मलेसिया जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षण अब पनि सीमित स्वास्थ्य संस्थाबाट मात्रै हुने भएको छ ।
2026-05-18उभौली पर्व (भूम्या पूजा) थाङ्मी समुदायको मौलिक संस्कृति, पहिचान र एकताको भव्य उत्सव बिगु–८ थाङ्मीचागु तुन्बोन डन्डीमा आयोजना हुने
2026-05-07लिपुलेक विवादः नेपालको दाबीमा भारतको अस्वीकार, ‘ऐतिहासिक आधारहीन’ जिकिर, संवादका लागि खुला रहेको संकेत
2026-05-04
नयाँ अनुहार–४ : युग पाठक : ओलीसँग झापा–५ मा भेटौंला’
२१ भदौ, काठमाडौं । लेखक, विश्लेषक र अभियन्ताको परिचय बोकेका युग पाठकले यतिखेर आफ्नो परिचयमा ‘स्वतन्त्र उम्मेदवार’को अर्को नयाँ विशेषण थपेका छन् । एमाले अध्यक्ष केपी ओलीका कटु आलोचक दरिएका पाठकले ओलीसँग चुनावी मैदानमा प्रतिस्पर्धा गर्ने घोषणा गरेका छन् ।
२०७४ मा झापा–५ बाट ५७ हजार मतसहित चुनाव जितेका ओलीसँग ‘ब्यालेट बक्स’ सेयर गर्न कस्सिएका पाठकले आफ्नो बाल्यकाल झापामै बिताएका हुन् । झापा पृथ्वीनगरको भद्रपुर हाइस्कुलबाट स्कुले शिक्षा सिध्याएका पाठक आफूले झापाको सामाजिक बनोट र संरचना बुझेको दाबी गर्छन् ।
भन्छन्, ‘मैले मेरो बाल्यकाल झापामा बिताएको हुँ । मलाई त्यहाँको सामाजिक संरचना, बनोटका बारेमा राम्रो जानकारी छ ।’
सामाजिक बनोटको जानकारीले मात्र चुनाव जित्न सकिंदैन भन्ने तथ्यसँग अपरिचित छैनन् पाठक । गएका पाँच वर्षमा नेपाली राजनीतिको केन्द्रमा रहेका ओलीलाई पराजित गरेर इतिहास रच्न सजिलो हुनेछैन भन्ने सत्यसँग पनि पाठक जानकारै छन् । यी कठिनाइका बाबजुद पनि पाठकले ओलीसँग चुनावी मैदानमा उत्रिने हिम्मत किन गरे त ?
जवाफमा पाठक भन्छन्, ‘गणतन्त्र आइसकेपछिका १५ वर्षमा राजनीतिलाई जुन दिशामा लैजान सकिन्थ्यो त्यस दिशामा लैजान नदिने । अप्ठ्यारो ठाउँमा अक्कर थापेर झुलाइराख्ने, संसद विघटन गर्ने र जनताको सपनामाथि खेलबाड गर्ने काम केपी ओलीले गर्नुभयो । राजनीति र मुलुकलाई संकटग्रस्त बनाउने महत्वपूर्ण पात्र र कारण ओली हुन् । त्यसकारण उहाँसँग चुनाव लडियो भने राजनीति सङ्ल्याउनका लागि पहल लिन सकिन्छ भन्ने मेरो बुझाइ हो ।’
जनताप्रति उत्तरदायी लोकतन्त्रको कल्पना गरिए पनि त्यो पूर्ति नभएको उनको बुझाइ छ । लोकतन्त्र र राजनीतिलाई जनतामुखी बनाउन आफू लेखनीको संसारबाट राजनीतिको दुनियाँमा प्रवेश गर्न लागेको बताउँछन् पाठक । उनी भन्छन्, ‘हामीले कल्पना गरेजस्तो लोकतन्त्र दलहरूले बनाउन सकेनन् भन्ने सबैले महसुस गरे । त्यसैले दलहरूप्रति जनतामा निराशा छ । जनतालाई राजनीति लुटिखाने धन्दा हो भन्ने परेको छ । त्यसैले राजनीतिलाई जनताको राजनीति बनाउन मैले उम्मेदवारी दिएको हुँ ।’
विकास, सु–शासन, समृद्धिका एजेण्डाले चुनावी माहोल बनाइरहेको यो समयमा पाठक भने विचारको भारी बोकेर झापाको चुनावी मैदानमा उत्रिने तयारी गरिरहेका छन् ।
वर्तमान समयमा दलहरूले बोकेका विचार र सिद्धान्त अपुरो भएको उनको ठम्याइ छ । त्यसैले उनको आफ्नो घोषणापत्रलाई घोषणापत्र नभनिकन ‘उजेलुसन’ भनेका छन् ।
यसलाई अर्थ्याउँदै उनी भन्छन्, ‘हामीले अहिलेसम्म भनेका वामपन्थी/दक्षिणपन्थी/पूँजीवादी सबै युरोपियन ज्ञान कारखानाबाट विकसित भएका हुन् । यिनको जन्म त्यही भएको हो । अब हामीलाई हाम्रो देशमा यी सबैको बीचबाट नयाँ र भिन्न वैचारिकी चाहिएको छ । यो भनेका यी सबै वैचारिकीबाट लाभा जस्तो बीचबाट निस्केर आउने हो ।’
‘उर्गेनको घोडा’, ‘माङगेना : नेपाल मन्थन’ र ‘युमा’ जस्ता पुस्तक लेखेका पाठकले उपन्यास ‘घाचर घोचर’ नेपाली भाषामा अनुवाद पनि गरेका छन् । लेखकीय जीवनको सुरुवाती कालखण्डमा ‘वाम’ परिचय बोकेका पाठक अहिले आफूलाई वामपन्थी वा दक्षिणपन्थी केही पनि भन्न रुचाउँदैनन् ।
यी दुवै विचार युरोपियन ज्ञानशालाबाट उत्पादित भएको बताउँदै उनी आफ्नो निष्कर्ष सुनाउँछन्, ‘यी दुवै विचारधाराले जन्माएको विकास, ज्ञान वा केही पनि हाम्रो समाजको जरासँग गएर जोडिएन । यसले हाम्रो समाजको जरा समाएन ।’
संसार हाँकिरहेका यी वैचारिकी अपुरा, अधुरा भए भन्ने निष्कर्षमा पाठक कसरी पुगे ? कारण तथा आधार खुलाएर उनले आफ्नो ‘उजेलुसन’ तयार पारेका छन् ।
२०५४ सालमा लोकसेवा पास गरेर सरकारी जागिरको सुरक्षित बाटोमा हिंडिसकेका पाठकले जागिर छाडेर आफूलाई अभियन्ता र लेखक बनाए । संसारका धेरै देशका लेखक सामेल भएको ‘अफ्रिकन, एशियन ल्याटिन अमेरिकन राइटर्स युनियन’का अध्यक्ष पनि हुन्, पाठक ।
यी तमाम परिचय र जिम्मेवारीले समेत नपुगेर उनी यतिखेर राजनीतिको अक्करे बाटोमा हिंडाउन आफूलाई तयार पारिरहेका छन् । राजनीतिमा आउने निर्णय आफूले सोचविचार गरेरै लिएको बताउँछन्, पाठक । उनलाई राजनीतिको पोखरीमा हाम फाल्न लगाउने धेरै कारणमध्ये एउटा हो ‘सपना ।’ उनलाई लाग्छ नेपाली समाजसँग सपना छैनन् । नेपाली समाजले सपना देख्न छाडेको निकै भइसक्यो । नेपाली राजनीतिज्ञ र दलसँग सपना जन्माउने विचार छैनन् ।
पाशको कविता जस्तै ‘सबैभन्दा खतरनाक हुन्छ सपना नहुनु ।’ समाजलाई सपना पनि देख्न नसक्ने गरी राजनीतिक दल र तिनका नेतृत्वले कुँजो बनाएको पाठकको बुझाइ छ । भन्छन्, ‘यो समाजमा बसेर सपना देख्न सक्छु भन्ने विश्वास कसैलाई छैन । सपना देख्नलाई पनि युरोप, अमेरिका नै जानुपर्ने भयो । युरोप अमेरिका जानु नै सपना भयो ।’
राष्ट्रवादको गफ हाँक्ने नेपाली समाज सपनाहीन हुँदै गएकोमा चिन्ता गरिरहने पाठक नेपाली समाजलाई फेरि सपना देख्ने लायक बनाउन चाहन्छन् ।
‘मान्छेलाई नेपालमै बसेर आफ्नो ठाउँ बनाउन सक्छु । आफ्नो जीवन सुन्दर बनाउन सक्छु भन्ने आत्मविश्वास नै छैन भने यो जति दर्दनाक कुरा के होला ?’ पाठक प्रश्न गर्छन् । नेपाली समाजमा चल्तीको राष्ट्रवादलाई पाठक सपना र जीवन नभएको खोक्रो राष्ट्रवाद भन्छन् ।
समाजलाई स्वप्निल र आफ्नो भविष्यप्रति आत्मविश्वासी बनाउन कृषि र किसानलाई प्राथमिकताको पहिलो सूचीमा राख्नुपर्ने उनको भनाइ छ । भन्छन्, ‘मान्छे मेसिन खाएर बाँच्न सक्दैन । तर, खानेकुरा फलाउने किसान सबैभन्दा अपहेलित भएको छ ।’
मानव सभ्यताको जग मानिने कृषिलाई नेपाली समाजले आफ्नो विचार र दिमागबाट उन्मूलन गरिसकेको पाठकको ठम्याइ छ । उनी भन्छन्, ‘हाम्रो सामाजिक र वैचारिकीबाट कृषि त उन्मूलन भइसक्यो, अहिले कृषि गरिरहेका मानिस पनि व्यावहारिक बाध्यताले गरिरहेका छन् ।’
कृषि, शिक्षा, स्वास्थ्य जीवनका लागि आधारभूत संयन्त्रलाई सबल बनाउने वैचारिकी तयार पारेर आफू चुनावी मैदानमा होमिएको बताउँछन् पाठक । ‘सबैभन्दा पहिला त किसानलाई सबल बनाउन वैदेशिक रोजगारीलाई रोकौं । तर, अहिलेका दल र तिनका विचारले केही गर्दैनन्’, पाठक सुनाउँछन् ।
राजनीतिक दल र तिनका नेतामा केन्द्रित भएको राजनीतिलाई जनताकेन्द्रित बनाउने आफ्नो योजना रहेको बताउँछन्, पाठक । ‘राजनीति जनताकेन्द्रित भएन । त्यसैले हाम्रो शिक्षा, स्वास्थ्य र विकास केही पनि जनताकेन्द्रित भएन’, पाठक भन्छन् ।
आफूले हरेक चिज जनताकेन्द्रित बनाउन चाहेको उनले सुनाए । संसदमा पुगेर आफूले कानून नभई जनताकेन्द्रित ज्ञान निर्माणमा जोड दिने उनको वाचा छ ।
‘संसद् देश चलाउनका लागि चाहिने ज्ञान निर्माण गर्ने ठाउँ हो । कानुन मात्र बनाउने ठाउँ होइन संसद्’ पाठक भन्छन्, ‘ज्ञानलाई कसरी लागु गर्ने भनेर कानून बनाउने हो ।’
देश र जनताको सुविस्ताका लागि गहन विमर्श, छलफल, चिन्ता र चासो हुनुपर्ने संसदमा पाँच वर्षमा केही नभएको उनको भनाइ छ । ‘हाइफाइ कुरामा दलहरूले ह्विप लगाएर राखे । अधिकांश समय सांसद संसद्को बैठकमा देखा पर्दैनन् । देखिएछन् भने पनि कुनाको कुर्सीमा बसेर निदाउँछन्’ पाठक आक्रोशित सुनिन्छन्, ‘अनि यस्तो संसद्सँग कसैलाई झोंक चल्यो विघटन गरेका छन् । जुन संसद्ले देश चलाउने ज्ञान बनाउनुपर्ने थियो त्यही संसद् ज्ञानशून्य भयो ।’
संसद्का लागि आफू सानो दियो हुन सक्छु भन्ने उनको आत्मविश्वास छ । सुनाउँछन्, ‘ज्ञान बनाउने थलोमा एउटा दियो बोकेर जाने हो । दियो बाल्ने हो । र, समाज उज्यालो बनाउने हो ।’
त्यसैले त उनी विचारबाटै राजनीति सुरु गर्ने ध्याउन्नमा छन् । कमजोर वैचारिक धरातलका कारण राजनीतिक दलहरू कमजोर भएको र वैचारिकीको अभावमा आफूलाई ‘वैकल्पिक’ दाबी गर्नेहरू असफल भएको उनको बुझाइ छ ।
पाठक भन्छन्, ‘विचार चाहिंदैन, विकास चाहिन्छ भन्ने धारणाले नै संकट पैदा गरेको हो । विकास पनि कुन विचारबाट प्रेरित छ भन्ने कुराले अर्थ राख्छ । अहिले हामीले अभ्यास गरिरहेको विचार र विकास दुवैले जनताको जीवनलाई छुँदै छुँदैन ।’
विचार र विकासको मौलिक अवधारणाको अभावमा राज्यका हरेक अंग, समाजका हरेक अवयव असफल भएको उनको बुझाइ छ ।
देशभर बढ्दै गएको अव्यवस्थित शहरीकरणको उदाहरण दिंदै पाठक भन्छन्, ‘काठमाडौं, दमकलगायत देशमा दलालहरूले मनलाग्दी शहरीकरण गरे त्यसैले यो व्यवस्थित छैन । यस्तो शहरीकरण जनताको आवश्यकता थिएन । अब हामीले जनताको पहलमा, जनताका संस्थाले, जनताको आवश्यकताका आधारमा राजनीतिक प्रणाली बनाउने हो ।’
‘होलटाइमर’ लेखक पाठक आफू राजनीतिमा आएपछि लेखपढमा अरू बेला भन्दा बढ्ता सक्रिय हुने बताउँछन् । राजनीति गर्नेले विचार निर्माणको काम गर्नुपर्ने भएकाले उसले अरूले भन्दा बढ्ता लेखपढ गर्नुपर्ने उनको भनाइ छ । ‘लेखनीबाट साइड लाग्ने होइन । अब त झन् बढ्ता लेखपढ गर्नुपर्छ । लेखपढ नै नगरी नयाँ ज्ञान र विचार त निर्माण हुँदैन ।’
स्वतन्त्र उम्मेदवारहरूले ‘गठबन्धन’ बनाउने योजना पनि बनाइरहेका छन् । तर, पाठक भने विचारसहितको गठबन्धनमा मात्र आफू सामेल हुने बताउँछन् । विचारविहीन गठबन्धनमा आफू सामेल नहुने उनले सुनाए । ओलीसँग चुनावमा आमने–सामने हुन खोजिरहेका पाठक ओलीसँग झापाको चुनावी मैदानमै भेट्ने योजनामा छन् ।






