शिक्षक महासङ्घ र सरकारबिच वार्ता सुरु, आन्दोलन नरोकिने ।

0Shares

नेपाल शिक्षक महासङ्व र सरकारबीच अहिले शिक्षा मन्त्रालयमा वार्ता सुरु भएको छ। शिक्षामन्त्री रघुजी पन्तले बोलाएपछि आन्दोलनरत नेपाल शिक्षक महासंघका प्रतिनिधि बिहान साढे ७ बजे वार्ताका लागि सिंहदरबार पुगेका हुन्।
वार्तामा शिक्षा मन्त्री र सचिवसहित शिक्षक महासंघका प्रतिनिधि सहभागी रहेको महासंघका महसचिव तुलाबहादुर थापाले जानकारी दिए। सर्वोच्च अदालतले आन्दोलनरत शिक्षक कर्मचारीलाई तीन दिन भित्र उनीहरुको जायज र संविधानसम्मत माग सम्बोधन गरी विद्यालय फर्कने वातावरण बनाउन आदेश दिएपछि सरकार र शिक्षक दुबै पक्ष निकास निकाल्नुपर्ने दबाबमा छन्। 
सरकार र महासंघबीच शुक्रबार नै वार्ता तय भए पनि अन्तिम समयमा भाँडिएको थियो। विगतमा भएका सहमति अनुसार विद्यालय शिक्ष ऐन तत्काल जारी गर्न माग गर्दै शिक्षकहरु २५ दिनदेखि सडक आन्दोलनमा छन्। 
उनीहरुले दिनहुँ माइतीघर बानेश्वर क्षेत्रमा प्रदर्शन गरिरहेका छन्। शिक्षक आन्दोलनका कारण विद्यार्थी भर्ना, पाठ्यपुस्तक वितरण, एसइईको उत्तर पुस्तिका परीक्षण, कक्षा १२ को परीक्षालगायतका शैक्षिक गतिविधि प्रभावित भएका छन्। उनीहरुले आज पनि आन्दोलन निरन्तर रहने बताएका छन्। 
सरकारसँग वार्ताका लागि जाँदै गर्दा महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले आन्दोलन नरोकिने भन्दै विहान ११ बजे माइतीघर मण्डलामा जम्मा हुन शिक्षकहरुलाई आग्रह गरेका छन्। आफूहरु निर्णायक र अन्तिम लडाइँमा रहेकोले यस्तो बेला नियमितभन्दा बढी बल लगाउनुपर्ने भन्दै सुवेदीले सबैलाई तीन घण्टा प्रदर्शनस्थलमा अनिवार्य बस्न भनेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *