नेपाल थामी समाज मलेसियाको उभौली भुम्या पूजा तथा वार्षिक उत्सव–२०२६ ऐतिहासिक रूपमा सम्पन्न
2026-06-09नेपाल थामी समाज मलेसियाको उभौली भुम्या पूजा तथा वार्षिक उत्सव–२०२६ ऐतिहासिक रूपमा सम्पन्न
2026-06-08
नेपाल थामी समाज मलेसियाको उभौली भुम्या पूजा तथा वार्षिक उत्सव–२०२६ ऐतिहासिक रूपमा सम्पन्न
नेपाल थामी समाज मलेसियाको उभौली भुम्या पूजा तथा वार्षिक उत्सव–२०२६ ऐतिहासिक रूपमा सम्पन्न
जोहोर, मलेसिया | ७ जुन २०२६
नेपाल थामी समाज, मलेसियाद्वारा आयोजना गरिएको उभौली भुम्या पूजा तथा वार्षिक उत्सव–२०२६ भव्य, सभ्य तथा ऐतिहासिक रूपमा सम्पन्न भएको छ। थामी समुदायको मौलिक भाषा, संस्कृति, परम्परा, धर्म, संस्कार तथा पहिचानको संरक्षण, संवर्द्धन र पुस्तान्तरण गर्ने उद्देश्यका साथ आयोजित कार्यक्रममा मलेसियास्थित नेपाली समुदायको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रमको अध्यक्षता सन्तोष ठान्टी थाङ्मी ले गर्नुभएको थियो भने प्रमुख अतिथिका रूपमा पदमराज लिम्बु उपस्थित हुनुहुन्थ्यो। विशिष्ट अतिथिहरूमा समिता राई (सन्जु), मङ्गोल तामाङ, प्रेम श्रेष्ठ तथा रमेश मल्ल रहनुभएको थियो।
त्यसैगरी कार्यक्रममा नेपाल तामाङ घेदुङ मलेसियाकी उपाध्यक्ष सम्झना मोक्तान, थारु कल्याणकारी समाज मलेसियाका अध्यक्ष विकास चौधरी, विभिन्न सामाजिक तथा जातीय संघसंस्थाका प्रतिनिधिहरू, व्यवसायी, राजनीतिक दलका प्रतिनिधिहरू, कलाकारहरू, सञ्चारकर्मीहरू तथा ठूलो सङ्ख्यामा नेपाली समुदायका सदस्यहरूको उत्साहजनक सहभागिता रहेको थियो।
उभौली भुम्या पूजा थामी समुदायको प्रकृति, भूमि, वनजङ्गल, जलस्रोत तथा पुर्खाप्रतिको सम्मान र आस्थासँग जोडिएको महत्वपूर्ण सांस्कृतिक पर्व हो। यस पर्वले प्रकृतिसँगको सहअस्तित्व, पुर्खाप्रतिको श्रद्धा तथा सामुदायिक एकताको सन्देश प्रवाह गर्दछ। विदेशी भूमिमा रहेर पनि आफ्नो मौलिक संस्कृति, भाषा र पहिचानलाई जीवन्त राख्ने उद्देश्यका साथ आयोजित यस वर्षको कार्यक्रमले थामी समुदायको सांस्कृतिक जागरणलाई थप उचाइमा पुर्याएको सहभागीहरूले बताएका छन्।
कार्यक्रममा थामी समुदायका मौलिक सांस्कृतिक झाँकी, परम्परागत नृत्य, गीत–सङ्गीत, शुभकामना आदानप्रदान तथा सामुदायिक एकता र पहिचानसँग सम्बन्धित विविध प्रस्तुति प्रस्तुत गरिएका थिए। वक्ताहरूले आफ्नो भाषा, संस्कृति, परम्परा र अस्तित्वको संरक्षण आजको आवश्यकता रहेको उल्लेख गर्दै भावी पुस्तालाई आफ्नो इतिहास र पहिचानसँग जोडेर राख्नुपर्ने धारणा व्यक्त गरेका थिए।
विशेष सम्मान प्रदान
उभौली भुम्या पूजा तथा वार्षिक उत्सव–२०२६ को अवसरमा नेपाल थामी समाज, मलेसियाको स्थापनाकालदेखि नै संस्थालाई निरन्तर साथ, सहयोग, हौसला तथा आर्थिक, नैतिक र भौतिक रूपमा महत्वपूर्ण योगदान पुर्याउँदै आउनुभएका सम्मानित व्यक्तित्व तथा अभिभावकहरूलाई विशेष सम्मान प्रदान गरिएको थियो।
समुदायको भाषा, संस्कृति, परम्परा तथा पहिचान संरक्षणको अभियानमा उहाँहरूले पुर्याउनुभएको अतुलनीय योगदानको कदर गर्दै नेपाल थामी समाज, मलेसियाले दोसल्ला ओढाएर तथा सम्मान–पत्र प्रदान गरी सम्मान गरेको हो।
यस अवसरमा किरात राई यायोख्या क्षेत्रीय समिति जोहोरकी अध्यक्ष तथा समाजसेवी समिता राई (सन्जु) ज्यू तथा नेपाल आदिवासी जनजाति महासङ्घ (नेफिन) मलेसियाकी महिला उपाध्यक्ष देविका राई (बिनु) ज्यू लाई विशेष सम्मान प्रदान गरिएको थियो।
सम्मानित व्यक्तित्वहरूले नेपाल थामी समाज, मलेसियाले आफ्नो भाषा, संस्कृति, परम्परा तथा पहिचानको संरक्षणका लागि गरिरहेको कार्यको प्रशंसा गर्दै आगामी दिनहरूमा पनि समुदायको हित र प्रगतिका लागि निरन्तर साथ, सहयोग र सहकार्य रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।
कार्यक्रमलाई सम्बोधन गर्दै अतिथिहरूले नेपालका विभिन्न आदिवासी जनजाति समुदायहरूबीचको एकता, सहकार्य र भाइचाराले विदेशमा नेपाली समुदायलाई अझ मजबुत बनाउने विश्वास व्यक्त गरेका थिए। उनीहरूले थामी समुदायले आफ्नो मौलिक संस्कृतिको संरक्षणका लागि गरिरहेको प्रयासको प्रशंसा गर्दै यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका थिए।
कार्यक्रमको समापनका अवसरमा अध्यक्ष सन्तोष ठान्टी थाङ्मी ले उभौली भुम्या पूजा तथा वार्षिक उत्सव–२०२६ लाई सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्ने सम्पूर्ण महानुभावहरूप्रति हार्दिक आभार व्यक्त गर्नुभयो। उहाँले कार्यक्रमको योजना, तयारी, व्यवस्थापन तथा सफल सञ्चालनमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने नेपाल थामी समाज, मलेसियाका कार्यसमिति सदस्यहरूको विशेष रूपमा प्रशंसा गर्नुभयो।
अध्यक्ष ठान्टीले विशेष धन्यवाद व्यक्त गर्दै उपाध्यक्ष सुजन थामी, कोषाध्यक्ष नीरबहादुर थामी, सचिव मे हाङ ठान्टी तथा समाजसेवी संयोजक पल ठान्टी ले निर्वाह गर्नुभएको जिम्मेवारीपूर्ण भूमिका, अथक परिश्रम र समर्पणप्रति उच्च सम्मान व्यक्त गर्नुभयो। साथै सुसन ठान्टी, दासिक थामी, रेन्जी तामाङ, देविका राई (बिनु), समिता राई (सन्जु), नानु राना तथा प्रेम बिष्ट लगायत सम्पूर्ण सहयोगी साथीहरूको योगदानको पनि उच्च मूल्याङ्कन गर्नुभयो।
यसैगरी कार्यक्रमलाई सफल बनाउन आर्थिक, नैतिक तथा भौतिक सहयोग पुर्याउने विभिन्न संघसंस्था तथा व्यक्तित्वहरूप्रति पनि विशेष धन्यवाद व्यक्त गरिएको थियो। अध्यक्ष ठान्टीले विशेष रूपमा नेपाल तामाङ घेदुङ क्षेत्रीय समिति जोहोर, किरात राई यायोख्या क्षेत्रीय समिति जोहोर, किरात याक्थुङ चुम्लुङ क्षेत्रीय समिति जोहोर, नेपाल मगर सङ्घ क्षेत्रीय समिति जोहोर तथा आदरणीय समाजसेवी केशव खड्का ज्यू प्रति हार्दिक कृतज्ञता व्यक्त गर्नुभयो।
उहाँले नेपाली समुदायबीचको पारस्परिक सद्भाव, सहकार्य र एकताले यस्ता कार्यक्रमहरूलाई थप सफल र प्रभावकारी बनाउने विश्वास व्यक्त गर्नुभयो।
अध्यक्ष ठान्टीले आर्थिक, नैतिक, भौतिक तथा प्राविधिक रूपमा सहयोग गर्ने सम्पूर्ण दाता, शुभेच्छुक, स्वयंसेवक, कलाकार, सञ्चारकर्मी, सामाजिक अभियन्ता तथा कार्यक्रममा सहभागी सम्पूर्ण महानुभावहरूप्रति पनि हार्दिक धन्यवाद ज्ञापन गर्नुभयो।
उहाँले भन्नुभयो, “विदेशी भूमिमा रहेर पनि आफ्नो भाषा, संस्कृति, परम्परा र पहिचानलाई जोगाउने अभियान कुनै एक व्यक्ति वा संस्थाको मात्र दायित्व होइन, यो सम्पूर्ण समुदायको साझा जिम्मेवारी हो। आजको कार्यक्रमको सफलता सामूहिक एकता, विश्वास र समर्पणको परिणाम हो।”
उहाँले आगामी दिनमा पनि नेपाल थामी समाज, मलेसियाले समुदायको भाषा, संस्कृति, धर्म, परम्परा तथा पहिचानको संरक्षणका लागि अझ सशक्त ढङ्गले कार्य गर्दै जाने प्रतिबद्धता व्यक्त गर्नुभयो।
मलेसियाको भूमिमा सम्पन्न यस ऐतिहासिक उत्सवले थामी समुदायको एकता, आत्मसम्मान, सांस्कृतिक चेतना तथा पहिचानको अभियानलाई थप मजबुत बनाएको सहभागीहरूको विश्वास रहेको छ। विदेशमा रहेर पनि आफ्नो मौलिक सभ्यता, संस्कृति र परम्परालाई जीवन्त राख्ने अभियानमा यो कार्यक्रम एउटा महत्वपूर्ण र प्रेरणादायी अध्यायका रूपमा इतिहासमा दर्ज हुने सहभागीहरूले बताएका छन्।
थाङ्मीचागु डटकम
थामी भाषा, संस्कृति र पहिचानको साझा आवाज




