कालिन्चोक गाउँपालिका-१ डुसिखर्कमा कृषकलाई बिउबिजन वितरण तथा खेती अनुगमन कार्यक्रम सम्पन्न ।।।

0Shares

कालिन्चोक गाउँपालिका-१ डुसिखर्कमा कृषकलाई बिउबिजन वितरण तथा खेती अनुगमन कार्यक्रम सम्पन्न

थाङ्मीचागु डटकम सम्बादाता

६ आइतबार असोज २०८१

काल्निचोक गाउँपालिका वडा नं. १ डुसिखर्कका प्रगतिशील कृषक समूह छिपुङ्को मासिक बैठक सम्पन्न भएको छ। नामसालिङ सामुदायिक विकास केन्द्र र कालिन्चोक एकीकृत सामुदायिक विकास केन्द्रद्वारा सञ्चालित एकीकृत सामुदायिक विकास परियोजनाअन्तर्गत आयोजित यस बैठकमा कृषक समूहका सदस्यहरूलाई तरकारी बिउबिजन वितरणसँगै व्यावहारिक कृषि तालिम प्रदान गरिएको छ।

यो परियोजनाले कृषक सदस्यहरूलाई उन्नत खेतीका लागि आवश्यक पर्ने टमाटर, काउली, बन्दा, धनिया, रायो, र सिमीको बिउ वितरण गरेको थियो। यस बिउबिजनलाई सही विधिबाट कसरी रोप्न सकिन्छ भन्ने विषयमा प्राविधिक सहयोग प्रदान गर्दै कृषि प्राविधिक अस्मिता बस्नेतले खेतीप्रतिको ज्ञान र सीप अभिवृद्धि गर्न महत्वपूर्ण योगदान गर्नुभएको छ। उहाँले किसानहरूलाई तरकारी खेतीको लागि आवश्यक पर्ने हरेक चरणको जानकारी प्रदान गर्नुभएको थियो।

बैठकमा सहभागी किसानहरूले यस परियोजनाले उपलब्ध गराएको सहयोगलाई अत्यन्तै उपयोगी रहेको बताए। प्राविधिक सल्लाह तथा समर्थन प्राप्त भएपछि उनीहरू आफ्ना तरकारी खेतीमा गुणस्तर सुधार्ने अपेक्षामा छन्। कार्यक्रममा अस्मिता बस्नेतले किसानहरूलाई व्यावहारिक खेतीका विभिन्न चरणबारे मार्गदर्शन गर्दै बिउ रोप्ने, बिरुवाको हेरचाह गर्ने, मलजलको सही प्रयोगबारे पनि जानकारी दिनुभयो।

त्यसैगरी, डुसिखर्क क्षेत्रका किसानहरूले किवी तथा हाडे बदाम खेतीलाई प्राथमिकता दिएका छन्। यस क्षेत्रमा उत्पादित किवी र हाडे बदामको अनुगमनसमेत गरिएको थियो। कृषि प्राविधिक बस्नेतले अनुगमनका क्रममा किसानहरूको मेहनत र उन्नत खेतीप्रति देखिएको जागरुकताले प्रशंसा गर्नुभयो। किवी खेतीलाई व्यावसायिक रूपमा विस्तार गर्ने उद्देश्यले प्राविधिक सल्लाहका आधारमा किसानहरूलाई अझ राम्रो उत्पादन गर्न प्रेरित गरिएको छ।

यो कार्यक्रमले डुसिखर्कका कृषकहरूलाई खेतीबारीमा आधुनिक तरिका अपनाउने दिशामा प्रोत्साहित गरेको छ। यस परियोजनाबाट प्राप्त सहयोगले किसानहरूलाई आत्मनिर्भर बनाउँदै खाद्य उत्पादनको क्षेत्रमा समृद्धि हासिल गर्न मद्दत गर्ने विश्वास गरिएको छ।

कृषि क्षेत्रमा देखा परेका यी नयाँ पहलकदमी र योजनाहरूले डुसिखर्क क्षेत्रका कृषकहरूलाई आर्थिक रूपले सबल बनाउँदै उनीहरूको जीवनस्तर उकास्न महत्त्वपूर्ण भूमिका खेल्नेछ।

(समाचार स्रोत: अस्मिता बस्नेत, कृषि प्राविधिक, थाङ्मीचागु डट कम)

Leave a Reply

Your email address will not be published. Required fields are marked *