गाउँघरबाट लोप हुँदै गोरुगाडा: सिन्धुलीमा किसानको पुरानो भर ।।।

0Shares

गाउँघरबाट लोप हुँदै गोरुगाडा: सिन्धुलीमा किसानको पुरानो भर ।।।

माया स्याङ्तान,​कार्तिक ३०, सिन्धुली:
​समयसँगै प्रविधिको विकास र नयाँ सवारी साधनहरूको प्रयोग बढ्दै जाँदा नेपालका ग्रामीण भेगहरूबाट परम्परागत गोरुगाडा (गोरुगाडी) लोप हुँदै गएका छन् । आधुनिकताको तीव्र गतिमा, कुनै समय ग्रामीण कृषि र ढुवानीको मेरुदण्ड मानिने यो सरल साधन अहिले इतिहासको पानामा सीमित हुन थालेको छ ।

​सिन्धुली जिल्लाको दुधाैलीमा गोरुगाडाको प्रयोगलाई कायमै राख्ने थोरै किसानहरू हुनुहुन्छ । पछिल्लो समय ट्याक्टर तथा अन्य यान्त्रिक सवारी साधनहरू भित्रिए पराल ढुवानीका लागि अझै पनि गोरुगाडाकै प्रयोग किसानहरूले गरिरहनुभएको छ ।

​एक किसान भन्नुहुन्छ : “ट्याक्टर महँगो भयो, खेतमा गोरुगाडा चलाउन सजिलो हुन्छ । अहिले त कसैले पनि गोरुगाडा बनाउँदैनन्, तर पनि हामीलाई पुरानो चलन र यो साधन नै प्यारो छ ।”

केही दशकअघिसम्म खेतबारीमा जोतखन गर्नेदेखि लिएर बालीनाली र पराल घरसम्म पुर्‍याउनका लागि किसानहरू गोरुगाडामा नै निर्भर हुन्थे । तर, पछिल्लाे समय अधिकांश किसानहरूले छिटो र ठूलो मात्रामा काम गर्ने ट्याक्टर लगायतका सवारी साधनहरू प्रयोग गर्न थालेपछि गोरुगाडाको महत्त्व घट्दै गएको छ ।

​नेपालका गाउँघरमा गोरुगाडाको संख्या निकै पातलो भइसकेको छ । यसलाई ग्रामीण अर्थतन्त्र र संस्कृतिको एक महत्त्वपूर्ण हिस्साको रूपमा जोगाइराख्नका लागि स्थानीय सरकार तथा सरोकारवाला निकायले पहल गर्नुपर्ने देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *