नेपाल थामी समाज दोलखाको सातौँ जिल्ला अधिवेशनको भव्य तयारी तीव्र ।।।
2026-05-26मलेसियामा ‘आरटी गोल्ड कप २०२६’ को तयारी पूरा, १८ टोली उपाधिका लागि भिड्दै
2026-05-25मलेसिया जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षण अब पनि सीमित स्वास्थ्य संस्थाबाट मात्रै हुने भएको छ ।
2026-05-18
कालिन्चोक गा.पा.१ मा किवी खेती सम्बन्धी दुई दिने तालिम सम्पन्न
कालिन्चोक गा.पा.मा किवी खेती सम्बन्धी दुई दिने तालिम सम्पन्न
थाङ्मीचागु सम्बादाता
१३ पुष शनिबार २०८१
सन्तोष ठान्टी थाङ्मी

कालिन्चोक गाउँपालिका वडा नं. १ क्याम्पोलमा किवी खेतीलाई प्रोत्साहन गर्न आयोजित दुई दिने तालिम सफलतापूर्वक सम्पन्न भएको छ। नामसालिङ सामुदायिक विकास केन्द्र र कालिन्चोक एकीकृत सामुदायिक विकास केन्द्रद्वारा सञ्चालित एकीकृत सामुदायिक विकास परियोजनाअन्तर्गत भित्रिखर्क किवी उत्पादन पकेट क्षेत्रका ८ कृषक समूहका २५ जना किसानको सहभागितामा तालिम सम्पन्न भएको हो।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ रामेछापका कृषि प्राविधिक सञ्जीव केसीको नेतृत्वमा भएको तालिममा किवी खेतीको काटछाँट र कलमी सम्बन्धी सैद्धान्तिक र प्रयोगात्मक ज्ञान प्रदान गरिएको थियो। तालिमका क्रममा किसानहरूले किवी खेतीलाई थप उन्नत र व्यावसायिक बनाउन आवश्यक सीपहरू सिकेका थिए।

तालिमको दोस्रो तथा अन्तिम दिन आयोजित समापन कार्यक्रममा कालिन्चोक गा.पा. वडा नं. १ का अध्यक्ष पदम थामीले किवी खेतीको महत्त्वलाई जोड दिँदै यसको व्यावसायिक विकास र प्रवर्द्धनका लागि स्थानीय निकाय तथा राज्यको ध्यान जानु आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो। उहाँले किवी खेतीको उत्पादकत्व वृद्धि गर्न र किसानहरूको आम्दानी बढाउन वडा कार्यालयले आवश्यक सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाउनुभयो।

तालिमको बारेमा जानकारी दिँदै कृषि प्राविधिक अस्मिता बस्नेतले किवी खेतीमा आधुनिक प्रविधिको प्रयोगले उत्पादनलाई अझ गुणस्तरीय र नाफामूलक बनाउन सकिने बताउनुभयो। उहाँले किसानहरूलाई व्यवसायिक खेतीतर्फ उन्मुख गराउन यस्ता तालिमहरूको महत्त्वपूर्ण भूमिका रहेको बताउनुभयो।
तालिममा सहभागी कृषकहरूले किवी खेतीलाई उन्नत बनाउँदै व्यावसायिक उत्पादनलाई प्राथमिकता दिने र सिकेको ज्ञान व्यवहारमा लागू गर्ने प्रतिबद्धता जनाएका छन्। तालिमले कृषकहरूलाई आत्मनिर्भर बनाउन थप उत्प्रेरणा दिएको छ।
कृषि विकास र किवी खेतीको व्यावसायिकतामा योगदान पुर्याउने उद्देश्यले आयोजना गरिएको यो तालिमले किसानहरूको सकारात्मक प्रतिक्रिया पाएको छ।





