटा तथा काठमाडौंसम्म पुग्न थालेको छ। आगामी दिनमा अन्तर्राष्ट्रिय बजारमा समेत नेपाली चियाको पहिचान स्थापित गर्ने लक्ष्यसहित उद्योगले उत्पादन क्षमता विस्तारको तयारी गरिरहेको छ।

फाकफोकथुम गाउँपालिकाका अध्यक्ष दीपेन्द्र खनालले भूमिका थापाजस्ता उद्यमी स्थानीय सरकारका लागि प्रेरणाको स्रोत भएको बताउँदै कृषि प्रशोधन, उद्यमशीलता र बजारीकरणलाई गाउँपालिकाको प्राथमिकतामा राखेर आवश्यक सहयोगलाई निरन्तरता दिइने जानकारी दिनुभयो।

गाउँपालिकाकी उपाध्यक्ष कल्पना राईले वैदेशिक रोजगारी मात्र युवाको विकल्प नभएको भन्दै गाउँमै उपलब्ध स्रोत–साधनको सदुपयोग गरेर पनि सफल हुन सकिने उदाहरण भूमिका थापाले प्रस्तुत गर्नुभएको बताउनुभयो। उहाँले स्थानीय उत्पादनको मूल्य अभिवृद्धि, गाउँमै रोजगारी सिर्जना तथा ग्रामीण अर्थतन्त्र सुदृढ बनाउन यस्ता सफल उद्यमलाई थप प्रोत्साहन गरिने उल्लेख गर्नुभयो।

विदेश जाने सपना पूरा नभए पनि भूमिका थापाले गाउँमै अवसर सिर्जना गर्दै आत्मनिर्भर बन्न सकिने सशक्त उदाहरण प्रस्तुत गर्नुभएको छ। उहाँको सफलताले स्थानीय किसानलाई बजार, युवालाई रोजगारी र समग्र समुदायलाई आत्मविश्वास प्रदान गरेको छ। ग्रामीण क्षेत्रमा उद्यमशीलताको यो उदाहरणले स्वदेशमै सम्भावना खोज्ने धेरै युवाका लागि प्रेरणादायी सन्देश दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *