मलेसिया जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षण अब पनि सीमित स्वास्थ्य संस्थाबाट मात्रै हुने भएको छ ।
2026-05-18उभौली पर्व (भूम्या पूजा) थाङ्मी समुदायको मौलिक संस्कृति, पहिचान र एकताको भव्य उत्सव बिगु–८ थाङ्मीचागु तुन्बोन डन्डीमा आयोजना हुने
2026-05-07लिपुलेक विवादः नेपालको दाबीमा भारतको अस्वीकार, ‘ऐतिहासिक आधारहीन’ जिकिर, संवादका लागि खुला रहेको संकेत
2026-05-04
दलबाट टिकट नपाएपछि स्वतन्त्र उम्मेदवार
दलबाट टिकट नपाएपछि स्वतन्त्र उम्मेदवार
सुर्खेत — २०३५ सालदेखि एमालेको सक्रिय राजनीति गरिरहेका पूर्वप्रदेशमन्त्री खड्कबहादुर खत्रीले सुर्खेत १ (१) बाट स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । जिल्ला कमिटी र प्रदेशले आफ्नो नाम सिफारिस गदागर्दै पनि केन्द्रले आफ्नो नाम काटेर दोस्रो व्यक्तिलाई टिकट दिएपछि उनले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन् ।
डोल्पाबाट एमालेकी जिल्ला इन्चार्ज बदमीक्वारी बोहराले पनि स्वतन्त्र उम्मेदवारी दर्ता गराएकी छन् । उनी कर्णाली प्रदेशसभाकी पूर्वसदस्यसमेत हुन् । ‘महिलाले समानुपातिकमै कति थन्किनुपर्ने ?,’ उनले भनिन्, ‘प्रत्यक्षमा महिलाको समान सहभागिता नभएपछि मैले बागी भए पनि उम्मेदवारी दिए ।’ कांग्रेसका प्रदेश सहमहामन्त्री एकराज डाँगी पनि सल्यानबाट प्रदेशसभाका लागि स्वतन्त्र उम्मेदवार बनेका छन् ।
५ पटकसम्म केन्द्रीय महाधिवेशन प्रतिनिधि भएका उनी अघिल्लो चुनावमा समेत प्रदेशसभा सदस्यको निर्वाचन लडेका थिए । ‘केन्द्रले सल्यानलाई हेर्ने दृष्टिकोण फरक पर्यो,’ उनले भने, ‘जहाँ जसको मतदाता नै छैनन् त्यहाँ अन्य पार्टीको जिम्मामा कांग्रेसका मतदातालाई लगाइयो ।’ गठबन्धनका नाममा पटक पटक धोका पाइएपछि निर्वाचनमा होमिएको उनको भनाइ छ ।
कर्णालीमा आफ्नै पार्टीले टिकट नदिएपछि झन्डै ५० जनाले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । स्वतन्त्र उम्मेदवारी दिनेमा विभिन्न ठूला दलमा वर्षौंदेखि क्रियाशील नेतासमेत छन् । सुर्खेतबाट उम्मेदवारी दिएका खत्री २०७४ सालमा कर्णाली प्रदेशको भौतिक पूर्वाधार विकासमन्त्री बनेका थिए भने दुईपल्ट गाविस अध्यक्ष भइसकेका व्यक्ति हुन् । ‘मेरो योग्यता नपुगेकाले टिकट खोसिएको हो भने २ पटक गाविस अध्यक्ष हुँदै पार्टीको विभिन्न सघसंगठनमा जिम्मेवारी किन दिइयो ?,’ उनले भने, ‘भूगोलमा सिफारिस नभएका व्यक्तिलाई टिपेर टिकट थमाइयो ।’ सुर्खेतमा प्रदेशसभातर्फत १२ जनाले स्वतन्त्र उम्मेदवार दिएका छन् भने प्रतिनिधिसभाका लागि ५ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
एकीकृत समाजवादीका जिल्ला इन्चार्ज मोहन बडुवालले गठबन्धन लत्याउँदै आफ्नो उम्मेदवारी दर्ता गराएको बताए । दैलेखमा पनि कांग्रेसका केन्द्रीय महाधिवेशन प्रतिनिधि राजेश शाहीले प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका छन् । ठूला नेतासँग हिमचिम भएकै आधारमा आफूभन्दा जुनियरहरूले पटकपटक अवसर प्राप्त गर्दा पनि आफ्नो मूल्यांकन नभएपछि स्वतन्त्र उम्मेदवारी दिएको उनले बताए ।
एकीकृत समाजवादीका नेता टेकबहादुर खाँणले पार्टीले आफूहरूको सधैं अपमान गर्न थालेपछि बाध्य भएर स्वतन्त्र उम्मेदवारी दिनुपरेको बताए । उनले प्रदेशसभातर्फ उम्मेदवारी दर्ता गराएका छन् । उनी पार्टीका केन्द्रीय सदस्यसमेत हुन् । दैलेखबाट प्रदेशसभातर्फ ५ जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन् भने प्रतिनिधिसभातर्फ ३ जनाले मनोनयन दर्ता गराएका छन् ।
रुकुम पश्चिममा नेपाल विद्यार्थी संघका पूर्वउपाध्यक्ष तथा कांग्रेसका केन्द्रीय महाधिवेशन प्रतिनिधि खड्कबहादुर डाँगीले प्रदेश १ ‘२’ बाट स्वतन्त्र उम्मेदवारी दिएका छन् । २०७४ सालमा पनि १ ‘२’ बाटै प्रत्यक्ष निर्वाचन लडेका उनले योपल्ट पार्टीको राजनीतिक अस्थित्व जोगाउन उम्मेदवारी दिएको बताए । ‘पहिले नेकपाको गठबन्धन हुँदा कांग्रेसबाट चुनावमा कोही व्यक्ति पनि लड्न चाहेनन्, कांग्रेसको इज्जत राख्न म उम्मेदवार बनेको थिए, तर पराजय भए,’ उनले भने, ‘यसपालि मेरो टिकट पक्का थियो, तर गुटको सिकार भए, काग्रेस भएर पनि आफ्नो चुनाव चिह्नमा भोट हाल्न पाइन्न भने किन बस्ने भनेर स्वतन्त्र उम्मेदवारी दिएको हुँ ।’ जुम्लामा कांग्रेसका पूर्वपार्टी सभापति दीपबहादुर शाही पनि स्वतन्त्र उम्मेदवार बनेका छन् ।
जहाँ कांग्रेस महाधिवेशन प्रतिनिधि धनबहादुर बस्नेत र देवेन्द्रबहादुर शाहीले पनि स्वतन्त्र उम्मेदवारी दिएका छन् । माओवादीका नेता डा. कलबहादुर रोकाय पनि चुनावी मैदानमा छन् । कर्णालीभरि १ सय २८ जनाले प्रतिनिधिसभामा उम्मेदवारी दिएकोमा स्वतन्त्र ४३ जना र प्रदेशतर्फ २ सय २१ जनाले मनोनयन दर्ता गराएकोमा स्वतन्त्र ६१ जनाको उम्मेदवारी परेको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ ।






