भोटेकोसी बाढी प्रभावित बालबालिकाका लागि सुनिश्चित भविष्य छात्रवृत्ति योजना घोषणा

0Shares

भोटेकोसी बाढी प्रभावित बालबालिकाका लागि सुनिश्चित भविष्य छात्रवृत्ति योजना घोषणा

थाङमिचागु डटकम संवाददाता
चरिकोट दोलखा

काठमाडौं । नेपाल सरकारले रसुवा–भोटेकोसी बाढीसहित विभिन्न विपद्बाट प्रभावित बालबालिकाको शिक्षामा अवरोध हुन नदिन ‘सुनिश्चित भविष्य छात्रवृत्ति योजना’ घोषणा गरेको छ।

बाढी तथा अन्य विपद्का कारण अभिभावक गुमाएका र आर्थिक रूपमा प्रभावित बालबालिकाको शिक्षालाई निरन्तरता दिने उद्देश्यले सरकारले उक्त छात्रवृत्ति योजना अघि सारेको हो।

योजनाअन्तर्गत दुवै अभिभावक गुमाएका बालबालिकालाई पहिलो प्राथमिकता दिइनेछ भने एक जना अभिभावक गुमाएका तथा विपद्का कारण आर्थिक कठिनाइमा परेका विद्यार्थीलाई पनि प्राथमिकताका आधारमा छात्रवृत्ति उपलब्ध गराउने व्यवस्था गरिएको जनाइएको छ।

छात्रवृत्तिअन्तर्गत आवश्यकता र अवस्थाअनुसार आवासीय, पूर्ण वा आंशिक छात्रवृत्ति उपलब्ध गराउने योजना रहेको छ। प्रारम्भिक चरणमा रसुवा–भोटेकोसी बाढीबाट प्रभावित विद्यार्थीलाई प्राथमिकतामा राखिने बताइएको छ।

सरकारले निजी तथा संस्थागत शैक्षिक क्षेत्रसँग समेत सहकार्य गर्दै प्रभावित बालबालिकाको शिक्षालाई निरन्तरता दिने जनाएको छ। यसका लागि विभिन्न शैक्षिक संस्थाहरूले सरकारसँग सहकार्य गर्ने प्रतिबद्धता जनाएका छन्।

विपद्का कारण बालबालिकाको शिक्षा बीचमै रोक्न नपरोस् भन्ने उद्देश्यले ल्याइएको यस योजनाले प्रभावित विद्यार्थी तथा परिवारलाई राहत पुग्ने अपेक्षा गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *