बुटवल धागो कारखानाको सरकारी लगानी व्यवस्थापन प्रक्रिया अघि बढ्यो २१ दिनभित्र दाबी पेस गर्न आह्वान

0Shares

थाङमिचागु चरिकोट दोलखा
थाङमिचागु डटकम संवाददाता

रुपन्देहीमा रहेको बुटवल धागो कारखाना लिमिटेडमा सरकारी लगानी व्यवस्थापन गर्ने प्रक्रिया अघि बढेको छ। मन्त्रिपरिषद्को २०८२ वैशाख १५ गतेको निर्णयअनुसार अर्थ मन्त्रालयबाट खटिएको विज्ञ टोलीले उद्योगको सम्पत्ति तथा दायित्व मूल्याङ्कन गर्ने प्रक्रिया अघि बढाएको हो।

कारखानाले बुधबार २१ दिने सार्वजनिक सूचना जारी गर्दै उद्योगसँग कारोबार गरेका ग्राहक, कर्मचारी तथा अन्य सरोकारवालालाई लेनदेन, कारोबार तथा हरहिसाबसम्बन्धी कुनै दाबी भए आवश्यक प्रमाणसहित पेस गर्न आग्रह गरेको छ।

सूचनाअनुसार अदालत वा अन्य निकायबाट भएको फैसला वा निर्णयबमोजिम उद्योगसँग लेनदेन बाँकी रहेको भए सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र बुटवल–१० स्थित उद्योगमा दाबी पेस गर्नुपर्नेछ।

त्यसैगरी उद्योगलाई तिर्न वा बुझाउन बाँकी रहेका व्यक्ति, संस्था तथा अन्य निकायलाई समेत तत्काल उद्योगसँग सम्पर्कमा आउन आग्रह गरिएको छ।

तोकिएको २१ दिनभित्र दाबी पेस नगरेमा प्रचलित कानुनबमोजिम आवश्यक प्रक्रिया अगाडि बढाइने उद्योगले जनाएको छ।

सरकारी लगानीमा सञ्चालित बुटवल धागो कारखानाको सम्पत्ति, दायित्व तथा बाँकी वित्तीय कारोबारको यकिन विवरण तयार गर्ने उद्देश्यले मूल्याङ्कन प्रक्रिया अघि बढाइएको हो।

लामो समयदेखि सञ्चालनमा नरहेको उद्योगको पुराना आर्थिक दायित्व तथा विभिन्न पक्षका दाबी टुंगो लगाउन यो प्रक्रिया महत्वपूर्ण हुने अपेक्षा गरिएको छ।


मूल्याङ्कन तथा दाबी संकलन प्रक्रिया सम्पन्न भएपछि उद्योगमा रहेको सरकारी लगानी, सम्पत्ति र दायित्व व्यवस्थापनका सम्बन्धमा थप निर्णय लिन सहज हुने बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *