किराँत याक्थुङ चुम्लुङ जोहोर, मलेसियाको प्रथम अधिवेशन सम्पन्न, अध्यक्षमा हरी वाजी निर्वाचित ।।।

0Shares

किराँत याक्थुङ चुम्लुङ जोहोर, मलेसियाको प्रथम अधिवेशन सम्पन्न, अध्यक्षमा हरी वाजी निर्वाचित

थाङमिचागु डटकम | जोहोर बारु, मलेसिया

किराँत याक्थुङ चुम्लुङ जोहोर, मलेसियाको प्रथम अधिवेशन–२०२६ जोहोर बारुस्थित JO Hotel JB मा सम्पन्न भएको छ। अधिवेशनले सर्वसम्मत रूपमा नयाँ नेतृत्व चयन गर्दै अध्यक्षमा हरी वाजीलाई निर्वाचित गरेको छ।

अधिवेशनको अध्यक्षता हेमराज योङ्हाङले गर्नुभएको थियो भने प्रमुख अतिथिका रूपमा किराँत याक्थुङ चुम्लुङ नेपाल, कोशी प्रदेशका संघीय उपाध्यक्ष निरन्ति तुम्बापोको उपस्थिति रहेको थियो। विशिष्ट अतिथिका रूपमा नेपाल आदिवासी जनजाति महासङ्घ, मलेसियाका अध्यक्ष पदमराज लिम्बु सहभागी हुनुभएको थियो।

प्रमुख अतिथि तुम्बापोले आफ्नो मन्तव्यमा प्रवासमा रहेका याक्थुङ (लिम्बू) समुदायबीच संगठनात्मक एकता सुदृढ गर्दै भाषा, संस्कृति, मौलिक परम्परा तथा पहिचानको संरक्षण र प्रवर्द्धनमा सबै सदस्यको सक्रिय सहभागिता आवश्यक रहेको बताउनुभयो। उहाँले भावी पुस्तामा मातृभाषा, संस्कार र सांस्कृतिक मूल्य–मान्यताको हस्तान्तरणलाई संस्थागत प्राथमिकतामा राख्नुपर्ने धारणा व्यक्त गर्नुभयो।

कार्यक्रममा किराँत याक्थुङ चुम्लुङ मलेसियाका अध्यक्ष दिल केरुङ लिम्बु, नेपाल थामी समाज मलेसियाका केन्द्रीय सदस्य प्रजल हार्बा थामी, किरात राई यायोक्खा शाखा जोहोरकी अध्यक्ष सविता राई (सन्जु) चाम्लिङ, नेपाल तामाङ घेदुङ मलेसिया शाखा जोहोरका अध्यक्ष मंगोल तामाङ, नेपाल आदिवासी जनजाति महासङ्घ शाखा जोहोरका कार्यवाहक अध्यक्ष ईश्वर श्रेष्ठ, नेपाल मगर सङ्घ शाखा जोहोरका अध्यक्ष, नेपाल आदिवासी जनजाति महासङ्घ मलेसियाकी महिला उपाध्यक्ष देविका राई (बिनु) लगायत विभिन्न सामाजिक तथा सामुदायिक संघ–संस्थाका प्रतिनिधि, पत्रकार तथा समुदायका सदस्यहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

अधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिमा अध्यक्ष हरी वाजी, उपाध्यक्ष बिरु आङबोचङ्ग, शंकर बेघासागर तुम्बापो, सचिव ज्वाला योङहाङ्ग, सहसचिव लक्ष्मी सवेहाङ, महिला उपाध्यक्ष गंगा बेघा तथा कोषाध्यक्ष जमुना मादेन निर्वाचित हुनुभएको छ।

त्यसैगरी सल्लाहकारमा हेमराज योङ्हाङराजेन्द्र खापुङ चयन हुनुभएको छ। सदस्यहरूमा दिपेन चोङवाङ, सानु यक्तेन, सुरज इजम, सुनील चेम्जोङ्ग, मोहन फागो, सञ्जीव लिङ्देन, मिलन बेघा, योगेन्द्र लिम्बु, फुलमाया केरुङ, अर्जुन लावती, नीर प्रसाद नेम्वाङ्ग, तृर्वत थेबे, लोकेन सेर्पा तथा माया लिम्बु रहनुभएको छ।

अधिवेशनमा सांस्कृतिक कार्यक्रमसमेत आयोजना गरिएको थियो। सहभागीहरूले नवनिर्वाचित कार्यसमितिलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै संस्थाको विधान, उद्देश्य र नीतिअनुरूप संगठनलाई थप सुदृढ, समावेशी र समुदायमुखी बनाउँदै भाषा, संस्कृति, परम्परा तथा पहिचानको संरक्षण र प्रवर्द्धनमा प्रभावकारी भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *