विश्वका सञ्चारमाध्यममा नेपालको बाढीप्रकोप ब्रेकिङदेखि गहन विश्लेषणसम्म ।।।

0Shares

विश्वका सञ्चारमाध्यममा नेपालको बाढीप्रकोप : ब्रेकिङदेखि गहन विश्लेषणसम्म

काठमाडौं, ११ भदौ २०८३ । रसुवाको तिमुरे–रसुवागढी क्षेत्रमा २६ अगस्टमा आएको विनाशकारी आकस्मिक बाढीले विश्वका प्रमुख सञ्चारमाध्यममा प्रमुखता पाएको छ।

बीबीसी, रोयटर्स, द गार्जियन, सीएनएन, अलजजिरा, ग्लोबल टाइम्स, द टाइम्स र फाइनान्सियल टाइम्सलगायत अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले बाढीबाट भएको जनधन तथा भौतिक क्षतिलाई प्राथमिकताका साथ समाचार बनाएका छन्।

बाढीले नेपाल–चीन सीमा क्षेत्रका बस्ती, सडक, पुल, जलविद्युत् आयोजना तथा व्यापारिक पूर्वाधारमा ठूलो क्षति पुर्‍याएको विषयलाई अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उजागर गरेका छन्। प्रारम्भिक समाचारमा मृत्यु, बेपत्ता र भौतिक क्षतिलाई केन्द्रमा राखिए पनि पछिल्ला रिपोर्टहरूमा बाढीको सम्भावित वैज्ञानिक कारण र जलवायु परिवर्तनसँगको सम्बन्धबारे समेत विश्लेषण गरिएको छ।

रोयटर्सलगायत सञ्चारमाध्यमले उच्च हिमाली क्षेत्रमा हिमनदी तथा चट्टानको ठूलो भाग भत्किएर नदीमा खस्दा बरफ, चट्टान र अवसादसहितको शक्तिशाली बहाव उत्पन्न भएको हुनसक्ने वैज्ञानिक विश्लेषण प्रस्तुत गरेका छन्।

बीबीसीले घटनाको तथ्य जाँचसँगै बाढी प्रभावित क्षेत्र, पर्यटक तथा उद्धार अवस्थाबारे समाचार दिएको छ। सीएनएनले बाढीको दृश्यात्मक क्षति तथा हिमाली क्षेत्रमा बढ्दो जोखिमबारे विशेषज्ञहरूको धारणा प्रस्तुत गरेको छ।

अलजजिराले नेपालसँगै तिब्बततर्फ परेको प्रभावलाई समेत समेट्दै घटनालाई सीमापार मानवीय विपत्तिका रूपमा प्रस्तुत गरेको छ। चीनको ग्लोबल टाइम्सले भने नेपाल–चीन सीमा क्षेत्रमा भएको क्षति, उद्धार तथा चिनियाँ पक्षको प्रतिक्रियालाई प्राथमिकता दिएको छ।

बेलायती सञ्चारमाध्यमले विदेशी पर्यटक तथा बेलायती नागरिकको अवस्थालाई विशेष प्राथमिकतामा राखेका छन् भने भारतीय सञ्चारमाध्यमले भारतीय पर्यटक तथा कैलाश मानसरोवर यात्रामा रहेका तीर्थयात्रीको सुरक्षालाई केन्द्रमा राखेका छन्।

विश्व सञ्चारमाध्यमको समग्र कभरेजमा सुरुमा ‘भीषण बाढी’का रूपमा आएको घटना क्रमशः हिमनदी, पहिरो, जलवायु परिवर्तन र हिमाली क्षेत्रमा बढ्दो प्राकृतिक जोखिमसँग जोडिएको गम्भीर विपत्तिका रूपमा विश्लेषण हुन थालेको देखिन्छ।

रसुवा बाढीले नेपालका हिमाली क्षेत्रमा विपद् पूर्वसूचना प्रणाली, उद्धार तयारी र सीमापार विपद् व्यवस्थापनलाई थप प्रभावकारी बनाउनुपर्ने आवश्यकता समेत औँल्याएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *