मनाङबाट प्रदेशसभामा दीपक मनाङे निर्विरोध निर्वाचित हुँदै

0Shares

मनाङबाट प्रदेशसभामा दीपक मनाङे निर्विरोध निर्वाचित हुँदै

लमजुङ — मनाङ प्रदेश ‘२’ बाट स्वतन्त्र उम्मेदवार दीपक मनाङे भनेर चिनिने राजीव गुरुङ निर्विरोध हुने भएका छन् । अर्का स्वतन्त्र उम्मेदवार दोर्जे लामा गुरुङले आफ्नो उम्मेदवारी फिर्ता लिएपछि गण्डकी प्रदेश युवा तथा खेलकुद मन्त्रीसमेत रहेका राजीव गुरुङ निर्विरोध हुने भएका हुन् ।

दोर्जेले बुधबार १० बजेपछि मुख्य निर्वाचन अधिकृतको कार्यालयमा आएर आफ्नो उम्मेदवारी फिर्ताका लागि निवेदन दिएको मुख्य निर्वाचन अधिकृत उत्तम सिलवालले बताए । उनका अनुसार दोर्जेले आफ्नो उम्मेदवारी फिर्ता लिएपछि राजीव गुरुङको एकल उम्मेदवारी रहने र उनीविरुद्ध दाबीविरोध नपरेपछि एकल उम्मेदवारी रहने भएकाले निर्विरोध हुने बताए । ‘उहाँ निर्विरोध हुने पक्कापक्की जस्तै भयो । तर, हामी १ बजेपछि मात्रै औपचारिक रूपमा जानकारी गराउँछौँ,’ उनले भने ।
दोर्जे लामा गुरुङले मंसिर ४ गते हुने निर्वाचनमा प्रदेश ‘२’ का लागि स्वतन्त्र उम्मेदवारी दिएकोमा उक्त पदमा उम्मेदवारी रहेका गण्डकी प्रदेशका खेलकुदमन्त्री राजीव गुरुङ (दीपक मनाङे) लाई पूर्ण रूपमा समर्थन गर्दै आफ्नो उम्मेदवारी फिर्ता लिएर मनाङेलाई सहयोग गर्ने घोषणा बुधबार बिहान फेसबुकमार्फत गरेका थिए ।

राजीवले मनाङ प्रदेश ‘२’ मा एमालेका समर्थनमा स्वतन्त्र उम्मेदवार बनेको बताए । उनले २०७४ को निर्वाचनमा एमालेकै समर्थनमा जितेको र अहिले पनि एमाले समर्थनमै उम्मेदवारी दिएको बताउादै आएका छन् । उनले गण्डकी प्रदेशमा मन्त्री रहे पनि सत्ता गठबन्धन छोडिसकेको बताउादै आएका छन् ।

एमालेकै पहलमा स्वतन्त्र उम्मेदवार दोर्जेलाई उम्मेदवारी फिर्ता गर्न लगाएको एमाले मनाङका सचिव एवं मनाङ प्रदेश ‘१’ का उम्मेदवार राजनबहादुर गुरुङले बताए । ‘हाम्रो पहलमा राजीव गुरुङ र दोर्जे लामा गुरुङबीच छलफल भयो । हामीले फिर्ता लिएर राजीवलाई निर्विरोध गर्न अनुरोध गर्‍यौं । दोर्जेले स्वीकार गर्नुभयो,’ उनले भने, ‘दोर्जेले फिर्ता लिनेबित्तिकै राजीव निर्विरोध हुनेभयो ।’ डेंगु संक्रमित मनाङे भने उपचारका लागि मंगलबार हेलिकप्टरमार्फत काठमाडौं गएका छन् ।

मनाङ प्रदेश ‘२’ मा एमाले र कांग्रेस दुवैले उम्मेदवारी दिएका छैनन् । कांग्रेस मनाङ सचिव सुरेन्द्र गुरुङले राजीव गुरुङ (दीपक मनाङे) लाई समर्थन गर्दै कांग्रेसले उम्मेदवारी नदिएको बताए । ‘सत्ता गठबन्धनले मनाङेलाई सघाएको हो । अरु थाहा भएन,’ उनले भने ।

राजीवले एमालेले टिकट नदिएपछि स्वतन्त्र उठेका उनले एमाले समर्थनमा २०७४ को निर्वाचनमा कांग्रेसका कर्म गुरुङलाई हराएर मनाङ प्रदेश ‘२’ बाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए । मनाङेलाई एमालेले टिकट दिने विषयमा विरोध भएपछि पार्टीले टिकट नदिने र समर्थन गर्ने भएपछि राजीव गुरुङ स्वतन्त्र उम्मेदवार बनेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *