पाल्पामा १० वर्षीया बालिकामाथि जबरजस्ती करणीको आरोप १६ वर्षीय किशोर पक्राउ

0Shares

थाङमिचागु डटकम संवाददाता :भिम कुमार थामि
थाङमिचागु चरिकोट दोलखा

पाल्पामा १० वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले १६ वर्षीय किशोरलाई पक्राउ गरेको छ। घटना सार्वजनिक भएको केही दिनमै बारामा तीन वर्षीया गरिमा चौधरीको बलात्कारपछि हत्या घटनालाई लिएर देशभर आक्रोश र न्यायको माग भइरहेका बेला पाल्पामा पनि यस्तै प्रकृतिको घटना बाहिर आएको हो।

जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार घटना गत साउन १५ गते दिउँसो भएको हो। आरोपित किशोरले बालिकालाई आफ्नो घरमा लिची खान बोलाएको र सोही क्रममा जबरजस्ती करणी गरेको प्रहरीको भनाइ छ।

पीडित बालिकाले किटानी जाहेरी दिएपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो। भदौ ४ गते जिल्ला प्रहरी कार्यालय पाल्पामा लिखित जाहेरी परेपछि प्रहरी निरीक्षकको नेतृत्वमा टोली परिचालन गरिएको थियो।


प्रहरीले आरोपित किशोरलाई पक्राउ गरी जिल्ला अदालत पाल्पाबाट पाँच दिनको म्याद थप गरेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले जानकारी दिएका छन्।

बालबालिकामाथि हुने यस्ता जघन्य अपराध रोक्न राज्यका सुरक्षा संयन्त्र थप संवेदनशील र प्रभावकारी हुनुपर्ने आवाज पछिल्लो समय झनै बलियो बन्दै गएको छ। गरिमा चौधरीको घटनामा पनि दोषीलाई कडा कारबाही र बालबालिकाको सुरक्षा सुनिश्चित गर्न माग भइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *