​सिराहाको ऐतिहासिक उत्तराहनी धाम संकटमा: मन्दिर जीर्ण, परिसरमा फोहोरको डंगुर ।।।

0Shares

​सिराहाको ऐतिहासिक उत्तराहनी धाम संकटमा: मन्दिर जीर्ण, परिसरमा फोहोरको डंगुर ।।।

विनोद अविरल,​सिराहा, मंसिर १३ ।
सिराहा जिल्लाको कर्जनहा नगरपालिका वडा नं. १ स्थित ऐतिहासिक तथा धार्मिक महत्व बोकेको पवित्र उत्तराहनी धाम अहिले संरक्षण र व्यवस्थापनको अभावमा संकटमा परेको छ । एकातिर धाम परिसरमा फोहोर व्यवस्थापन हुन सकेको छैन भने अर्कोतिर मुख्य मन्दिर नै जीर्ण अवस्थामा पुग्दा समेत सरोकारवाला निकाय बेखबर बनेका छन् ।


कमला नदीको तटमा अवस्थित र ‘बाबाको धाम’ का रूपमा परिचित यस पवित्र स्थलमा टाढा–टाढाबाट भक्तजनहरू दर्शन तथा स्नानका लागि आउने गर्छन् । तर, मन्दिर परिसरमा प्लास्टिक, पुराना कपडा, र पूजा सामग्रीहरू जथाभावी फालिँदा फोहोरको डंगुर लागेको छ । फोहोर व्यवस्थापनका लागि उचित प्रबन्ध नहुँदा र नियमित सरसफाइ नगरिँदा मन्दिर क्षेत्र दुर्गन्धित बन्न थालेको छ, जसले भक्तजनहरूको स्वास्थ्य र धामको पवित्रतामा प्रत्यक्ष असर पारिरहेको छ ।


फोहोरको समस्यासँगै धामको मुख्य मन्दिरको भौतिक अवस्था अत्यन्तै नाजुक बनेको छ । वर्षौं पुरानो मन्दिरको पर्खालहरू चर्किएका छन्, प्लास्टर उप्किएको छ र छानाको अवस्था पनि कमजोर भएको छ । समयमै मर्मत सम्भार नहुँदा यो ऐतिहासिक सम्पदा जुनसुकै बेला भत्किन सक्ने जोखिम बढेको छ ।

धामको यस्तो दयनीय अवस्था देख्दा स्थानीय बासिन्दा र श्रद्धालुहरू चिन्तित बनेका छन् । कर्जनहा नगरपालिका, वडा कार्यालय र मन्दिर व्यवस्थापन समिति दर्शक झै बसेको छ ।

​समयमै ध्यान नदिए सिराहाकै एउटा महत्वपूर्ण धार्मिक पर्यटकीय गन्तव्यको अस्तित्व संकटमा पर्ने निश्चित छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *