खिम्ती–ठोसे–शिवालय जलाशययुक्त आयोजना अघि बढाउन ३ करोड बजेट विनियोजन ।।।

0Shares

खिम्ती–ठोसे–शिवालय जलाशययुक्त आयोजना अघि बढाउन ३ करोड बजेट विनियोजन

१४ नोभेम्बर २०२६, शनिबार

काठमाडौँ। रामेछापको आर्थिक तथा सामाजिक विकाससँग जोडिएको १ हजार २१६ मेगावाट क्षमताको खिम्ती–ठोसे–शिवालय बृहत् जलाशययुक्त बहुउद्देश्यीय आयोजना अघि बढाउन ऊर्जा मन्त्रालयले ३ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ।

प्रतिनिधिसभा अन्तर्गत अर्थ समितिका सभापति डा. कृष्णहरि बुढाथोकीको पहलमा उक्त आयोजना योजनामा समावेश हुनुका साथै अध्ययन, अनुसन्धान, वातावरणीय पक्षको विश्लेषण तथा प्रारम्भिक प्रक्रिया अघि बढाउन बजेट विनियोजन गरिएको हो।

आयोजनालाई शीघ्र अघि बढाउने विषयमा सभापति बुढाथोकीले शुक्रबार ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठसँग छलफल गर्नुभएको छ। छलफलका क्रममा उहाँले विनियोजित बजेटको प्रभावकारी कार्यान्वयन गर्दै अध्ययन तथा अनुसन्धान, वातावरणीय प्रभाव मूल्याङ्कन र सरोकारवालासँग आवश्यक छलफल तथा अन्तरक्रियाका कार्यक्रमलाई तीव्रता दिन आग्रह गर्नुभएको थियो।

त्यसैगरी, आयोजना अघि बढाउन मन्त्रालयबाट आवश्यक पहल र सहजीकरण गर्न पनि उहाँले ध्यानाकर्षण गराउनुभएको छ।

प्रस्तावित आयोजना विद्युत् उत्पादनमा मात्र सीमित नभई सिँचाइ, खानेपानी, पर्यटन प्रवर्द्धन, रोजगारी सिर्जना तथा स्थानीय आर्थिक गतिविधि विस्तारका दृष्टिले समेत महत्वपूर्ण मानिएको छ।

आयोजना कार्यान्वयनमा आउन सके रामेछापको आर्थिक तथा सामाजिक विकासमा उल्लेखनीय योगदान पुग्नुका साथै मुलुकको ऊर्जा उत्पादन, लगानी विस्तार र राष्ट्रिय अर्थतन्त्रमा समेत सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ।

सभापति डा. बुढाथोकीले खिम्ती–ठोसे–शिवालय आयोजनालाई अध्ययनको चरणबाट कार्यान्वयनको चरणसम्म पुर्‍याउन निरन्तर पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।

थाङ्मीचागु डटकम

Leave a Reply

Your email address will not be published. Required fields are marked *