जीर्ण भवनमा खाना पकाउँदै प्रहरी, निकायको बेवास्ता ।।।

0Shares

विनोद मण्डल, सिरहा, मंसिर २३।
सिरहाको धनगढीमाई नगरपालिका–१२ (पूर्ववर्ती विष्णुपुरकट्टी ६ वरपिपल) मा रहेको इलाका प्रहरी कार्यालयको भान्सा घर अत्यन्तै जीर्ण अवस्थामा पुगेको छ। कार्यालयका प्रहरीहरू बेसहारा स्थितिमा झ्यालढोका विहीन, खिया लागेको, र अत्यन्त जोखिमपूर्ण भवनमा खाना पकाउन बाध्य भएका छन्।

भवन अभावका कारण प्रहरीहरूले वडा कार्यालयमै रात बिताउँदै आएका छन्। खाना पकाउन भने जिल्ला वन कार्यालय, लहान सिरहाको स्वामित्वमा रहेको पुरानो र जर्जर भवन प्रयोग गरिंदै आएको छ। यो भवन न त सुरक्षित छ, न त सुविधाजनक। झ्याल–ढोकाविहीन घरमा चुलो बालेर खाना पकाउँदा उनीहरूले हरेक दिन खतराको सामना गर्नु परिरहेको छ।

अविरल वर्षा हुँदा यो जीर्ण भवन चुहिन थाल्छ, जसका कारण प्रहरीहरू खाना पकाउन समेत थप अप्ठेरो स्थितिमा पर्छन्। खिया लागेको जस्तामाथि त्रिपाल राखेर काम चलाउने प्रयास गर्दा हावाले उडाउने डरका कारण इँटा थिचेर व्यवस्थापन गर्नुपरेको छ। यस्तो प्रतिकूल वातावरणमा खाना पकाउँदा प्रहरीहरूले चिसो र असुविधासँगै आफ्नो दायित्व पूरा गरिरहेका छन्।

यो समस्याबारे जिल्ला प्रहरी कार्यालय सिरहालाई पटकपटक जानकारी गराइए पनि हालसम्म कुनै ठोस कदम चालिएको छैन। प्रहरीहरूको दैनिकीमै असर पुग्ने यो समस्याले प्रशासनिक निकायहरूको गैरजिम्मेवारीपन झल्काएको प्रहरीहरूको गुनासो छ।

जीर्ण अवस्थाका कारण सुरक्षा व्यवस्थामा संलग्न प्रहरीहरूको मनोबल घट्नुका साथै उनीहरूको काम गर्ने क्षमता प्रभावित भइरहेको छ। यस्तो स्थितिमा स्थानीय निकाय र सम्बन्धित निकायहरूले अविलम्ब कदम चाल्नुपर्ने आवश्यक छ। प्रहरीहरूको लागि सुरक्षित र भरपर्दो बसोबास तथा काम गर्ने वातावरण सुनिश्चित गरिनु अत्यन्त जरुरी छ।

यो विषयमाथि चाँडै सम्बोधन गरिनुपर्छ, नत्र स्थानीय सुरक्षा प्रणालीमै गम्भीर असर पर्ने सम्भावना छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *