संस्मरण/अनुभूतिभूमिगत जीवनको पहिलो पटक पुलिसको घेरामा पर्दा

0Shares

बुधबार ९ असोज २०८१

थाङ्मीचागु डट कम संवाददाता

दोलखा कालिञ्चोक गाउँपालिका वडा नम्बर ५ का डम्बर हामी अनुपमको संस्मरण/अनुभूति


संस्मरण/अनुभूति
भूमिगत जीवनको पहिलो पटक पुलिसको घेरामा पर्दा

  • डम्बर थामी ‘अनुपम’

“जीवन फूलको कालिन मात्र होइन, संघर्ष पनि हो। जीवन वसन्त मात्र होइन तुसारे शिशिर पनि हो।” यी हरफहरु म दस कक्षामा पढ्दा ‘घनघस्याको उकालो काट्दा’ शिर्षक दिईएको डा. तारानाथ शर्माको नियात्रामा पढेको थिएँ। साँच्चै नै मान्छेको जीवनमा यी द्वन्दात्मक टकरावहरुले प्रभाव पार्दोरहेछ। म जनमुक्ति अभियानमा लागेको एक महिना एघार दिन मात्र भएको थियो। हामी त्यतिबेला शोषित पीडित बस्तीहरुमा नै विचरण गरिरहेका थियौँ।

जनमनलाई समेट्न संगठन र सेल्टर बनाउँदै हिंड्थ्यौँ। त्यतिबेलाको कार्वाही अलि फरक थियो। आर्थिक कार्वाही, हतियार संकलन, सेबोटेज आदि। अनि छापामार कार्वाहीहरुलाई पनि व्यवस्थित गर्नु थियो। युद्ध प्रविधिको पनि विकास गर्नुपर्ने थियो। त्यस्तै प्रकारको छापामार कार्वाही गर्ने क्रममा क. विश्वको कमान्डमा गुमुखोला बजार कब्जा गरेर प्रचारात्मक कार्वाही गर्‍यौं। र त्यहाँका फटाहाहरुलाई केही आर्थिक कार्वाही पनि गर्‍यौँ। जनयुद्धको सुराकी गर्नेहरुलाई केही चेतावनी पनि दियौँ।


त्यसपछि हामी उत्तरी भेग झ्याँकु, सुरी, चंखुतिर लाग्यौँ। हाम्रो त्यतिबेलाको संगठन मरुभूमिमा पानी उमारेर बिरुवा हुर्काउनु जस्तै थियो। जनतालाई माओवादीहरु कस्ता होलान्? भन्ने कुरा पनि थाहा थिएन। त्यसैले हामीले त्यो भेगमा गएर जनताको बीचमा धेरै धेरै क्रान्ति र माओवादी जनयुद्धको बारेमा भलाकुसारी गर्‍यौं। शिक्षक, विद्यार्थी र बुद्धिजीवीहरुको बीचमा पनि क्रान्तिका कुराहरू गर्‍यौँ। मैले धेरै हाईस्कूलहरुमा भाषण पनि गरेँ। हामीले प्रचारप्रसार र भित्तेलेखन पनि व्यापक गर्‍यौँ।

हाम्रो त्यो गतिविधिको पुलिस प्रशासनले निकै निगरानी बढाईरहेको रहेछ। हाम्रो नफ्री र नेतृत्वको बारेमा पनि निगरानी गरिरहेको रहेछ। उसले हामीलाई तत्कालै बाँसको तामा मर्काए झैँ मर्काएर निमिट्यान्न पार्न चाहन्थ्यो। त्यो कोशिश जारी रहेछ।
प्रचारात्मक र संगठनात्मक कामहरू गर्दै हामी जुँगुमा पुग्यौँ। त्यहाँ पुग्दा त एक्कासी पुलिस आएको खबर पायौँ। पूरै गाउँ नै घेरा हालेको भन्ने फेरि अर्को खबर आयो। जुँगुका जनताले पुलिसको गतिविधिको खबर चाहिँ छिनछिनको ल्याउँदा रहेछन्। मेरो मनमा पनि कुरा खेल्यो अब कसरी प्रतिरोध गर्ने र घेरा तोड्ने भनेर।

हतियारको नाममा एउटा सिरुपाते खुकुरी मात्र थियो। मैले जनयुद्धमा लाग्ने बित्तिकै गुरिल्ला तालीम गर्न पाउँछु। आधुनिक हतियार चलाउन पाउँछु भन्ने लागेको थियो। तालीम त बाह्र घन्टासम्म दिसा पिसाब रोकेर सेल्टरमा खोक्दा पनि नखोकी लुक्नुपर्ने। चूक घोप्ट्याए जस्तो अँध्यारी रातमा खुट्टा नबजाई हिंड्ने र दिउँसोभरि सुत्ने। फुर्सदको बेला जनताको खेतबारीमा काम गर्ने। त्यस्तो पो रहेछ गुरिल्ला तालीम त। तर हिम्मत चाहिँ हार्नु हुन्न भन्ने कुरा सानैदेखि सिकेको थिएँ। पूराना कम्युनिस्ट नेता र बुबा आमाबाट। मैले अन्तिम अस्त्र यसैलाई प्रयोग गर्ने प्रण गरेँ। क. माओको एउटा वाणीले मलाई अझ मुर्झाउने बनायो।

“यदि तिमीलाई आवस्यकता परेको बेलामा तिम्रा अगाडिका सबै वस्तुहरु हतियार हुनेछन्।” अनि दाह्रा किटें र जे पर्ला त्यत्तिकै त मर्दिन ठानेँ। दह्रो गरी खुकुरी समातेँ। पुलिसहरुले घेरा साँघुरो पार्दै आएको खबर आईरहेकै थियो। विस्तारै विस्तारै घाम पनि पश्चिम दिशातिर डुबिसकेको थियो। साथीहरू घेरा तोडने योजना बनाउँदै थिए। दुश्मनको कमजोर घेरा भएको ठाउँबाट घेरा तोड्नुपर्छ भन्ने निष्कर्ष निस्क्यो। सोही मुताविक हामी भयानक भीरको छेउबाट ओराली लाग्यौं। र एउटा बस्तीमा पुग्यौँ। त्यो बस्तीको नाम उखुबारी रहेछ।

त्यो बस्ती पनि पहिलेदेखि नै माओवादीलाई सहयोग गर्ने जनता भएको बस्ती रहेछ। दिउँसो कमरेड चेतना लगायत महिला कमरेडहरुले जुँगुमा डोको बोकेर जङ्गलमा घाँस काट्न जाने निहुँमा घेरा तोड्नुभएछ। मैले बल्ल थाहा पाएँ। युद्धकला भनेको यस्तो पो रहेछ। तर हामी अझै रनभुल्लमा नै परेका थियौं।
झमक्कै रात परिसकेको थियो। त्यो अन्धकार रातमा हामीलाई उखुबारीका क. चुडामणि घिमिरेले रुट गाईड गरेर जङ्गलको बाटो हिँडाउन लागे। बाटोको केही नाम निशान थिएन। झाडी र बुट्यानहरु थिए।

त्यही बुट्यानहरुमा समाउँदै छामछाम छुमछुम गर्दै तामाकोसी किनार भन्दा अलि माथीको बाटो लाग्यौं। तल तामाकोसी कलकल बग्दै थिइन्। यदि केही गरी लडियो भने हामी पनि तामाकोसीको सुसाईसँगै बग्नुपर्थ्यो। कहिँ छङ्गाछूर भीरहरु भेटिन्थे। रात सुलुलुलु चिप्लिरहेको थियो। हामीले घेरा तोड्ने ठाउँ त्यही गुमुखोला नजिकबाट थियो। त्यहाँ एउटा झोलुङ्गे पूल तर्नुपर्थ्यो। करिब करिब उज्यालो हुन लागेको थियो। हतार हतार पूल क्रस गर्न लाग्दा करिब एक सय मिटर नजिक त पुलिस आईसकेको थियो। हामी सबैले हतार हतार पूल क्रस गर्‍यौं।

र एउटा सानो झाडीमा एकै ठाउँ पोको परेर लुक्यौँ। पुलिसहरु काँधमा राईफल बोकेर हाम्रै अगाडिबाट गए। ल अब बल्ल बाँचियो भन्ने भयो। यदि त्यो पूल तर्न एक मिनेट मात्रै ढिला भएको भए सायद हामी सबै सकिन्थ्यौँ होला। त्यसपछि फेरि हामी बन्चरेको उकालो लाग्यौँ। लाल बहादुर थामी दाइको घरमा सेल्टर लियौं। हाम्रो आमा र ठूली आमा पनि जुँगु जानलाई आउनु भएको रहेछ। भेट भयो। आमालाई भेट्दा सारा संसार ब्रह्माण्ड नै भेटे जस्तो लाग्यो। पुलिसको व्यापक दमन र अप्रेसन भएकोले वहाँहरु जुँगु जान सक्नुभएन। वहाँहरु घर फर्किनु भयो। हामी पनि आफ्नो बाटो लाग्यौँ।


हामीले घेरा तोडेकै दिन पारिपट्टी जुँगुमा देवी खड्का, देवी दुलाल, बखानसिंह थामी, नरेन्द्र थामी, ठिल बहादुर थामी र पेमा लामा लगायतका कमरेडहरु गिरफ्तार पर्नुभएछ। हामीले पनि सावधानीपूर्वक घेरा नतोडेको भए के हुन्थ्यो? थाहा थिएन। न छापामार कला, न मोर्चाबन्दी युद्धको ज्ञान! यी सबै कुरा थाहा नभए पनि युद्धले युद्धकला सिकाउँदो रहेछ। युद्धमा एक सेकेन्डको पनि महत्त्व हुन्छ भन्ने कुरा घाम झैं छर्लङ्ग भयो। हामी यी र यस्तै कैयौं दुश्मनका घेराबन्दीहरु तोड्दै गयौँ। ठूल्ठूला भिडन्त र मोर्चाहरु लड्दै गयौँ। मै हुँ भन्ने दुश्मनलाई पनि जितेरै छाड्यौँ। हजारौं हजार युद्ध सामग्री र हतियारहरु कब्जा गर्‍यौं। क्रान्तिकारीहरुमा अदम्य साहस बुद्धि र विवेक भएपछि जस्तोसुकै बाधा, व्यवधान र चुनौतीहरुको सामना गर्न सकिने रहेछ। यो मैले क्रान्तिमा लागेको दुई महिना पनि बित्न नपाउँदै गरेको अनुभूति हो।
२०५४ साल फाल्गुन १० गते सिन्धुपाल्चोक मांखा।

Leave a Reply

Your email address will not be published. Required fields are marked *