नेपाल थामी समाज मलेसियाद्वारा दिवंगत सरस थामीको परिवारलाई १ लाख २५ हजार रुपैयाँ आर्थिक सहयोग हस्तान्तरण !!!

3Shares

नेपाल थामी समाज मलेसियाद्वारा दिवंगत सरस थामीको परिवारलाई १ लाख २५ हजार रुपैयाँ आर्थिक सहयोग हस्तान्तरण

२९ कार्तिक २०८३, आइतबार
सम्बाददाता : थाङ्मीचागु डटकम

दोलखा । मलेसियामा निधन भएका दोलखाको बिगु गाउँपालिका–६, आलम्पु निवासी सरस थामीको परिवारलाई नेपाल थामी समाज मलेसियाले १ लाख २५ हजार २४० रुपैयाँ आर्थिक सहयोग हस्तान्तरण गरेको छ।

एके थामीका कान्छा छोरा सरस थामीको मलेसियामा निधन भएपछि उहाँको पार्थिव शरीर नेपालस्थित घरसम्म ल्याउन तथा शोकसन्तप्त परिवारलाई आर्थिक राहत उपलब्ध गराउने उद्देश्यले नेपाल थामी समाज मलेसियाले आर्थिक सहयोग सङ्कलन अभियान सञ्चालन गरेको थियो।

समाजको आह्वान तथा संयोजनमा सञ्चालित उक्त अभियानमार्फत नेपाल, मलेसियालगायत विभिन्न स्थानमा रहेका थामी समुदायका सदस्य तथा सहयोगी मनहरूबाट नेपाली रुपैयाँ ७३ हजार ३४० र मलेसियन रिङ्गिट १ हजार ४०५ सङ्कलन भएको थियो। सङ्कलित मलेसियन रिङ्गिटलाई प्रतिरिङ्गिट ३६ रुपैयाँ ९४ पैसाका दरले रूपान्तरण गर्दा कुल १ लाख २५ हजार २४० रुपैयाँ ७० पैसा बराबरको रकम जुटेको हो।

सङ्कलित आर्थिक सहयोग दिवंगत सरस थामीका बुवा, आमा तथा परिवारका अन्य सदस्यहरूको उपस्थितिमा हस्तान्तरण गरिएको हो। दुःखको यस घडीमा परिवारलाई आर्थिक राहत पुर्‍याउने उद्देश्यले सञ्चालित यस अभियानले प्रवासमा रहेर पनि आफ्नो समुदायप्रतिको सामाजिक उत्तरदायित्व, मानवीय संवेदना र सामुदायिक एकतालाई उजागर गरेको छ।

रकम हस्तान्तरण कार्यक्रममा बिगु गाउँपालिकाका कार्यपालिका सदस्य तथा वडा नं. ६ की वडा सदस्य ज्योति थामी, नेपाल थामी समाज मलेसियाका कोषाध्यक्ष नीर बहादुर थामी, कालिञ्चोक माध्यमिक विद्यालय, थाङ्मीचागुका विद्यालय व्यवस्थापन समिति अध्यक्ष विक्रम ठान्टी, थामीचागु युवा क्लबका प्रतिनिधि तथा समाजसेवी प्रकाश थामी, निको एकता समाज परिवर्तनशील युवा क्लबका अध्यक्ष प्रेम थामी, युवा समाजसेवी सोहन ठान्टी (सेते थामी) तथा भेटेरिनरी कर्मचारी एवं समाजसेवी संगीता थामीको उपस्थिति रहेको थियो।

यस मानवीय अभियानमा आर्थिक सहयोग प्रदान गर्ने सम्पूर्ण दाताहरू तथा अभियानलाई सफल बनाउन प्रत्यक्ष–अप्रत्यक्ष रूपमा योगदान पुर्‍याउने महानुभावहरूप्रति नेपाल थामी समाज मलेसियाले हार्दिक धन्यवाद तथा आभार व्यक्त गरेको छ।

समाजले दुःखको यस कठिन घडीमा सहयोग, सद्भाव र सहकार्यका साथ उभिने सम्पूर्ण सहयोगी मनहरूप्रति सम्मान व्यक्त गर्दै दिवंगत सरस थामीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको छ। साथै, शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना प्रकट गरेको छ।

मानवता नै धर्म हो, एकता नै हाम्रो शक्ति हो।

सम्बाददाता : थाङ्मीचागु डटकम

थाङ्मीचागु डटकम | सत्य, तथ्य, निष्पक्ष खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *