दोलखामा प्रदेश सरकारको बोर्ड राजनीति सेवा भने ठप्प
2026-09-08भोटेकोसी बाढी प्रभावित बालबालिकाका लागि सुनिश्चित भविष्य छात्रवृत्ति योजना घोषणा
2026-09-08
गौरीशंकरको सिप्रिङ खोलामा बाढी: एक बेपत्ता, चार जना उद्धारको पर्खाइमा ।।।
गौरीशंकरको सिप्रिङ खोलामा बाढी: एक बेपत्ता, चार जना उद्धारको पर्खाइमा
दोलखा, ६ श्रावण २०८३ | थाङ्मीचागु डटकम
अविरल वर्षापछि दोलखाको गौरीशंकर गाउँपालिका–९ स्थित सिप्रिङ खोलामा आएको बाढीले एक जना वृद्ध बेपत्ता भएका छन् भने चार जना जलविद्युत् केन्द्रका कर्मचारी जोखिमपूर्ण अवस्थामा फसेर उद्धारको पर्खाइमा रहेका छन्।
वडा अध्यक्ष निमगेली शेर्पाका अनुसार गएराति करिब ११ बजेदेखि आएको बाढीले करिब ७३ वर्षीय चसमान तामाङलाई बगाएको हो। घटनापछि उनको खोजी कार्य जारी रहेको छ।
त्यसैगरी, गौरीशंकर–९ को मुलखर्कस्थित सिप्रिङ खोला जलविद्युत् केन्द्रमा कार्यरत सुकदेव श्रेष्ठ, सूर्यबहादुर तामाङ, कल्याण विक र विनोद श्रेष्ठ दुई खोलाको बीचमा फसेका छन्। बाढीले जलविद्युत् केन्द्रको ड्याम क्षेत्रमा समेत क्षति पुर्याएको र खोलाले दुवैतर्फको जमिन कटान गरेपछि उनीहरू सुरक्षित रूपमा बाहिर निस्कन नसकेको जनाइएको छ।
निरन्तर बाढी आइरहेका कारण उद्धार कार्यमा कठिनाइ भइरहेको वडा अध्यक्ष शेर्पाले जानकारी दिएका छन्। सुरक्षा निकाय तथा स्थानीय प्रशासनले उद्धारको प्रयास जारी राखेको जनाइएको छ।
थाङ्मीचागु डटकम सबैलाई नदी तथा खोला आसपासका जोखिमयुक्त क्षेत्रमा नजान र सम्बन्धित निकायले जारी गरेका सुरक्षा निर्देशनको पालना गर्न आग्रह गर्दछ।





