कोशी ब्यारेजको इतिहास सम्झौतादेखि पूर्वी नेपालको जीवनसँग जोडिएको संरचनासम्म
2026-08-09शैक्षिक गुणस्तर र उत्कृष्ट व्यवस्थापनको पहिचान बन्दै इन्द्रेणी पाठशाला ।।।
2026-08-09
मलेसियामा ३२औँ विश्व आदिवासी दिवस तथा १३औँ वार्षिकोत्सव भव्य रूपमा सम्पन्न!!!
मलेसियामा ३२औँ विश्व आदिवासी दिवस तथा १३औँ वार्षिकोत्सव भव्य रूपमा सम्पन्न
क्वालालम्पुर । नेपाल आदिवासी जनजाति महासंघ मलेसियाको आयोजनामा ३२औँ विश्व आदिवासी दिवस तथा १३औँ वार्षिकोत्सव कार्यक्रम क्वालालम्पुरस्थित कोतारायाको हिमालयन होटलको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ।
महासंघ मलेसियाका अध्यक्ष पदमराज लिम्बूको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाली दूतावास मलेसियाका तर्फबाट कार्यवाहक राजदूत मुद्दित बज्राचार्य प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए। त्यस्तै, नेपालबाट सहभागी किरात याक्थुङ चुम्लुङकी संघीय उपाध्यक्ष निरन्ती तुम्बापो विशिष्ट अतिथिका रूपमा उपस्थित थिइन्।
कार्यक्रममा मलेसियामा रहेका विभिन्न नेपाली आदिवासी जनजाति समुदायका प्रतिनिधि, समाजसेवी, श्रमिक, पत्रकार, व्यवसायी तथा शुभेच्छुकहरूको उल्लेख्य सहभागिता रहेको थियो।
कार्यक्रमका क्रममा तामाङ, मगर, शेर्पा, गुरुङ, राई, लिम्बू, थारू र थामी लगायत विभिन्न आदिवासी जनजाति समुदायले आफ्ना मौलिक संस्कृति झल्काउने भेषभूषा, झाँकी तथा परम्परागत खानाका परिकार प्रदर्शन गरेका थिए। विभिन्न समुदायका सांस्कृतिक प्रस्तुति, मौलिक झाँकी र परम्परागत पहिरनले कार्यक्रमलाई थप आकर्षक बनाएको थियो।
यसै क्रममा नेपाल थामी समाज मलेसियाको प्रतिनिधित्व गर्दै समाजसेवी तथा संयोजक पल ठान्टी थामीले प्रतिनिधिका रूपमा कार्यक्रममा सहभागिता जनाएका थिए। त्यस्तै, थामी समुदायका कलाकार आर.के. थामीले कलाकारका रूपमा सहभागिता जनाउँदै थामी समुदायको मौलिक संस्कृति झल्काउने सांस्कृतिक प्रस्तुति प्रस्तुत गरेका थिए।
प्रवासमा रहेर पनि आफ्नो भाषा, संस्कृति, परम्परा, मौलिक पहिचान तथा अधिकारको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको यस कार्यक्रमले मलेसियामा रहेका विभिन्न नेपाली आदिवासी जनजाति समुदायलाई एउटै साझा मञ्चमा जोड्ने काम गरेको आयोजकहरूले बताएका छन्।
यस्ता कार्यक्रमले विभिन्न समुदायबीचको आपसी भाइचारा, सद्भाव, सहकार्य, सांस्कृतिक पहिचान र एकतालाई थप मजबुत बनाउन महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरिएको छ।
कार्यक्रममा सहभागीहरूले प्रवासमा रहेर पनि आफ्नो मौलिक भाषा, संस्कृति, परम्परा र पहिचानको संरक्षण तथा पुस्तान्तरणका लागि यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका थिए।
सम्वाददाता : पल ठान्टी
#Thangmichagu.com



