रसुवासहित तीन जिल्ला विपद् संकटग्रस्त क्षेत्र घोषणा ।।।

0Shares

रसुवासहित तीन जिल्ला विपद् संकटग्रस्त क्षेत्र घोषणा

भक्तपुर । सरकारले बाढी तथा विपद्बाट प्रभावित रसुवा, नुवाकोट र धादिङलाई तीन महिनाका लागि विपद् संकटग्रस्त जिल्ला घोषणा गरेको छ।

आज बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले बाढी प्रभावित क्षेत्रमा आवश्यक सम्पूर्ण कामलाई तीव्रता दिने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए।

रसुवाको रसुवागढी तथा भोटेकोशी नदीको तटीय क्षेत्रमा आएको भीषण बाढीबाट भएको जनधनको क्षतिप्रति सरकारले दुःख व्यक्त गर्दै ज्यान गुमाउनेका परिवारलाई तत्काल आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको छ।

बैठकले सबै मन्त्रीलाई आ–आफ्नो मन्त्रालयसँग सम्बन्धित क्षेत्रमा फिल्डमै खटिएर राहत, उद्धार तथा व्यवस्थापनका कामलाई प्रभावकारी बनाउन निर्देशन दिएको छ।

यसैबीच, बाढीबाट उत्पन्न परिस्थितिबारे प्रधानमन्त्री वालेन्द्र शाहले रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनका संघीय सांसदहरूसँग छलफल गरेका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भएको छलफलमा बाढी प्रभावित नागरिकको सुरक्षा, राहत तथा उद्धारका विषयमा आवश्यक कदमबारे छलफल भएको हो।

प्रधानमन्त्री शाहले सरकार प्रभावित नागरिकको सुरक्षा र राहतका लागि पूर्ण प्रतिबद्धताका साथ खटिएको बताउँदै तल्लो तटीय क्षेत्रमा थप सतर्कता अपनाउन र विस्थापित नागरिकलाई तत्काल सुरक्षित स्थानमा स्थानान्तरण गर्न सम्बन्धित निकायलाई निर्देशन दिइसकेको जानकारी गराए।

सरकारले बाढी प्रभावित क्षेत्रमा सुरक्षा निकायका टोली परिचालन गरी खोज तथा उद्धार कार्यलाई तीव्र बनाएको जनाएको छ।

थामीचागु डट कम
सम्पादक : मे हाङ ठाँटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *