कनकाई पुल निर्माणमा ढिलाइ पप्पु महादेव खिम्ती जेभीलाई १ अर्ब ९९ करोड जरिवाना
2026-09-13बिगु गाउँपालिका ८ कापाराङमा ठूलो पहिरो खोला थुनिएपछि तल्लो क्षेत्रमा जोखिम
2026-09-13
बिगु गाउँपालिका ८ कापाराङमा ठूलो पहिरो खोला थुनिएपछि तल्लो क्षेत्रमा जोखिम
थाङमिचागु डटकम संवाददाता
भिमकुमार थामि चरिकोट दोलखा

दोलखा । बिगु गाउँपालिका–८ कापाराङ बस्तीमुनि ठूलो पहिरो खसेर खोला थुनिएपछि आसपासका बस्ती तथा तल्लो क्षेत्रमा जोखिम बढेको छ।
लगातार वर्षा भइरहेका बेला भिर फुटेर ठूलो पहिरो खसेपछि खोलाको प्राकृतिक बहाव अवरुद्ध भएको हो। खोला थुनिएसँगै स्यार्वाराङ, टार, तल्लो टार, सोरोङखोला हाइड्रोपावर क्षेत्र हुँदै कालिञ्चोक र सिङ्गटीलगायत तल्लो भूभागमा समेत जोखिम बढेको स्थानीयले बताएका छन्।
थुनिएको खोलामा पानीको मात्रा निरन्तर बढ्दै गएमा कुनै पनि बेला एक्कासि ठूलो बहाव आउन सक्ने भन्दै स्थानीय त्रसित भएका छन्। पहिरो थप खस्ने अवस्था रहेमा कापाराङ आसपासका बस्तीका साथै खोला किनारमा रहेका सडक, विद्युत् आयोजना तथा अन्य भौतिक संरचनामा समेत क्षति पुग्न सक्ने जोखिम रहेको छ।
स्थानीयले पहिरो र खोलाको अवस्था गम्भीर बन्दै गएको भन्दै तत्काल सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्। सम्भावित जोखिम न्यूनीकरणका लागि जिल्ला प्रशासन कार्यालय, स्थानीय तह, सुरक्षा निकाय, सम्बन्धित जलविद्युत् आयोजना तथा विपद् व्यवस्थापन निकायले तत्काल घटनास्थलको निरीक्षण गरी थुनिएको खोलाको सुरक्षित निकासका लागि आवश्यक कदम चाल्नुपर्ने उनीहरूको माग छ।
यसैबीच, स्थानीयले कालिञ्चोक हाइड्रोपावर क्षेत्रमा भएका निर्माण तथा सडक विस्तारलगायतका गतिविधिका कारण भू–भाग कमजोर बनेको हुन सक्ने आशंका व्यक्त गरेका छन्। यद्यपि, पहिरोको कारण र जलविद्युत् आयोजनाको गतिविधिसँग यसको सम्बन्धबारे आधिकारिक पुष्टि भइसकेको छैन। यस विषयमा प्राविधिक अध्ययन आवश्यक देखिएको छ।
सम्भावित दुर्घटनालाई ध्यानमा राख्दै खोला आसपास तथा तल्लो क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ। विशेषगरी रातको समयमा पहिरो तथा खोलाको बहावमा अचानक परिवर्तन आउन सक्ने भएकाले जोखिमयुक्त स्थानमा नबस्न स्थानीयलाई सचेत गराइएको छ।
हालसम्म घटनाबाट मानवीय क्षति भएको विवरण प्राप्त भएको छैन। पहिरो र थुनिएको खोलाको अवस्थाबारे सम्बन्धित निकायबाट थप विवरण आउन बाँकी छ।




