काठमाडौंमा अब कक्षा ८ सम्मै दिवा खाजा

0Shares

काठमाडौंमा अब कक्षा ८ सम्मै दिवा खाजा

काठमाडौँ — काठमाडौं महानगरपालिकाले नगर क्षेत्रभित्रका सामुदायिक विद्यालयका कक्षा ८ सम्मकै बालबालिकालाई दिवा खाजाको व्यवस्था गर्ने भएको छ । त्यसका लागि प्रतिविद्यार्थी दैनिक २५ रुपैयाँ छुट्याइएको छ । संघीय सरकारले देशभरका सामुदायिक विद्यालयका कक्षा ६ सम्मका बालबालिकालाई दिवा खाजा खुवाउन प्रतिविद्यार्थी दैनिक १५ रुपैयाँ बजेट विनियोजन गर्दै आएको छ ।

महानगरको कार्यपालिका बैठकले संघीय सरकारले उपलब्ध गराउने रकममा १० रुपैयाँ थपेर खाजाको बजेट २५ रुपैयाँ पुर्‍याउने निर्णय गरेको हो । जसअनुसार महानगरको शिक्षा विभागले असोजदेखि नै उक्त निर्णय कार्यान्वयन गर्न विद्यालयहरूलाई सर्कुलर गरेको छ ।
महानगरभित्र ८९ सामुदायिक विद्यालय छन् । जहाँ ५० हजार विद्यार्थी पढ्छन् । त्यसमध्ये पनि कक्षा ८ सम्मका करिब ३५ हजार विद्यार्थीले २५ रुपैयाँका दरले दैनिक खाजा खान पाउने महानगर शिक्षा विभाग प्रमुख रामप्रसाद सुवेदीले बताए ।

‘यो शीर्षकमा महानगरले चालु वर्षमा ९ करोड बजेट छुट्याएको छ । शिक्षा मन्त्रालयले महानगरका विद्यालयका हकमा साढे ४ करोड रुपैयाँ विनियोजन गरेको छ,’ उनले भने, ‘अब कक्षा ६ सम्मका विद्यार्थीलाई खाजा खुवाउन प्रतिविद्यार्थी १० रुपैयाँ थप्ने र कक्षा ७ र ८ का विद्यार्थीलाई लाग्ने सबै २५ रुपैयाँ महानगरले नै व्यवस्था गर्नेछ ।’ सामुदायिक विद्यालयमा विद्यार्थी आकर्षण गर्न बजेट थप र कक्षा विस्तारसमेत गरिएको उनको भनाइ छ ।

हाल चाइना फाउन्डेसनले महानगरका १२ विद्यालयमा खाजा खुवाउँदै आएको छ । विभिन्न गैरसरकारी संघ–संस्थाको सहयोगमा अन्य केही विद्यालयमा पनि दिवा खाजा कार्यक्रम सञ्चालनमा छ ।

सरकारले भने विद्यालय खुल्ने वार्षिक १ सय ८० दिनका लागि दिवा खाजा बजेट उपलब्ध गराउँदै आएको छ । सरकारले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममार्फत क्रमशः कक्षा ८ सम्मकै बालबालिकालाई दिवा खाजा खुवाउने घोषणा गरेको थियो । जसअनुसार बजेट वक्तव्यमा कक्षा ६ सम्म दिवा खाजा कार्यक्रम थप गरिएको हो । अहिले महानगरका सामुदायिक विद्यालयमा छठसम्मका लागि बिदा दिइएको छ ।

विद्यालय खुलेपछि २५ रुपैयाँका दरले ८ कक्षासम्मकै विद्यार्थीलाई खाजा खुवाउने कार्यक्रम सुरु हुने सुवेदीले बताए । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले खाजाका ६० प्रकार समेटेर ‘मेन्यु’ बनाए पनि विद्यालयले जंक फुड (पत्रु खाना) समेत खुवाउने गरेको र कार्यक्रमको बजेटमा अनियमिमता हुने गरेको गुनासो छ । तर, सुवेदी भने कक्षा ६ सम्मका विद्यार्थीलाई तोकिएको मापदण्डअनुसार खाजा खुवाएको–नखुवाएको लगायतबारे स्रोत व्यक्ति र विद्यालय निरीक्षकले अनुगमन गर्दै आएको दाबी गर्छन् ।

मुलुकभर जस्तै काठमाडौं महानगरमा पनि विद्यालयको संख्या घट्दो छ । पछिल्लो पटक समायोजन भएर विद्यालयको संख्या ९४ बाट ८९ मा झरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *