बिगु गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत नहुँदा दैनिक प्रशासनिक कार्य ठप्प

0Shares

दोलखा । दोलखाको बिगु गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत नहुँदा आर्थिक तथा प्रशासनिक काम प्रभावित भएको छ ।
गाउँपालिकामा छोटो समयमै प्रमुख प्रशासकीय अधिकृतको सरुवा हुुँदा कामकाज प्रभावित बन्न पुगेको हो । लामो समयदेखि निमित्तको भरमा गाउँपालिका संचालन हुँदा विकास निर्माणका काम प्रभावित बन्न पुगेको छ भने आर्थिक कारोवार ।
भदौको दोस्रो साता सरुवा भएर आएका प्रमुख प्रशासकीय अधिकृत छोइसाङ लामा छोटो अवधिमै सरुवा भएर गएपछि अहिले विगु गाउँपालिका निमित्तको भरमा संचालन हुँदै आएको छ । भदौमा आएका लामा करिव २ महिना मात्रै बसेर गत कार्तिकमा सरुवा भएर गएका थिए । त्यस यता बिगु गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद रिजालको भरमा चल्दै आएको थियो ।
शिक्षा शाखा प्रमुखको जिम्मेवारीमा रहेका रिजाल पनि सरुवाको प्रक्रियामा रहेका छन् । उनी सरुवाको प्रक्रियामा भएपछि बिगु गाउँपालिकाको निमित्त प्रमुखको जिम्मेवारी स्वास्थ्य शाखाका प्रमुख रत्नवहादुर थामीलाई दिइएको छ । निमित्तको जिम्मेवारी पाउने लक्ष्मी प्रसाद रिजाल र  रत्नबहादुर थामी दुवैलाई आर्थिक अधिकार छैन । सोही कारण बिगु गाउँपालिकाका कर्मचारीले समेत दशैं यता तलव भत्ता खान पाएका छैनन् । त्यसैगरी बिगु गाउँपालिकामा कार्यरत स्वास्थ्य, शिक्षा क्षेत्रमा कार्यरत कर्मचारी एवं शिक्षकहरूले पनि त्रैमासिक रुपमा हुँदै आएको तलब भत्ता पुसको १० गतेभित्र निकासा भइसक्नुपर्नेमा हालसम्म पनि हुन सकेको छैन।यसअघि २०८० पुसमा जितवहादुर श्रेष्ठ प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा बिगु आएका थिए । श्रेष्ठ पनि करिव ४ महिना बसेर चैत्र महिनामै सरुवा भएर गएका थिए । श्रेष्ठको सरुवापछि शिक्षा अधिकृत रिजाललाई आर्थिक अधिकारसहित निमित्तको जिम्मेवारी दिइएको थियो । उनले २०८१ वैशाखदेखि गत असारसम्म आर्थिक अधिकार सहितको जिम्मेवारी लिएका थिए ।
तर, सो अवधिमा भएका विकास निर्माणका कामहरुको भुक्तानी अझै हुन नसकेको उपभोक्ता समितिका पदाधिकारीले बताएका छन् । बिगु गाउँपालिकामा गत आर्थिक बर्षकै योजना र कार्यक्रमको भुक्तानी र फरफारक नभएको अवस्थामा पुनः पालिका निमित्तको भरमा चलिरहेको हो । प्रमुख प्रशासकीय अधिकृत नहुँदा र निमित्तको भरमा संचालन गरिदा समस्या भएको बिगु गाउँपालिकाका प्रवक्ता लोकवहादुर नेपालीले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *