श्री कालिन्चोक माविमा दशैं-तिहारको शुभकामना आदानप्रदान र सामग्री हस्तान्तरण कार्यक्रम सम्पन्न

0Shares

श्री कालिन्चोक माविमा दशैं-तिहारको शुभकामना आदानप्रदान र सामग्री हस्तान्तरण कार्यक्रम सम्पन्न

दोलखा, १७ असोज २०८१
थाङ्मीचागु डट कम संवाददाता

दोलखा जिल्ला बिगु गाउँपालिका वडा नं ८, थाङ्मीचागुस्थित श्री कालिन्चोक माध्यमिक विद्यालयमा हिन्दू धर्मालम्बीहरूको महान् चाड दशैं र तिहारको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम तथा सामग्री हस्तान्तरण कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।

उक्त कार्यक्रमको आयोजना विद्यालय व्यवस्थापन समितिको अध्यक्ष लालबहादुर थामीको अध्यक्षतामा गरिएको थियो भने प्रमुख अतिथि नेपाल थामी समाजका केन्द्रीय अध्यक्ष रणबहादुर थामी हुनुहुन्थ्यो। कार्यक्रममा रणबहादुर थामीले विद्यालयलाई सामग्री सहयोग हस्तान्तरण गर्दै दशैं र तिहारको शुभकामना व्यक्त गर्नुभयो। उहाँले थामी समुदायको उत्थान र शिक्षा क्षेत्रमा अझ बढी योगदान पुर्याउने प्रतिवद्धता समेत जनाउनुभयो।

विशेष अतिथिको रूपमा समाजसेवी एवं पूर्व नेता भाजु थामी, नेपाल थामी समाजका केन्द्रीय सचिव देव थामी लगायत थामी समुदायका अन्य विशिष्ट व्यक्तित्वहरू कार्यक्रमको ड्यासमा आसिन हुनुहुन्थ्यो। सबै अतिथिहरूले विद्यालयको प्रगतिको लागि आफ्ना धारणा राख्दै भविष्यमा थप सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए।

कार्यक्रममा विद्यालयका शिक्षक, विद्यार्थी, अभिभावक तथा स्थानीयवासीहरूको करिब ४०० जनाको सहभागिता थियो। अभिभावकहरूले विद्यालयले गरेको यो पहलको प्रसंसा गर्दै यसले विद्यार्थीहरूलाई सामाजिक र सांस्कृतिक महत्वका विषयमा शिक्षित गर्ने मौका प्रदान गरेको बताए।

विद्यालयलाई सामग्री हस्तान्तरण नेपाल थामी समाजका केन्द्रीय अध्यक्ष रणबहादुर थामीले विद्यालयको आवश्यकताका आधारमा सामग्रीहरू हस्तान्तरण गर्नुभएको थियो। विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष लालबहादुर थामीले उक्त सहयोगले विद्यार्थीहरूको शैक्षिक गुणस्तरमा सकारात्मक प्रभाव पर्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले विद्यालयलाई सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै विद्यालयको विकास र प्रगतिको लागि निरन्तर योगदानको आवश्यकता औंल्याउनुभयो।

कार्यक्रमको अन्त्यमा विद्यालयका विद्यार्थीहरूले सांस्कृतिक प्रस्तुति पनि देखाएका थिए, जसले दशैं र तिहारको मौलिकता झल्काउँथ्यो। कार्यक्रममा उपस्थित अभिभावकहरूले पनि उत्साहपूर्वक भाग लिँदै विद्यालयले भविष्यमा अझ सशक्त भूमिका खेल्ने आशा व्यक्त गरेका थिए।

यो कार्यक्रमले विद्यालय र समुदायबीचको सम्बन्धलाई अझ सुदृढ बनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *