नेपाल आदिवासी जनजाति महासंघ मलेसियाका वरिष्ठ उपाध्यक्ष न्वाङ नुरि शेर्पाको पहलमा — मलेसियामा १४ वर्षदेखि बेपत्ता तामाङ अन्ततः सकुशल स्वदेश फिर्ता

0Shares

मलेसियामा १४ वर्षदेखि बेपत्ता तामाङ अन्ततः सकुशल स्वदेश फिर्ता मानवीय सहायताको उदाहरणीय कार्य नेपाल आदिवासी जनजाति महासंघ मलेसियाबाट

थाङ्मीचागु डटकम रिपोर्ट, २० अक्टोबर २०२५

क्वालालम्पुर (मलेसिया) — वैदेशिक रोजगारीको सिलसिलामा मलेसिया पुगेका सिन्धुपाल्चोक निवासी रजिन तामाङ १४ वर्षपछि अन्ततः सकुशल स्वदेश फर्किएका छन्। लामो समयदेखि परिवारसँग सम्पर्कविहिन रहँदै बेपत्ता जीवन बिताइरहेका तामाङलाई नेपाल आदिवासी जनजाति महासंघ मलेसियाका वरिष्ठ उपाध्यक्ष न्वाङ नुरि शेर्पाको अगुवाइमा उद्धार गरी स्वदेश फर्काइएको हो।

रजिन तामाङ मलेसियामा अवैधानिक हैसियतमा बस्दै, फोहोर फाल्ने ठाउँमा सुत्ने र नजिकैको मन्दिरमा चढाइएका खानेकुरा टिपेर जीविकोपार्जन गर्दै आएका थिए। एकदिन शेर्पाले तामाङलाई त्यही अवस्थामै देखेपछि उद्धारका लागि पहल गर्दै, मलेसियास्थित नेपाली दूतावास र नेपालमा रहेका उनका परिवारसँग सम्पर्क गर्ने अभियान थालेका थिए।

परिवारसँग सम्पर्क हुन नसकेपछि शेर्पाले मलाया खबर मिडियामार्फत तामाङको भिडियो सार्वजनिक गरेका थिए। सो भिडियो हेरेपछि तामाङका परिवारजनले उनलाई चिने र सम्पर्कमा आएका थिए। परिवारका एक सदस्यले भने, “हामीले त रजिन मरेको ठानेका थियौं, तर धन्य उहाँ सकुशल हुनुहुन्छ।”

तामाङ स्वदेश फर्किनु अघि उनी बसोबास गर्नका लागि प्रवासी नेपाली समन्वय समिति (PNCC) मलेसियाका संयोजक पुर्ण सुब्बा लिम्बुले सेल्टरहाउसको व्यवस्था मिलाएका थिए। त्यसैगरी, स्वदेश फर्किन आवश्यक पर्ने एकतर्फी यात्रा अनुमति पत्र “ट्राभल डकुमेन्ट” मलेसियास्थित नेपाली दूतावासले निशुल्क उपलब्ध गराएको थियो।

अवैधानिक बसाइका कारण तिर्नुपर्ने जरिवाना र हवाई टिकट खर्च भने परिवारले व्यहोरेको हो। सम्पूर्ण समन्वय र सहजीकरणको जिम्मेवारी वरिष्ठ उपाध्यक्ष न्वाङ नुरि शेर्पाले नै निर्वाह गर्नुभएको थियो।

यो घटनाले मलेसियामा संकटमा परेका नेपाली श्रमिकका लागि मानवीय सहयोग र सहअस्तित्वको उत्कृष्ट उदाहरण प्रस्तुत गरेको छ।


थाङ्मीचागु डटकमको तर्फबाट
यो घटनाले देखाउँछ — “असहाय जीवनलाई उद्धार गर्नु नै वास्तविक सेवा हो।”
नेपाल आदिवासी जनजाति महासंघ मलेसियाका सम्पूर्ण सदस्यहरूलाई यो मानवीय कार्यका लागि हार्दिक सम्मान र धन्यवाद।

Leave a Reply

Your email address will not be published. Required fields are marked *