नेपाल थामी समाज मलेसियाको उभौली भुम्या पूजा तथा वार्षिक उत्सव–२०२६ ऐतिहासिक रूपमा सम्पन्न
2026-06-08सामुदायिक वन तथा आमा समूहका प्रतिनिधिलाई वन डढेलो सम्बन्धी अभिमुखीकरण तालिम सम्पन्न
2026-06-05
नेपाल थामी समाज मलेसियाको उभौली भुम्या पूजा तथा वार्षिक उत्सव–२०२६ ऐतिहासिक रूपमा सम्पन्न
नेपाल थामी समाज मलेसियाको उभौली भुम्या पूजा तथा वार्षिक उत्सव–२०२६ ऐतिहासिक रूपमा सम्पन्न
जोहोर, मलेसिया | ७ जुन २०२६
नेपाल थामी समाज, मलेसियाद्वारा आयोजित उभौली भुम्या पूजा तथा वार्षिक उत्सव–२०२६ भव्य, सभ्य तथा ऐतिहासिक रूपमा सम्पन्न भएको छ। थामी समुदायको मौलिक भाषा, संस्कृति, परम्परा, धर्म तथा पहिचानको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित कार्यक्रममा मलेसियास्थित नेपाली समुदायको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रमको अध्यक्षता नेपाल थामी समाज, मलेसियाका अध्यक्ष सन्तोष ठान्टीले गर्नुभएको थियो भने प्रमुख अतिथिका रूपमा नेपाल आदिवासी जनजाति महासङ्घ शाखा मलेसियाका अध्यक्ष पदमराज लिम्बु उपस्थित हुनुहुन्थ्यो। त्यसैगरी विशिष्ट अतिथिहरूमा किरात राई यायोख्या क्षेत्रीय समिति जोहोरकी अध्यक्ष समिता राई (सन्जु) तथा समाजसेवी रमेश मल्ल रहनुभएको थियो।
कार्यक्रममा नेपाल तामाङ घेदुङ मलेसियाकी उपाध्यक्ष सम्झना मोक्तान, थारु कल्याणकारी समाज मलेसियाका अध्यक्ष प्रकाश चौधरी, विभिन्न संघसंस्थाका प्रतिनिधिहरू, व्यवसायी, राजनीतिक दलका प्रतिनिधि, स्थानीय कलाकार, मिडियाकर्मी तथा ठूलो संख्यामा उपस्थित समुदायका सदस्यहरूको सहभागिता रहेको थियो।
उभौली भुम्या पूजामार्फत प्रकृति, भूमि तथा पुर्खाप्रति सम्मान व्यक्त गर्दै थामी समुदायको सांस्कृतिक पहिचानलाई जीवन्त राख्ने सन्देश प्रवाह गरिएको थियो। कार्यक्रममा सांस्कृतिक प्रस्तुति, शुभकामना मन्तव्य तथा सामुदायिक एकतासम्बन्धी विभिन्न कार्यक्रमहरू समेत सम्पन्न भएका थिए।
आयोजकले कार्यक्रम सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्ने सम्पूर्ण व्यक्ति, संघसंस्था, कलाकार, स्वयंसेवक, मिडियाकर्मी तथा सहभागी महानुभावहरूप्रति हार्दिक आभार व्यक्त गरेको छ।
मलेसियाको भूमिमा सम्पन्न यस उत्सवले थामी समुदायको एकता, पहिचान र सांस्कृतिक जागरणलाई थप मजबुत बनाएको सहभागीहरूले बताएका छन्।
थाङ्मीचागु डटकम
थामी भाषा, संस्कृति र पहिचानको साझा आवाज




